काठमाडौं, १७ भदौ । ठूलो रकमको प्राथमिक सेयर निष्काशन हुन थालेपछि एकभन्दा बढी सेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गर्ने क्रम बढेको छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्काशन हँुदा पहिलोपटक नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड गरी दुई कम्पनीलाई सेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिएको थियो । कम्पनीले १३ लाख ४४ हजार कित्ता सेयर प्रतिकित्ता चार सय आठ रुपियाँमा प्रिमियमा सेयर निष्काशन गरेको थियो ।
पछिल्लो समय जनता बैंकले ६० लाख कित्ता बराबर ६० करोड रुपियाँको सेयर निष्काशन गर्दा एनएमबी क्यापिटल, नागरिक लगानी कोष र सिभिल क्यापिटल गरी तीन मर्चेन्ट बैंकरले सेयर निष्काशक तथा बिक्री प्रबन्धकका रूपमा कार्य गरेका थिए । त्यसैगरी निकट भविष्यमा सेयर निष्काशन गर्न लागेको सिभिल बैंकले ८० करोड रुपियाँ बराबर ८० लाख कित्ता सेयर निष्काशन गर्न चारवटा मर्चेन्ट बैंकरलाई सेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, एनसिएम बंैकिङ लिमिटेड र एस क्यापिटल लिमिटेड रहेका छन् । त्यसैगरी कमर्ज एन्ड ट्रस्ट बैंकका सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल लिमिटेड र ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेड र नागरिक लगानी कोष रहेका छन् । बैंकले ६० लाख कित्ता बराबर ६० करोड रुपियाँको सेयर निष्काशन गर्न लागेको हो ।
गतवर्ष नै प्राथमिक सेयर निष्काशन गरिएको नेपाल कन्जुमर डेभलपमेन्ट बैंकको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकर र नागरिक लगानी कोष नियुक्त भएको हो भने २४ करोड रुपियाँको टुरिज्म डेभलपमेन्ट बैंकको सेयर निष्काशन गर्दा पनि नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकर नै सेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त भएका हुन् ।
‘बढी रकमको सेयर निष्काशन गर्नुपर्दा सेयर अन्डरराइट गर्न समस्या पर्ने हुँदा एकभन्दा बढी सेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गर्नुपर्ने बाध्यता आएको हो,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने । नेपाल धितोपत्र बोर्डको प्रावधानअनुसार सेयर निष्काशनको स्वीकृति दिँदा प्राथमिक निष्काशन हुने सेयर रकमको ५० प्रतिशत अन्डरराइट गर्नुपर्छ । प्राथमिक शेयर निष्काशन गर्दा सेयर बिक्री नभएमा कुनै कम्पनीले किन्ने प्रतिबद्धता गर्नु सेयर अन्डरराइट गर्नु हो । सेयर निष्काशक तथा बिक्री प्रबन्धकले आफ्नो चुक्ता पुँजीको शतप्रतिशत मात्र सेयर अन्डरराइट गर्न सक्छ । धितोपत्र बोर्डले अनुमति प्रदान गरेका प्राय: मर्चेन्ट बैंकरको चुक्ता पुँजी सातदेखि ११ करोड रुपियाँसम्म रहेको हुँदा सोभन्दा बढीको अन्डरराइट गर्न सक्दैन । त्यसैले एकभन्दा बढी मर्चेन्ट बैंकरलाई सेयर निष्काशक तथा बिक्री प्रबन्धक तोक्ने गरिएको नेपाल धितोपत्र बोर्डका निर्देशक नीरज गिरीले बताए ।
नागरिक लगानी कोषका हकमा भने विशिष्ट ऐनअनुसार कोषले काम गर्ने हुँदा अन्डरराइट गर्दा चुक्ता पँुजीको सीमा यो कम्पनीलाई लाग्दैन । कोषको चुक्ता पुँजी करिब साढे २१ करोड रुपियाँ रहे पनि कम्पनीसँग करिब ३३ अर्ब रुपियाँको कोष रहेको हुँदा कम्पनीले ठूलो खालको प्राथमिक सेयर निष्काशन हुँदा पनि सेयर अन्डरराइट गर्न सक्छ । जनता बैंकको सेयर निष्काशन गर्दा नागरिक लगानी कोषले ५० प्रतिशत र बाँकी दुई मर्चेन्ट बैंकर मिलेर ५० प्रतिशत सेयर अन्डरराइट गरेको नागरिक लगानी कोषका सेयर विभाग प्रमुख नारायणप्रसाद घिमिरेले बताए । सिभिल बैंकको ८० करोडको सेयर निष्काशनमा पनि कोषले २० करोडको सेयर अन्डरराइट गरेको छ । बाँकी २० करोड तीनवटा मर्चेन्ट बैंकर मिलेर गरेका छन् ।
त्यसैगरी ६० करोडको कमर्ज एन्ड ट्रस्ट बैंकको सेयर निष्काशनमा पनि कोषले १५ करोड र बाँकी तीन मर्चेन्ट बैंकरले १५ करोडको सेयरको अन्डरराइट गरेका छन् । ‘चुक्ता पुँजीका कारण मात्र होइन, वितरण प्रणालीलाई चुस्त बनाउन पनि एकभन्दा बढी सेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो,’ नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने । धितोपत्र बोर्डले एक दर्जनभन्दा बढी कम्पनीलाई मर्चेन्ट बंैकिङको कार्य गर्न स्वीकृति दिएको छ । ३।४ वटा बंैक र जलविद्युत् कम्पनीको मात्र ठूलो रकमको सेयर निष्काशन हुन थालेको हुँदा मर्चेन्ट बंैकरको थोरै चुक्ता पुँजीले खासै फरक नपर्ने उनले दाबी गरे । भविष्यमा जलविद्युत् कम्पनीको अर्बाैंको प्राथमिक सेयर निष्काशन हुन थालेमा भने सोहीअनुसार पुँजी बढाउन मर्चेन्ट बैंकर बाध्य हुने उनले बताए ।
प्रतिक्रिया