कस्तो नाच्छन् नायिका

करिस्मा मानन्धर : पुरानो कलाकार भए पनि यिनलाई नृत्य गराउन निकै गाह्रो छ । स्टेपहरू क्लियर्ली टिप्न सक्दिनन् तर एक्सप्रेसनले आफ्ना ती कमजोरी ढाक्न सिपालु कलाकार हुन् । उनलाई मैले सबैभन्दा बढी नचाएको चलचित्र परिभाषामा हो । त्यसको सपनीमा हुन्छौ तिमी गीतमा नृत्य गर्न उनलाई निकै गाह्रो भएको थियो । मलाई याद छ– त्यो गीत गर्दागर्दै रोइन् पनि । तर, पनि यिनको एक्सप्रेसन दमदार छ, त्यसैले रिकभर गर्छिन् । यिनलाई मोडर्न र आधुनिक नृत्य सुहाउँछ । ग्ल्यामरस छिन् ।

कृष्टि मैनाली : यिनीसँग जम्मा तीन–चारवटा चलचित्रमा मात्र काम गरेको छु, त्यो पनि धेरै अगाडि । यिनको नृत्यमा एक्सप्रेसन राम्रो लाग्थ्यो । साडीलगायत जुनसुकै कपडामा सजिलै नाच्न सक्थिन् । टाइमिङ अनि झट्का राम्रो छ । यिनलाई फास्ट गीतमा त गराउन पाइएन तर अरू विधामा गराएको नृत्य हेर्दा यिनलाई फास्ट बिटचाहिँ केही गाह्रो होला कि जस्तो लाग्छ । यी मलाई मन पर्ने नायिका हुन् ।

सारंगा श्रेष्ठ : हरप्रकारको नृत्य उत्कृष्ट तरिकाले प्रस्तुत गर्न सक्ने नायिका हुन् । जुनसुकै पनि बिट एकचोटिभन्दा बढी गरेर देखाउनु पर्दैन । नचाउन सजिला नायिकामध्ये १ नम्बरमा पर्छिन् । गाह्रो मुमेन्ट पनि गराउन सजिलो पर्ने भएकाले प्राय: नृत्य निर्देशक उनीसँग काम गर्न सजिलो मान्थे । मोडर्न, हाई, लोक तथा अन्य जुनसुकै बिटमा पोख्त छिन् । हरेक नृत्यलाई ग्ल्यामरस तरिकाले प्रस्तुत गर्न सक्ने खुबी यिनमा छ ।

मेलिना मानन्धर : यी नृत्यका सबै विधामा फिट हुन सक्दिनन् । यिनमा प्राय: लोक र स्लो टाइपको नृत्य फिट हुन्छ । अनुहार राम्रो र निर्दाेष देखिन्छ । त्यसैले मेलोडी तथा स्लो गानामै बढी प्रयोग गरिन्छ, सुहाउँछ पनि । मोडर्न नृत्यमा चाहिँ यिनले निकै मेहनत गर्नुपर्ने देखिन्छ । तर, एक्सप्रेसनचाहिँ यिनको पनि राम्रो छ, मुहारको ब्युटीले पनि स्टेपको कमजोरी लुकाउन मद्दत गरिरहेको हुन्छ । दर्जनजति चलचित्रमा यिनीसँग काम गरेको छु । नृत्यमा निकै नै मेहनत गराउनुपरे पनि यिनमा ग्ल्यामरचाहिँ राम्रै देखिन्छ ।

जल शाह : मोडर्न नृत्यमा सबैभन्दा राम्रो गर्न सक्ने नायिका हुन् । एक्सप्रेसन र मुमेन्ट राम्रो भएकाले नृत्य गराउन सजिलो छ । मोडर्न अनि लभ सङका स्टेप छिट्टै टिप्न सक्छिन् । शरीर भारी देखिए पनि हल्का किसिमले नाच्छिन्, यो उनको थप योग्यता हो । यिनीसँग डेढ दर्जन चलचित्रमा काम गरेको छु । नृत्यका प्राय: सबै बिट सिकाउन सजिलो छ । नृत्यमा यिनले दिनेजस्तो लचकता मैले अरू कसैमा भेटेको छैन ।

बिपना थापा : बिपना नाच्न नजान्ने नायिका हुन् । यिनका पालाका नायिकामध्ये सबैभन्दा नृत्यमा कमजोर यिनै होलिन् । तैपनि नृत्यमा यिनका केही कुरा भने तारिफयोग्य छन् । १६ बिटको नृत्यमा अगाडि र पछाडिका चार–चार बिटचाहिँ समात्थिन्, बीचका अरू बिटचाहिँ आफूखुसी मनलागी गर्थिन् । तैपनि कसोकसो गरी मिलाएझैँ देखाउँथिन् । ती गल्तीलाई सरल किसिमले ढाकेर अरूलाई नमिलेजस्तो महसुस हुनै नदिने क्षमता यिनमा थियो । नृत्यको मार्क र लुक्समा निकै ध्यान दिन्थिन् । प्राय: चलचित्रमा यिनलाई मैले लोकशैलीको नृत्य गराएको छु, ठीकै देखिन्छ । यिनलाई सबैभन्दा बढी सुहाउने स्लो मेलोडीमा हो । यसमा चाहिँ कसैले भ्याउँदैन ।

झरना थापा : यी नायिकासँग धेरै चलचित्रमा काम गरेको छु । मेहनत निकै गर्छिन् । स्टेप चाँडै टिप्छिन्  । कुनै पनि नृत्य सिक्न लगातार दुई–तीन घन्टा पनि मेहनत गर्ने बानी छ, त्यसले उनले गरेका काम राम्रा पनि भएका छन् । सबैभन्दा मेहनती र पसिना बगाउने नायिका भन्छु म यिनलाई । यिनको एक्सप्रेसन इनोसेन्ट छ, जसले दर्शकलाई बाँध्न सफल छ । यिनको अर्को खुबी जहिले पनि नयाँ र फ्रेसजस्ती लाग्छिन् । यिनलाई मोडर्न, मिडियम बिटका अनि लभ सङहरूमा नृत्य गराएको छु । राम्रा पनि भएका छन् । लोक र अन्य विधा भने उनलाई त्यति सुहाउँदैन ।

सञ्चिता लुइँटेल : राम्री नायिका हुन् यी । नृत्य पनि सिकाएपछि एकदमै राम्रो गर्छिन् । एक्सप्रेसन निकै राम्रो छ । सिम्पल मेलोडी र लभसङमा यिनको बराबर सायदै अरू नायिका आउलान् । प्राय: यिनी प्रस्तुत भएकी पनि लभसङमै बढी छिन् । आधा दर्जन चलचित्रमा सँगै काम गरेको छु । निकै संवेदनशील भएर सिक्ने र भनेबमोजिम गर्ने नायिका हुन् यी ।

पूजा लामा : पापी मान्छेमा भेटिएकी पूजा र लभस्टोरी २०६६ मा भेटिएकी पूजाबीच आकाशजमिनको फरक भइसकेछ, नृत्यका हिसाबले । यिनीसँग चारवटाजति चलचित्रमा काम गरियो होला । पापी मान्छेमा देख्दा यिनमा कुनै नृत्य क्षमता थिएन । तर, लभस्टोरी २०६६ मा त सयमा सय पाएँ यिनलाई । अहिले भन्न सक्छु– एक्सप्रेसन निकै राम्रो बनाइसकिछन् । स्टेज डान्सदेखि सबै खालको नृत्य गर्न सक्ने नायिकामा गन्दा हुन्छ । नृत्यमा प्रस्तुत गर्नुपर्ने उत्तेजना के हो, त्यो यिनलाई राम्ररी थाहा छ । ग्ल्यामरस शैली अरूमा भन्दा पनि धेरै छ ।

अरुणिमा लम्साल : यिनको फास्ट बिट हेर्दाचाहिँ नृत्य गर्ने कलाकार हुन् जस्तै लाग्दैन । साह्रै गाह्रो छ फास्ट बिटमा । अन्यमा चाहिँ सञ्चिताबराबर भन्दा हुन्छ । मिडियम बिटमा नचाए उनीबाट राम्रो नृत्य निकाल्न सकिन्छ । त्यसो त मोडर्न मेलोडी सुट भएको देखेको छु । एक्सप्रेसन मेलोडियस नै छ यिनको ।

रेजिना उप्रेती : यिनलाई पनि नचाउन सजिलो छ । मोडर्न डान्स राम्रो गर्छिन् । लोक बिटमा छिटो र फटाफट टिप्ने नायिका हुन् । यिनलाई क्लासिक डान्सचाहिँ गराएको छुइनँ, त्यसैले यसबारे केही भन्न सक्दिनँ । मोडर्न नृत्य नै सुहाउने भएकाले यसैमा गराउँदा राम्रो हुन्छ यिनलाई । एक्सप्रेसन पनि ठीकै छ । कुनैकुनै स्टेपमा अलि मेहनत गर्नुपरे पनि चाहेजस्तो काम लिन सकिन्छ यिनीबाट ।

उषा पौडेल : सारंगापछिकी नाच्न जान्ने नायिका यिनै हुन् । हर किसिमको नृत्य गर्न सक्छिन्, सुहाउँछ पनि । तुरुन्त टिपिहाल्छिन्, स्टेप सिकाउन सजिलो छ । तर, एक्सप्रेसन अलि बढी जस्तो लाग्छ । मैले धेरैपटक यो बानी कम गर्न सल्लाह पनि दिएको छु । बिटको कुरा गर्दा जुनसुकै विधामा फिट छिन् ।

ऋचा घिमिरे : यिनलाई कतिपय बिट गराउन निकै टाइम लाग्छ । तर, लामो प्रयासपछिचाहिँ पर्फेक्ट गरेर देखाउँछिन् । जति आउँछ त्यसमा चाहिँ पर्फेक्ट नै छिन्, सकेसम्म तिनै मुमेन्ट दिनु राम्रो हो । कतिपय स्टेप आकर्षक तरिकाले प्रस्तुत गर्ने भएकाले सिकाएअनुसार नभए पनि सुहाएजस्तो लाग्छ । कति मुमेन्टचाहिँ भन्नेबित्तिकै टिप्न सक्दिनन्, निकै मेहनत गर्नुपर्छ । मोडर्न टाइपको नृत्य सुहाउँछ यिनलाई, यस्तै गीत नै बढी गरेकी छन् । स्लो मेलोडीयुक्त गीतमा पनि ठीकै छ । पाँच चलचित्रमा यीसँग काम गरेँ । गराउन गाह्रो भए पनि स्टेप नै चेन्ज गर्नु भने परेन । अन्तिममा गरेरै देखाएकी छन् ।

ऋचा सिंह : मैले काम गरेका नयाँ नायिकामध्ये यिनको नृत्यक्षमता राम्रो पाएको छु । नृत्य गर्ने तरिका अरूको भन्दा फरक छ । फास्ट मात्र होइन, मिडियमलगायत अन्य बिटमा पनि राम्रो गर्न सक्छिन् । नृत्यमा राम्रो गर्ने कलाकारमध्ये यी पनि दुई–तीन नम्बरमा पर्छिन् जस्तो लाग्छ मलाई । अनुहारको एक्सप्रेसन निकै राम्रो छ, जुन हरेक प्रकारका गीतमा सुहाउँछ । फास्ट बिटमा थोरै मेहनत गर्नुपर्ने देखिन्छ । यसलाई सुधारे उनको भविष्य निकै राम्रो देखेको छु मैले । यिनीसँग दुइ–तीनवटा चलचित्रमा काम गरेको छु ।

कल्पना शाही : दुई–चार वर्षयता चलचित्रमा प्रवेश गर्ने नायिकामा कल्पनाको नृत्य पनि राम्रो छ । मोडर्न एवं मायाप्रेमका गीत सुहाउँछ । उनले थप राम्रो गर्ने हो भने अझै केही सिक्नुचाहिँ पर्छ । फास्ट बिट र एक्सप्रेसन राम्रो छ । यिनीसँग तीन चलचित्रमा काम गरेको छु । मेहनत अलि कम गर्छिन् जस्तो लाग्छ । नत्र यिनीसँग पुराना नायिकाबराबर पुग्ने क्षमता छ, नृत्यमा ।

शान्ति गिरी : यिनीसँग भर्खरै ब्ल्याकडायरी चलचित्रमा काम गरेँ । मिडियम बिटमा पर्फेक्ट छिन् यिनी । एक्सप्रेसन पनि राम्रो छ । मेलोडी नृत्य बढी सुहाउँछ । अरू बिट पनि राम्रै गर्लिन् जस्तो लाग्छ । मेहनत गरे नृत्य गर्ने नायिकाका रूपमा नाम कमाउने सम्भावना देखिन्छ यिनमा ।
सुष्मा कार्की : निकै मेहनती छन् यिनी । के यो माया हो चलचित्रमा यिनलाई नचाएको छु । नृत्यमा क्रेजी छिन् । यिनलाई स्टेप टिपाउनु भन्दा पनि फ्री नृत्य गर्न दिँदा झन् राम्रो गर्न सक्छिन् जस्तो लाग्छ । एक्स्प्रेसन र नृत्यमा थप केही सुधार गर्ने हो भने यिनी सबैभन्दा राम्रो डान्सर बन्न सक्छिन् । फ्री स्टाइलमा राम्रो गर्न सक्ने नयिकाका रूपमा यिनलाई लिएको छु ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया