‘सहकारीको गुणस्तर र सेवामा सुधार आवश्यक’

काठमाडौं १९, भदौ । उपराष्ट्रपति परमानन्द झाले सहकारीको विकासमा गुणस्तर र सेवामा सुधार हुनुपर्ने बताएका छन् । सहकारीप्रति आमनागरिकको पहुँच बढ्दै गएको बताउँदै उनले सहकारी अर्थतन्त्रलाई महत्त्वका साथ राखेको बताए ।

एसिया प्यासिफिक (अन्तर्राष्ट्रिय सहकारी सञ्जाल) क्षेत्रमा सहकारीको कार्यदिशा र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै झाले सो कुरा बताएका हुन् । ‘आर्थिक तथा सामाजिक विकासमा सहकारी सफल हुँदै आएको छ,’ झाले भने, ‘नेपालले खुलाबजार अर्थतन्त्रको अवधारणाअनुसार सहकारीलाई पनि अगाडि बढाउन तीन खम्बे नीति लिएको हो ।’
आर्थिक विकासका लागि सहकारी एक गतिलो माध्यमका रूपमा रहेको र यसले सबै मुलुकको अवधारणा लिनसक्ने पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीले बताए । ‘सहकारीको विकास र प्रर्वद्धनमा राज्यले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, लोकतन्त्र विकासका लागि सहकारी उपयुक्त माध्यम भएको छ ।’ आर्थिक संकटमा पनि सहकारी अर्थतन्त्र निर्वाध रूपमा अगाडि बढेको बताउँदै अधिकारीले यस व्यवसायले देशको अर्थतन्त्रमा सुधार आउने बताए ।
सहकारी विकास र प्रवद्र्धनमा नेपाल सरकारले सहकारी नीति ल्याउने तयारी गरेको सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले बताए । ‘सहकारी ग्रामीण अर्थतन्त्र विकासको माध्यम बनेको छ,’ मन्त्री ढकालले भने, ‘ग्रामीण समुदायको सक्रिय सहभागिता रहने एक लोकप्रिय माध्यम हो ।’ सहकारीले गरिब जनतालाई माथि उठाउन ठूलो भूमिका खेलेको धारणा उनले राखे । राज्यले उपलब्ध गराउने सेवा सुविधाको पहुँचभन्दा बाहिर रहेका जनतालाई सहकारीले सहयोगी माध्यम रहेकामा समेत उनले जोड दिए ।
एसिया प्यासिफिकका क्षेत्रीय निर्देशक डा.चान हो चायले युवालाई सहकारीमा अग्रसर गराई शिक्षा र सहकारीमा आधारित उद्यमशीलताको विकासमा लगाउनु पर्ने बताए । आर्थिक समृद्धि र स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म दिगो आर्थिक, सामाजिक विकास, सहयोग वृद्धिको माध्यम सहकारी बन्ने उनको भनाइ थियो ।
दुई दिनसम्म चल्ने सम्मेलन सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी संघको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा भारत, श्रीलंका, मलेसिया, नेपाललगायत मुलुकबाट गरी करिब सयजनाको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ का अवसरमा नेपालले पनि यो कार्यक्रम आयोजना गरेको सहकारी मन्त्रालयले जनाएको छ । सहकारीको प्रवद्र्धन, सरोकारवाला पक्षबीच सम्बन्ध विस्तार, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, सामाजिक एकतामा पुर्‍याएको योगदानको अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया