उपभोग्यवस्तुको मूल्य अकासियो

सोलुखुम्बु, २१ भदौ । सोलुखुम्बुको सदरमुकाममा मंगलबार एकै रातमा सबै दैनिक उपभोग्यवस्तुको मूल्य बढेको छ ।
सोलुखुम्बु उद्योग वाणिज्य संघले सदरमुकामका सबै पसलमा उपभोग्य सामग्रीको मूल्यसूची बाँडेपछि मूल्यवृद्धि भएको हो । संघले मूल्यसूची बाँड्नासाथ अघिल्लो दिन ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनीको मूल्य एक सय रुपियाँ पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर एक सय ८० बाट बढेर दुई सय रुपियाँ पुगेको छ । अघिल्लो दिनसम्म बजारमा ६० रुपियाँ केजीमा बिक्री भइरहेको मक्खन चामल ७० रुपियाँ प्रतिकेजी पुगेको छ । दुई हजार चार सय रुपियाँ प्रतिसिलिन्डरमा बिक्री भइरहेको ग्यासको मूल्य दुई सय ७५० रुपियाँ पुगेको छ ।
संघले विभिन्न ७० वटा उपभोग्य सामानको मूल्यसूची बजारमा पठाएकामा धेरैजसो सामानको मूल्य बढाएको छ । विशेषगरी दैनिक उपभोग्य दाल, चामल तेल, मैदा, चिनीलगायतका सामानको मूल्य प्रतिकेजी १० रुपियाँदेखी २५ रुपियाँसम्म वृद्धि भएको छ ।
बजारमा सामान किन्दै गरेकी फाप्लुकी फुलुमाया तामाङले अघिल्लो दिनको मूल्यभन्दा एकै दिनमा ठूलो वृद्धि भएको बताइन् । बुधबार सदरमुकाममा बजारमा किनमेल गर्न आएका धेरैजसो उपभोक्ताले मूल्य नियन्त्रणभन्दा बाहिर गएको भन्दै आक्रोस पोखेका छन् । स्थानीय व्यापारीले भने संघले निर्णय गरेर पठाएको मूल्यसूची देखाउँदै सोहीअनुसार बेचिरहेको बताउँछन् । संघले पठाएको मूल्य नै आधिकारिक भएकाले हामीले बुधबारदेखि नयाँ मूल्यमा सामान बेचेको स्थानीय पदमबहादुर राईले बताए ।
उद्योग वाणिज्य संघले भने केही उपभोग्यवस्तुको मूल्य केन्द्रमै वृद्धि भएको र सदरमुकामसम्म यातायातको साधन चल्न छाडेकाले एक्कासि मूल्य बढेको बताएको छ । नाफा कामाउनुभन्दा पनि बाध्य भएर मूल्य बढाएको सोलुखुम्बु उद्योग वाणिज्य संघका अध्यक्ष जयप्रसाद राई बताउँछन् ।
एक्कासि मूल्यवृद्धि भएपछि केही उपभोक्ता जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्नसमेत पुगेका छन् । मूल्यवृद्धि, आफूहरूलाई पनि अस्वाभाविक लागेकाले यहाँ सामान ल्याउने ओखलढुंगा र उदयपुरसँग समन्वय गरेर मूल्यवृद्धिको औचित्य छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी भवानीप्रसाद पराजुलीले बताए ।

प्रतिक्रिया