वर्तमान सरकार बर्खास्त गर्न माग

काठमाडौं, २० भदौं । नेकपा–माओवादीले वर्तमान सरकारलाई जनविरोधी र राष्ट्रघातिको आरोप लगाउँदै गोलमेच सभाबाट बर्खास्त गर्नुपर्ने निर्णय सार्वजनिक गरेको छ ।
केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन बैद्यले भनेका छन्, ‘राष्ट्रघाती तथा जनविरोधी सरकारलाई अपदस्थ गरी देशभक्त, गणतन्त्रवादी, संघीयता पक्षधर तथा वामपंथीहरु सम्मिलित राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्नु पर्छ ।’
उनले प्रमुख तीन राजनीतिक दल संविधानसभा तथा व्यवस्थापिका संसदको विघटनका लागि जिम्मेवार रहेको आरोप लगाएका छन् ।
‘प्रमुख राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताहरुद्वारा संविधान निर्माणको प्रश्नमा दिइंदै आएका धोका तथा भ्रमहरुको पर्दाफास गर्न गोलमेच सभाको आयोजना गर्नु पर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेकपा–माओवादीले नयाँ संविधान निर्माण र राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्याहरुलाई समाधान गर्न केन्द्रमा संघीय जनसमिति बनाउनु पर्ने जनाएको छ । उसले राज्य तथा स्थानीय स्तरमा पनि स्वायत्त जनसमितिहरुको गठन गर्ने निर्णय गरेको छ । सशस्त्र जनयुद्धका समयमा गठन भएका जनसमितिलाई नेकपा–माओवादीले पुनः व्यूताउन लागेको हो ।
महाधिवेशन आगामी पौष–२५ गते काठमाडौं गर्ने निर्णय गरेको नेकपा–माओवादीले महाधिवेशनको मुल व्यवस्थापनको जिम्मेवारी सचिव नेत्रविक्रम चन्दलाई दिएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुका बारेमा नेकपा–माओवादीले मागपत्र समेत तयार पारेको छ । उसले भदौं–२५ गते भित्र प्रधानमन्त्रीलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित जनआन्दोलनको मागपत्र प्रस्तुत गर्ने निर्णय गरेको छ ।
माग पुरा गराउन दबाव दिन नेकपा–माओवादीले असोज दस गते देखि १८ गते सम्म प्रमुख शहरहरुमा विरोध सभागर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । विरोध सभा बुटवल, जनकपुर, पोखरा, काठमाडौं, कञ्चनपुर र सुर्खेतमा हुने छन् । उसले माग पुरा नभए मंसिर–१० नेपाल बन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया