नेपालको खराब प्रदर्शन

इस्तानबुल, १८ भदौ । टर्कीमा भइरहेको ४०आँै चेस ओलम्पियाडमा नेपालको खराब प्रदर्शन जारी छ । पाँच चरणको खेल सकिँदा नेपालले चौथो हारको सामना गरेको छ र शनिबार राति भएको खेलमा अफगानिस्तानले नेपाललाई २.५–१.५ ले पराजित गर्‍यो । नेपाली टोलीका मनीष हमालले प्रतियोगिताको दोस्रो जित हात पारे भने केशव श्रेष्ठले बराबरी गरे । रूपेश जयसवाल र दीर्घराज जोशी पराजित भए । नेपालले छैटाँै चरणमा मकाउसँग खेल्नेछ ।
प्रतियोगितामा अर्मेनिया र रुस शत प्रतिशत विजयसहित अग्रस्थानमा छन् । पाँचौँ चरणमा अर्मेनियाले बलियो प्रतिद्वन्द्वी युक्रेनलाई २.५–१.५ ले पराजित गर्‍यो भने रुसले हंगेरीसँगको खेलमा जित हात पार्‍यो । शीर्ष वरीयताका खेलाडी देभन आरोनियन र भासिली इभान्चुकबीचको महत्त्वपूर्ण खेलमा आरोनियन विजयी भएपछि खेलको परिणाम अर्मेनियाको पक्षमा रहेको हो । अन्य तीनवटै बोर्डमा बराबरी भयो । रुसले पनि हंगेरीलाई त्यसै अन्तरमा पराजित गर्‍यो । दोस्रो बोर्डमा अलेक्जेन्डर गिरिस्चुकले जोल्टान अल्मासीलाई हराए भने अन्य तीनवटै बोर्डको बराबरी भयो । अजरबैजान र क्रोएसिया दुवैको नौ अंक छ भने चीन, युक्रेन, जर्मनी, भारत, अमेरिका, हंगेरी, फिलिपिन्स, चेक गणतन्त्र र इंगल्यान्डको आठ अंक छ । आठ अंक हुने अन्य टोलीमा बुल्गेरिया, स्पेन, मोन्टेनेग्रो, बोस्निया हर्जगोभिना, पोल्यान्ड, स्लोभानिया, इटाली र इजरायल छन् । पाँचाँै चरणमा क्रोएसियाले फ्रान्स तथा अजरबैजानले क्यानडालाई पराजित गरे ।
पाँचौँ चरणमा भारतले इंगल्यान्डसँग बराबरी गरेको हो । यिनीहरूको चारवटै बोर्डमा बराबरी भएको थियो । शशिकिरण कृष्णन तथा माइकल एडम्सबीचको खेल बराबरी भएको थियो भने अभिजित गुप्ता र निकोलास पर्टबीचको खेल पनि बराबर भएपछि भारतले खेल जित्ने सम्भावना प्रबल देखिएको थियो । बाँकी दुई बोर्डमै रुक इन्डिङमा भारतीय खेलाडीको एउटा सिपाही बढी भएका कारण अनलाइन खेल हेरिरहेका भारतीय समर्थक उत्साहित थिए । हरिकृष्ण पेन्टालाजाविन जोन्ससँग बराबरीमा रोकिए भने परिर्माजन नेगी र निगेल सर्टबीचको खेल पनि बराबरीमा सकिएपछि भारतीय समर्थकमा निराशा छाएको थियो । अमेरिका पनि चेक गणतन्त्रसँग बराबरीमा रोकियो । छैटौँ चरणमा भारतले इजरायलसँग खेल्नेछ । अन्य दक्षिण एसियाली टोलीमा बंगलादेशको ६, पाकिस्तानको ५ तथा श्रीलंकाको चार अंक छ ।
महिलातर्फ शत प्रतिशत जितसहित रुस अग्रस्थानमा रहेको छ । चीन, सर्बिया, पोल्यान्ड र स्लोभाकियाको नौ अंक छ । पाँचाँै चरणमा रुसले फ्रान्सलाई २.५–१.५ ले पराजित गर्‍यो । सर्बियाले बुल्गेरियालाई, पोल्यान्डले ग्रिसलाई र स्लोभाकियाले ग्रिसलाई पनि त्यसै अन्तरमा पराजित गरे । भारतले भने शीर्ष वरीयताको टोली चीनसँग ३.५–१.५ ले पराजित भयो । एजेन्सी

प्रतिक्रिया