अनुदान पाउने आसमा गाउँगाउँमा सहकारी

सप्तरी, २० भदौ । सरकारी अनुदान पाउने आशामा गाउँगाउँमा सहकारी खुल्ने क्रमले तीव्रता पाउन थालेको छ ।
सरकारले सहकारी संस्थामार्फत कृषि मलखाद र कृषि सामग्रीलगायत सामानमा अनुदान दिन थालेपछि सप्तरी र सिरहामा सहकारी संस्था खुल्ने क्रम बढेको हो ।
मुलुकको आर्थिक विकासको खम्बाका रूपमा सहकारी संस्थालाई लिएपछि यसको आकर्षण बढेको हो । दर्ता भएकामध्ये अधिकांशले सरकारी अनुदान पाउने आशा राखेका छन् भने केहीले सामाजिक, आर्थिक विकास गर्ने उद्देश्य राखेका छन् । सिरहामा गत आव ०६८/६९ मा मात्र ९० वटा र सप्तरीमा २८ वटा सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालय लहानले जनाएको छ । योसँगै सिरहामा चार सय र सप्तरीमा पाँच सय ६ सहकारी पुगेको डिभिजन सहकारी कार्यालय लहानका प्रमुख महेशकुमार ठाकुरले बताए ।
तीमध्ये अधिकांश कृषि तथा सहकारी संस्था लिमिटेड र थोरै बचत तथा ऋण सहकारी संस्था रहेको प्रमुख ठाकुरले बताए । बढ्दो बेरोजगारी र गरिबी न्यूनीकरणका लागि सहकारीलाई माध्यम बनाएकाले सहकारीमार्फत आफ्नो आर्थिक अवस्था सुदृढीकरण गरिरहेको बताउँदै सहकारी प्रमुख ठाकुरले हाम्रो पनि सहकारी संस्था छ भन्ने देखाउनलाई कतिपयले सहकारी दर्ता गराएको बताए ।
गत आव ०६८/६९ मा सप्तरी र सिरहाका ८० वटा सहकारी संस्थाको अनुगमन गर्दा सो तथ्य भेटिएको उनको दाबी छ । आफैँ बचतकर्ता र आफैँ सहकारीको मालिकसमेत सहकारीका सदस्य नै हुने भएकाले बचत र ऋण लगानी गर्न सर्वसाधारणको सहकारीतर्फ आकर्षण बढेको दलित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बोदे बर्साइन सप्तरीका अध्यक्ष रामविलास सदा बताउँछन् ।
उनले भने, ‘समुदायकै व्यक्ति सहकारीमा बचत गर्ने र त्यही व्यक्तिले ऋण लगानी गर्ने गर्छन् र सरकारले समेत सहकारी संस्थालाई अनुदान दिने गरेकाले थप सजिलो बनेको छ ।’ सहकारीमा आबद्ध सेयर सदस्यको आर्थिक विकासका लागि बाख्रापालन, कृषि सामान खरिद र साना व्यापार सञ्चालनका लागि ऋण लगानी गरेको र सोअनुसार बचत र असुलीमा समेत ध्यान दिइरहेको उनको कथन छ ।
सहकारीमार्फत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष सुखराम यादवका अनुसार सहकारीले गरिबी निवारणका साथै सामाजिक विकासमा टेवा पुग्ने देखेरै आफूहरूले सहकारी खोलेको बताए ।
सहकारीमार्फत सरकारले समुदायमा विभिन्न किसिमका सामान अनुदानमा दिने गरेकाले सहकारीतर्फ धेरैको आकर्षण बढेको छ । गत आव ०६५/६६ मा सरकारले सहकारीमार्फत गाउँगाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएपछि सहकारीतर्फ युवाको ध्यान केन्द्रित भएको छ ।
यसैगरी सहकारी संस्थामार्फत गाउँगाउँमा कृषि मलखाद र कृषि सामग्री वितरण गर्न थालिएपछि गाउँगाउँमा सहकारी खोल्ने लहर नै चलेको छ । अचेल दैनिक पाँचदेखि सातवटा सहकारी संस्था दर्ता हुने गरेको डिभिजन सहकारी कार्यालय लहानले जनाएको छ । अहिले सप्तरी र सिरहाका गाउँगाउँमा एकदेखि तीनवटासम्म सहकारी संस्थाले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ भन्ने नारासँगै सहकारी संस्थाहरू खुल्ने क्रम बढे पनि सहकारी संस्थाको गतिविधि भने अझै प्रभावकारी हुन नसकेको सर्वसाधारणको गुनासो छ ।
सहकारी संस्थामार्फत सरकारबाट सप्तरीका एक सय १४ गाविस र एक नगरपालिकामध्ये ८२ वटा गाविस र नगरपालिकामा गरी ८४ स्थानमा सुपथ मूल्यको सहकारी पसल सञ्चालनका लागि अनुदान दिइएको छ । सिरहामा एक सय चार गाविस र दुई नगरपालिका रहेकामा ७१ गाविस र दुई नगरपालिकामा गरी ७४ वटा सुपथ मूल्यको सहकारी पसलका सञ्चालनका लागि अनुदान दिएको छ । सरकारी अनुदान पाएकामध्ये अधिकांश सहकारीले सुपथ मूल्यको सहकारी पसल नै सञ्चालन नगरी रकम कुम्लाएको पाइएको छ । सिरहामा ७४ वटा सहकारीले ७४ वटा सुपथ मूल्यको सहकारी पसलका सञ्चालनका लागि अनुदान पाए पनि २८ वटा सुपथ मूल्यको सहकारी पसलमात्र सञ्चालनमा रहेको पाइएको सहकारी डिभिजन कार्यालयका प्रमुख ठाकुरको भनाइ छ ।

प्रतिक्रिया