प्रियंका भइन् मिस ग्लोबल इन्टरनेसनल

काठमाडौं : १७ वर्षीया प्रियंका भण्डारीले मिस ग्लोबल इन्टरनेसनल–०१२ उपाधि हात परेकी छन् । १६ प्रतिस्पर्धीलाई पछि पारेकी प्रियंकाले ताजका साथमा दुई लाख नगद पुरस्कार पनि हात पारिन् । प्रियंकालाई यसअघिकी मिस ग्लोबल इन्टरनेसनल दीक्षा लामाले क्राउन पहिर्‍याइदिएकी थिइन् ।
विभिन्न १३ विधामा उपाधि प्रदान गरिएको प्रतियोगितामा प्रिया सिग्देल फस्ट रनरअप घोषित भइन् । उनले ताजसहित ५० हजार नगद पुरस्कार जित्दा सेकेन्ड रनरअप बनेकी सोनू थापामगरले मिस ट्यालेन्ट र मिस फ्रेन्डसिप उपाधिसहित ३० हजार नगद पाइन् ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीको आयोजनामा सोमबार राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा सेलिना नकर्मी मिस डिसिप्लिन, रोशनी अधिकारी मिस इन्टेलिजेन्स, सृष्टि श्रेष्ठ मिस पपुलारिटी, सुम्निमा श्रेष्ठ बेस्ट सोसल वर्क, सुप्रभा कुँवर मिस क्याटवाक, समीक्षा सिटौला मिस फोटोजेनिक र विपश्यना वैद्य बेस्ट ड्रेस घोषित भए । दुई लाख रुपियाँ नगद पुरस्कारको मिस बेस्ट मार्केटिङको उपाधि भने शुभेच्छा राईले जितिन् ।
प्रतियोगिताको निर्णायकमा मेगा बैंकका सिइओ अनील शाह, पूर्वमिस नेपाल मनिला जोशी, फोटोपत्रकार विकास रौनियार र एनबी बंैकका सिइयो ज्ञानेन्द्र ढुंगाना थिए । शीर्ष तीन विजेतालाई पुरस्कारस्वरूप विदेश अध्ययनका लागि हवाई टिकट पनि प्रदान गरिएको छ ।

प्रतिक्रिया