पाँच सय घर जलमग्न

राजविराज, १८ भदौ । शनिबार राति पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण सप्तरीका दुई गाविसका पाँच सय घर जलमग्न भएका छन् ।

त्रियुुगा नदीको बाढी पसेर आइतबार बिहान सप्तरीका दुई गाविस डुबानमा परेका हुन् । बाढीले ओद्राहा र फत्तेपुर गाविसका करिब ६ सयभन्दा बढी घर जलमग्न भएका हुन् । बाढी नदीको तीन मिटर अग्लो बाँध नाघेर बस्तीमा पसेपछि ओद्राहा– १, २, ३, ४ र ५ तथा फत्तेपुर–३, ४ र ५ का बस्ती डुबानमा परेका हुन् ।
ओद्राहाका निर्वतमान गाविस अध्यक्ष रवीन्द्र चौधरीका अनुसार गाविसका पाँच वडाका ६ सय घरमा पानी पसेको छ । तीमध्ये ६५ घरपरिवार बढी प्रभावित छन् । गाउँमा पानी पस्दा समिम बहरदार, नैनादेवी बहरदार, गंगादेवी श्रेष्ठ, स्थानेश्वर पासवान, गोपाल गिरी, भोलाप्रसाद चौधरी, सत्यनारायण चौधरी, भिखन चौधरी, कमलनारायण चौधरीलगायतका घरमा बाढीले क्षति पुर्‍याएको छ । यसैगरी राम गिरी, ब्रह्मदेव चौधरी, गुणानन्द चौधरी, खुसीलाल चौधरी, गढाइ चौधरी, झोडन चौधरी, चुनचुन चौधरी, शिवनारायण मुखियालगायतको घरमा समेत बाढीले क्षति पुगेको पूर्वअध्यक्ष चौधरीले बताए ।
उज्यालो नहुँदै गाउँमा पानी पस्दा स्थानीयवासीको भागाभाग भएकाले घरका अन्नपात, लत्ताकपडासमेत जोगाउन नसकी बाढीमा डुबेको पीडितले बताए । राम गिरीका अनुसार पानी बस्तीमा पसेलगत्तै महिला तथा बालबालिका सुरक्षित स्थानमा भागेको र पुरुषहरू बाढी नियन्त्रणका लागि खोलातर्फ कुदेका कारण घरका सरसामान जोगाउन नसकिएको हो ।
यसैगरी फत्तेपुर–३, ४ र ५ स्थित नयाँबजार र हटिया गरी करिब ५५ घर जलमग्न भएका छन् । फत्तेपुर गाविसका पूर्वउपाध्यक्ष उत्तमकुमार गौतमले दिएको जानकारीअनुसार फत्तेपुर–३ स्थित नयाँबजारका होमनाथ रिजाल, रमेश मगर, ऋषि मगर, गोपालगौतम परियार, कृष्ण गुरुङलगायतका दुई दर्जन घर पानीले डुबाएको छ । यस्तै, हटियाका वंशीलाल चौधरी, दुर्गा चौधरी, राजकुमार भगत, ठाकुरप्रसाद यादव, गोविन्द कटवाललगायतका करिब एक दर्जन घरमा पानी पसेर जलमग्न भएको फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल किरण भट्टराईले बताए । बाढीले वडा नम्बर ४ को मुसलमान बस्ती र वडा नम्बर ५ को पलार बस्तीमा समेत नोक्सानी पुर्‍याएको छ ।

प्रतिक्रिया