फस्टायो माछापालन

चितवन, १८ भदौ । चितवनमा माछा पालन व्यवसाय फस्टाउन थालेको छ । आर्थिक वर्ष ०६४/६५ बाट सुरु भएको माछा पालन आव ०६८/६९ सम्म आइपुग्दा तीन गुणाले वृद्धि भएको छ ।

आव ०६४/६५ मा चितवनमा तीन करोड रुपियाँ बराबर माछा उत्पादन भएको थियो । एक सय १५ हेक्टर जमिनमा तीन सय ६० मेट्रिक टन माछा उत्पादन भई तीन करोड रुपियाँको आर्थिक कारोबार भएको थियो । आव ०६८/६९ मा माछाको उत्पादनमा करिब तीन गुणाले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत हीरालाल भुसालले बताए ।
आव ०६८/६९ मा चितवनमा करिब नौ करोड ७० लाख रुपियाँ बराबर माछा उत्पादन भएको छ । सो वर्षमा चितवनमा एक सय ७५ हेक्टर क्षेत्रफलमा छ सय ४७ मेट्रिक टन माछा उत्पादन भएको थियो । एक सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको छ सय ४७ मेट्रिक टन माछा बिक्रीबाट करिब नौ करोड ७० लाख रुपियाँ कारोबार भएको अधिकृत भुसालले जानकारी दिए ।
सुरुका वर्षमा माछा पाल्दा फाइदा हुन्छ र मनग्य आम्दानी गर्न सकिन्छ भन्ने मानसिकता कृषकमा नभए पनि पछि विस्तारै माछा पाल्दा फाइदा हुन्छ भन्ने थाहा भएपछि कृषक यो व्यवसायप्रति आकर्षित भएका हुन् । आव ०६४/६५ मा भन्दा ०६५/६६ मा माछाको उत्पादन ४३ मेट्रिक टन बढी भएको र त्यसपछिका वर्षमा पनि सोही अनुपातमा माछा उत्पादन हुँदै आएको छ । आव ०६४/६५ मा एक सय १५ हेक्टर क्षेत्रफलमा तीन सय ६० मेट्रिक टन, ०६५/६६ मा एक सय २४ हेक्टरमा चार सय तीन मेट्रिक टन, ०६६/६७ मा एक सय ३७ हेक्टरमा सात सय ५८ मेट्रिक टन र ०६७/६८ मा एक सय ५२ हेक्टरमा पाँच सय १८ मेट्रिक टन माछा उत्पादन भएको थियो ।
चितवनमा हाल माछा पालन कृषको संख्या पाँच सय हाराहारीमा छन् । त्यस्तै कृषक समूह संख्या २५ रहेको कृषि कार्यालयले जनाएको छ । माछा पालन व्यबसायबाट चितवनमा पाँच सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको कुरा कार्यालयले जनाएको छ । सिर्जनशील माछा पालन कृषक समूह शारदानगरका अध्यक्ष रामचन्द्र बस्ताकोटीले हाल पाँच कठ्ठा क्षेत्रफलमा माछा व्यबसाय गर्दै आएको बताए । वार्षिक २० मुरी धान उत्पादन गर्ने गरेका बस्ताकोटीले पाँच कठ्ठा क्षेत्रफलबाट अहिले १५ क्विन्टल माछा उत्पादन गर्दै आएको जानकारी दिए । धानबाट वार्षिक १५ हजार रुपियाँ आम्दानी गरेका उनले माछा उत्पादनबाट भने दुई लाख २५ हजार रुपियाँ आम्दानी गर्दै आएको बताउँछन् ।
चितवनमा सरकारी स्वामित्वबाट सञ्चालित मत्स्य विकास केन्द्र भण्डारा र निजी क्षेत्रबाट सञ्चालित चारवटा गरी पाँचवटा संस्थाले माछा भुरा उत्पादन गर्दै आएका छन् । चितवनमा उत्पादन भएका माछा भुरा केही मात्रमा बाहिरी जिल्लामा पनि जाने गरेका छन् । तर, चितवनमै भने रूपन्देहीमा उत्पादित माछाका भुरा ठूलो मात्रमा आउने गरेको छ । कठारका माछा व्यवसायी बुद्धि चौधरीले ४५ कठ्ठा क्षेत्रफलमा माछा पाल्न सुरु गरेको बताए । सो जग्गाबाट ५० हजार बराबर धान उत्पादन गरेका चौधरीले माछाबाट वार्षिक १० लाख ५० हजार रुपियाँ आम्दानी गर्नै गरेको बताउँछन् । पूर्वी चितवनको जयमंगला, टाडी, पिप्ले, कठार, कुमरोज र पश्चिम चितवनको माडीको गोपालनगर, अयोध्यापुरी, गुञ्जानगर, शारदानगर र दिव्यनगर माछाका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ ।

प्रतिक्रिया