सेयर धितो कर्जा सवा अर्ब घट्यो

काठमाडौं, २१ भदौ । वाणिज्य बैंकहरूको सेयर धितो कर्जा एक वर्षमा एक अर्ब २९ करोड ७८ करोड रुपियाँले घटेको छ । आर्थिक वर्ष ०६७/६८ मा सात अर्ब २३ करोड ९४ लाख रुपियाँ सेयर धिर्ता कर्जा प्रवाह गरेकामा आव ०६८/६९ मा भने पाँच अर्ब ९४ करोड १५ लाख रुपियाँ मात्र पुगेको छ । केही वर्षदेखि घट्न थालेको सेयरबजारमा केही सुधारको संकेत देखिए तापनि सेयर मूल्य अहिले पनि न्यून विन्दुमै रहेकाले सेयर धितोबापत कर्जामा गिरावट आएको हो ।
सेयर बजारमा निरन्तर आएको गिरावटका कारण नै सेयर धितोमार्फतको कर्जा घटेको सेयर धितो कर्जा प्रवाह घटेको हुनसक्ने बताए । बैंकमार्फत सेयर कर्जा लिएर लगानी गर्ने गरेका कीर्तिपुरका अनिज्ञ निरौलाले सेयर मूल्य न्यूनतम विन्दुमा पुगेकाले आफूसँग भएको सेयरको धितोमा शतप्रतिशत ऋण लिँदा पनि अघिल्लो वर्षजस्तो ऋण रकम पुग्न नसकेको बताए । सेयर बजारमापक नेप्से परिसूचक एक एक हजार एक सय ७५ सम्म पुगेका अवस्थामा सेयर धितो कर्जामार्फत १० अर्बभन्दा बढीको कर्जा गएको थियो । ‘हाल नेप्से परिसूचक चार सयको हाराहारीमा रहेका बेला सेयर धितोमार्फत जाने कर्जा घट्नु स्वाभाविक हो,’ उनले भने, ‘नेप्से परिसूचक नै घटेपछि एक चौथाइ सेयर धितो कर्जा त स्वत: घट्ने भइहाल्यो नि ।’
गत आवमा ३२ वाणिज्य बैंकमध्ये कृषि विकास बैंंक, मेगा बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक र स्टयान्र्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा गरेका छैनन् । १० वटा बैंकको सेयर धितो कर्जा अघिल्लो वर्षभन्दा बढेको छ । माछापुच्छ्रे बैंक, सिभिल बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, एनसिसी बैंक, जनता बैंक, कुमारी बैंक, सेन्चुरी बैंक र बैंक अफ एसियाले सेयर कर्जा लगानी बढाएका छन् । माछापुच्छ्रेले सबैभन्दा बढी करिब १० करोड रुपियाँ सेयर कर्जामा वृद्धि गरेका छन् भने सिभिल बंैकले अघिल्लो वर्ष सेयर कर्जा सुरु नगरेकामा गत आवमा भने करिब साढे नौ करोड रुपियाँ प्रवाह गरेका छन् । १८ बंैकको सेयर धितोमार्फत गएको कर्जा घटेको छ । सबैभन्दा बढी हिमालयन बैंकले सेयर धितो कर्जा घटाएका छन् । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, ग्रान्ड बैंक नेपाल, एनएमबी बैंक, ग्लोबल आइएमइ बैंक, किस्ट बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेस्ट बैंक, लुम्बिनी बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, बैंक अफ काठमाडौं र सानिमा बैंक रहेका छन् ।
प्रतिशतका आधारमा नेपाल एसबिआईले गत वर्ष सेयर धितो कर्जा ऋण प्रवाह गरेका छैनन् भने एनबी बैंकले ८६ प्रतिशत, सनराइज बैंकले ८० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले ६७ प्रतिशत, ग्रान्ड बैंकले ६१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ४१ प्रतिशतले यो ऋण घटाएका छन् ।

प्रतिक्रिया