कति राष्ट्रिय, कति अन्तर्राष्ट्रिय ? खोइ, खेलाडी अभिलेख ?

काठमाडौं, १६ भदौ । नेपाली खेलकुद अन्तर्राष्ट्रिय जगत्मा प्रवेश गरेको करिब सात दशक बित्न थाल्दा पनि देशका खेलाडीको अभिलेख राखेपसँग छैन । यसको मतलब अहिलेसम्म नेपालमा कति राष्ट्रिय र कति अन्तर्राष्ट्रिय खेलाडी भए भन्नेबारे जान्न प्रयास गर्‍यो भने राखेपबाट मौनताबाहेक अरू केही पाइँदैन । इतिहासमा नेपाली खेलाडीको नाम कहीँ लेखिएको छ भने त्यो निकै छरपस्ट छ । खेलाडीको बायोडाटाको विषय त निकै परको कुरा हो ।
‘मसँग धेरैपटक मेरो फोटो र बायो डाटा मागियो तर एकपछि अर्को गरी माग्नेमात्र काम भयो । जेका लागि मागिएको हो त्यसको प्रयोजन कहिले पनि भएन,’ नेपाली खेलकुदका सफल व्यक्तित्वमध्येका एक दीपक विष्ट खेलाडी अभिलेखबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लापरबाहीबारे भन्छन् ।
केही महिनापहिले सम्पन्न छैटौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको तथ्यांक पनि राखेपमा पाउन गाह्रो छ । किन यस्तो भयो त ? खेलाडीको तथ्यांक कसले राख्ने भन्नेमै अन्योल छ । राखेप यो जिम्मेवारी संघको विषय हो भन्छ भने संघहरू खेलाडीको अभिलेख राख्ने जिम्मा राज्यको भएको तर्क गर्छन् । यसले गर्दा न राज्यसँग अभिलेख रह्यो न त संघसँगै । केही संघहरूले भने खेलाडीको रेकर्ड राखेको स्थिति छ तर त्यो व्यवस्थित भने छैन ।
खेलकुद विकास विभागअन्तर्गत संघसंस्था शाखाले खेलाडीको रेकर्ड राख्ने काम नगरेको पनि होइन तर त्यो प्रभावकारी भएन । भनिन्छ, ‘तेस्रो राष्ट्रिय खेलकुदसम्म आइपुग्दा सबै खेलाडीको रेकर्ड थियो संघसंस्थासँग । तर, त्यसपछि त्यो काम बन्द भयो । काम बन्द भएसँगै पुराना फाइलहरू पनि हराए । अनि हिँड्दै छ, बाटो मेट्दै छ जस्तो भयो ।’
यसमा संघहरूले लापरबाही नगरेको भए कुनै न कुनै रूपमा राखेपसँग खेलाडीको लिखित डकुमेन्ट हुने राखेप कर्मचारी बताउँछन् । उनीहरूका अनुसार संघले जानकारी नै नदिई खेलाडी बाहिर लैजाने गर्दा रेकर्ड हुन नसकेको हो । ‘संघहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा राखेपको स्विकृति लिनुपर्छ । खेलाडी र अफिसियलको नाम बुझाउनुपर्छ तर यी सबै धेरैको हकमा नियममा मात्र कायम भयो । अनि, यस्तै–यस्तै कारणले भद्रगोल भयो,’ राखेपका एक उच्च कर्मचारी भन्छन् । तर, उनी राखेपको पनि प्रशस्त गल्ती रहेको स्विर्काछन् । ‘साँच्चै भन्ने हो भने राखेप खेलाडीको अभिलेख राख्न गम्भीर देखिएन । राखेपबाट समन्वय नै भएन,’ ती कर्मचारीको भनाइ छ । उनले ठट्यौली पारामा यथार्थ झल्काए, ‘अहिले एउटा पुरानो खेलाडीले राखेपमा आएर ‘म पनि एक समयको खेलाडी हुँ’ भन्यो भने हामीसँग त्यसको तत्काल पुष्टि गर्ने आधार छैन ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका विष्ट खेलाडीलाई चाहिएका बेला प्रयोग गर्ने र त्यसपछि उसको वास्ता नहुने प्रचलनका कारण यस्तो स्थिति आएको बताउँछन् । ‘खासमा खेलाडी अभिलेखमा सम्बन्धित निकायको इन्ट्रेस्ट रहेन अनि दोस्रो कुरा ज्ञान पनि भएन,’ विष्ट व्यंग्य गर्छन् । खेलाडी संघका अध्यक्ष विष्ट संघलाई उत्कृष्ट खेलाडीको नाम पठाइदिन भन्दा पनि अटेर गरेको बताउँछन् । ‘हामीले धेरैपटक उत्कृष्ट खेलाडीको नाम पठाउन सम्बन्धित संघहरूलाई आग्रह गर्‍यौंँ ।’ विष्टले भने, ‘तर, संघहरूबाट निकै आलटाल भयो । यसबाट धेरै कुरा बुझ्न सकिन्छ ।’
खेलाडीलाई समेट्न र उनीहरूलाई खेलाडीको परिचय दिन प्रयत्न नै नभएका होइनन् । तर, भएका प्रयासको प्रभावकारिता कमजोर देखिन्छ । यसको एउटा गतिलो उदाहरण के छ भने करिब पाँच महिनाअघि राखेपले खेलाडीलाई खेलाडी कार्ड वितरण गर्न सुरु गरेको थियो तर अहिलेसम्म जम्मा छ खेलाडीले मात्र कार्ड लिएका छन् तर यी सबै कार्ड, कार्ड वितरणबारे जानकारी गराइएकै दिन सम्बन्धित खेलाडीलाई प्रदान गरिएको थियो । यस कार्यक्रमअन्तर्गत राखेपले हरेक संघलाई पत्राचार पनि गर्‍यो खेलाडीलाई परिचय–पत्र बनाउनका लागि । तर, यसमा न राखेप नै गम्भीर भएर लाग्यो न त संघहरूले नै यसलाई गम्भीर रूपमा लिएका छन् । राखेपले खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धिलाई हेरेर प्लेटिनम, गोल्ड र सिल्भर गरी तीन प्रकारका कार्ड प्रदान गर्ने गरेको छ । राखेप खेलाडी परिचय कार्डका लागि संघको सिफारिस, प्रमुख प्रशिक्षकको सिफारिस र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सिफारिस आवश्यक हुन्छ । ओलम्पियन, एसियन गेम्स मेडलिस्ट, साग गोल्ड मेडललिस्ट, वल्र्ड च्याम्पियनसिप मेडलिस्ट, सिनियर एसियन च्याम्पियनसिप मेडलिस्ट, युथ ओलम्पिक गेम्स मेडलिस्ट, युथ एसियन गेम्स मेडलिस्ट र पारा ओलम्पिक मेडलिस्टलाई प्लेटिनम कार्ड प्रदान गरिन्छ । सागमा रजत र कास्य विजेता, दक्षिण एसियाली च्याम्पियनसिप मेडलिस्ट, बिच गेम्स मेडलिस्ट, जुुनियर एसियन च्याम्पियनसिप मेडलिस्ट, अन्तर्राष्ट्रिय महासंघद्वारा मान्यताप्राप्त आमन्त्रण प्रतियोगिताका मेडलिस्टलाई गोल्ड कार्ड प्रदान गरिन्छ ।
त्यसैगरी, एसियन गेम्स, साग, सिनियर–जुनियर वल्र्ड च्याम्प्यिनसिप, युथ एसियन च्याम्पियनसिप, पारा ओलम्पिक, युथ ओलम्पिक, एसियन सिनियर च्याम्पियनसिप, बिच गेम्स सहभागी, अन्तर्राष्ट्रिय महासंघद्वारा मान्यताप्राप्त आमन्त्रण प्रतियोगिता, विश्वकप छनोटका सहभागीलाई सिल्भर कार्ड प्रदान गरिन्छ । ‘हामीले सबै संघलाई पत्राचार गरेका थियौँ । खेलाडीलाई संघले जानकारी गराउनु पर्ने हो । तर खोइ, खेलाडीले कार्ड बनाउने सवालमा त्यति चासो दिएको पाइएन,’ संघसंस्था शाखाका अधिकृत टेकप्रसाद कट्टेल भन्छन् । यहाँ अचम्मलाग्दो के छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका तर राष्ट्रिय खेलकुद वा राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता वा पदक ल्याएका खेलाडीलाई भने परिचय–पत्रभित्र राखेपले समेटेको छैन । यस अर्थमा यस कार्यक्रममा पनि खेलाडी अभिलेखीकरण त्यति प्रभावकारी देखिएको छैन । राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा खेल्ने खेलाडीको कुरा त निकै टाढाकै विषय भइगयो ।
यता नेपाल ओलम्पिक कमिटीले खेलाडी परिचय–पत्र बाँडे पनि त्यो प्रभावकारी हुनसकेको छैन । धेरै वर्षअघिदेखि यो व्यवस्था सुरु भए पनि अहिलेसम्म २ सय ४५ खेलाडीले मात्र खेलाडी कार्ड लिएका छन् । त्यसमा पनि अति थोरैले मात्र कार्ड नवीकरण गरेका छन् । सम्बन्धित निकायले खेलाडीलाई नै कार्डबारे जानकारी गराउन नसक्दा धेरै तथा अधिकतम खेलाडी कार्डको पहुँचमा नपुगेका हुन् ।
यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ खेलाडीहरूको संघ हो, खेलाडीको प्रतिनिधि संस्था हो । अहिलेसम्म ६ सय ८१ खेलाडी मात्र यसका सदस्य छन् । ३०/४० वटा अफिसियल खेल संघ रहेको नेपालमा नयाँ/पुराना खेलाडी यति मात्र छन् त ?  खेलाडी संघले कम्तीमा राष्ट्रिय च्याम्पियनसिप र राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्दै कास्य पदक जितेको खेलाडीसम्मलाई मात्र आफ्नो सदस्य (साधारण) बनाउने गरेको छ । अर्थात्, राष्ट्रिय प्रतियोगिता वा खेलकुद खेल्ने तर पदक नजित्ने खेलाडीहरू यस संघको सदस्य हुन पाउँदैनन् । ‘एकपटक राष्ट्रिय च्याम्पियनसिप वा खेलकुद खेल्ने खेलाडीलाई खेलाडी परिचय–पत्र दिएर के गर्नु ?’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष विष्टको तर्क छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सबै खेलाडी पनि यसमा समेटिएका छैनन् ।
खेलाडी तथा खेलाडी संघको दबाबपछि अहिले आएर राखेपले तथ्यांक शाखा भनी आन्तरिक प्रशासनअन्तर्गत तथ्यांकको अभिलेख राख्ने संरचना खडा गरेको छ । खेलाडी अभिलेखको हकमा यसले शून्यको स्थितिबाट काम थाल्नुपर्ने अवस्था छ । ‘हामी अहिले शून्यको स्थितिमा छौँ,’ तथ्यांक शाखाका ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘अब संघहरू, संघसंस्था शाखा, खेलाडी संघहरूसँग सम्पर्क गरेर पुराना सबै विवरण संकलन गर्छौं ।’ उनले खेलाडीको सबै विवरण कम्प्युटराइज गरिने जानकारी दिए ।
विष्ट कम्तीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीको बायोडाटासहित अभिलेख राख्नुपर्ने बताउँछन् । ‘पुरानो पुस्तालाई हेरेर नयाँ पुस्ता आउने हो । पुरानो पुस्ताबारे नयाँ पुस्ता जान्न चाहन्छ, बुझ्न चाहन्छ,’ विष्ट भन्छन्, ‘यस कारण पदक विजेता खेलाडीको बायोडाटासहित राखियो भने उनीहरूले जान्ने बुझ्ने अवसर पाउँछन् । यता सम्बन्धित खेलाडीका लागि पनि यस्तो विषय आवश्यकता र सम्मानको विषय बन्ने गर्छ । खेलाडी आफ्नो नाम कालान्तरसम्म इतिहासमा लेखियोस् भन्ने चाहन्छन् ।’

प्रतिक्रिया