नेपाल सातौँ चरणमा पराजित

इस्तानबुल, २१ भदौ । नेपालले चेस ओलम्पियाडको सातौँ चरणमा इस्टोनियासँग ३–१ को पराजय भोगेको छ । चारवटै बोर्डमा नेपालभन्दा माथिल्लो रेटिङका खेलाडी रहेको इस्टोनियासँगको खेलमा प्रचण्डमान मालाकार र रूपेश जयसवालले बराबरी गरे । पहिलो बोर्डमा मनीष हमाल पावेल भारोबजोभसँग पराजित भए ।
दोस्रोमा प्रचण्ड (१९७०) ले मार्क लेपिडस (२१२९) सँग बराबरी गरे । तेस्रो बोर्डमा रूपेशले कुक सन्डर (२१७३) सँग बराबरी गरे । दीर्घराज जोशी ऐटमार लाट्भासँग पराजित भए । पहिलो खेलमा शीर्ष वरीयताका खेलाडी केशव श्रेष्ठलाई खेलाउने गम्भीर गल्ती गरेको नेपाली टोली सातौँ चरणमा पनि यसैको दबाबमा थियो । पहिलो चरणमा कोलम्बियासँग निश्चित हारको अवस्था भए पनि केशवलाई खेलाइएपछि यस ओलम्पियाडबाट टाइटल पाउने सबैभन्दा बढी सम्भावना भएका खेलाडी केशवलाई धक्का लागेको थियो । सातौँ चरणमा खेलेर पनि हारे अन्तिमसम्म दबाबमा रहनुपर्ने अवस्थाका कारण उनलाई इस्टोनियाविरुद्ध आराम दिइएको थियो । नेपालले आठौँ चरणमा माल्टासँग खेल्नेछ । प्रतियोगितामा रुसले १३ म्याच प्वाइन्टसहित अग्रता लिएको छ । युक्रेन र चीनको १२ अंक छ । अर्मेनिया, अमेरिका, हंगेरी, अजरबैजान, जर्मनी, उज्वेकिस्तान, फिलिपिन्स, इंग्ल्यान्ड र फाइरमको ११ अंक छ । भारत भने १० अंकसहित १४औँ स्थानमा छ ।
सातौँ चरणमा रुसले अजरबैजानलाई २.५–१.५ ले पराजित गर्‍यो । अलेक्जेन्डर गिरिस्चुकले एल्तराज सफारलीलाई पराजित गरे । अन्य बोर्डमा भने बराबरी भयो । तेस्रो वरीयतामा रहेको अर्मेनिया भने छैटौँ वरीयताको चीनसँग पराजित भयो । चीनका वांग युईले सर्जी मोभसिनलाई हराए भने अन्य बोर्डमा बराबरी भयो । युक्रेनले स्पेनलाई पनि २.५–१.५ ले पराजित गर्‍यो । भासिली इभान्चुकले फ्रान्सिस्को भालेजोलाई पराजित गरे भने अन्य बोर्डमा बराबरी भयो । भारत अर्जेन्टिनासँग २–२ को बराबरीमा रोकियो ।
महिलातर्फ चीन, रुस र पोल्यान्डको समान १२ अंक छ । सातौँ चरणमा रुस र पोल्यान्डबीच बराबरी भयो भने चीनले जर्जियालाई २.५–१.५ ले पराजित गर्‍यो । युक्रेन, फ्रान्स, हंगेरी, भारत, भियतनाम, स्पेन र उज्वेकिस्तानको ११ अंक छ । सातौँ चरणमा भारतले इस्टोनियालाई ३–१ ले पराजित गर्‍यो । आठौँ चरणमा भारतले भियतनामसँग खेल्नेछ । एजेन्सी

प्रतिक्रिया