मेसिनरिडेबल नम्बर प्लेट लागू गरिने

काठमाडौं, १६ भदौ । सवारीसाधनको नम्बर प्लेटमा एकरूपता ल्याउने भन्दै सरकारले नेपालमा दर्ता भएका सबै सवारीसाधनको नम्बर प्लेट परिवर्तन गर्ने भएको छ । साविकको नम्बर प्लेट हटाएर मेसिनले अध्ययन गर्न सक्ने ‘इम्बोस्ड’ नामक नम्बर प्लेट लागू गरिने भएको हो ।
सवारीसाधनमा टाँसिएका फरक/फरक रंगका नम्बर प्लेटले झुक्याउनुका साथै त्यसको दुरुपयोग हुने गरेको पाइएकाले नम्बर प्लेट परिवर्तन गर्न लागेको भौतिक योजना, निर्माण
तथा यातायात मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाले बताए । ‘आपराधिक कार्यमा संलग्न भएकाहरूले एउटै गाडीमा धेरै थरीका नम्बर राखेर चलाउने गरेको रिपोर्ट बारम्बार आउने गरेका छन्,’  सचिव सिटौलाले भने, ‘त्यस्ता कार्यलाई निरुत्साहित गर्न सरकारले सरकारी, निजी, सार्वजनिक, कूटनीतिकलगायत सबै खाले सवारीसाधनको नम्बर प्लेट परिवर्तन गर्न लागेको हो ।’
‘हाल कायम रहेका नम्बर प्लेटले चोरीका सवारीसाधनलाई बढवा दिएको तथा आपराधिक मानसिकताका व्यक्तिलाई सजिलो गराएको छ,’ सचिव सिटौलाले थपे, ‘नयाँ नम्बर प्लेटले ती सबै समस्याको समाधान निकाल्ने आशा गरेका छौँ ।’ अपराधमा संलग्न मानिसले प्रयोग गर्ने गरेको सवारीसाधनका नम्बर पटक–पटक परिवर्तन हुने र परिवर्तित नम्बर प्लेटका गाडीबाट अवैध कार्य हुने गरेकाले त्यसलाई रोक्न पनि सवारीसधानको नम्बर प्लेट परिवर्तन गर्नुपर्ने खाँचो देखिएको सिटौलाको भनाइ थियो ।
उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट मेसिनको सहयोगमा अध्ययन गर्न सकिन्छ । सवारी कर तिरे/नतिरेको, वातावरण प्रदूषण जाँच गरे/नगरेको लगायत सबै जानकारी नम्बर प्लेटबाटै लिन सकिन्छ । सरकारले तोकेको एउटा मात्र आधिकारिक निकायबाहेक अरूले यो नम्बर प्लेट राख्न सक्दैन ।’ एम्बोस्ड नम्बर प्लेट एकपटक राखेपछि निकाल्न नमिल्ने र यदि कसैले निकालिहाले पुन: राख्न नसकिने उनले जानकारी दिए । पुन: राख्नका लागि सरकारको अनुमति चाहिने उनको भनाइ छ । ‘सरकारबाट अनुमतिपत्र लिएपछि तोकिएको निकायमा गएर मात्र यो राख्न सकिन्छ,’ उनले भने ।
यसका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्न कुँवर एन्ड कम्पनीलाई अनुमति दिएको छ । कम्पनीले आºनो अध्ययन पूरा गरी सरकारलाई प्रतिवेदन बुझाएको कम्पनीका निर्देशक मनोज कार्कीले जानकारी दिए । ‘इम्बोस्ड नम्बरबारे सम्पूर्ण विवरण केही दिनमा सरकारलाई बुझाउने छौँ,’ उनले भने ।
नेपाल प्रहरीका प्रवक्ता विनोद सिंहले अपराध गर्ने क्रममा सवारीसाधनको नम्बर परिवर्तन गर्ने प्रचलन रहेको बताए । उनले भने, ‘त्यसबारे तत्काल सूचना पाउन नसक्दा अपराधी उम्किन सफल भएका छन् ।’ चोरी तथा कर छली गरेका सवारीसधान पनि सडकमा गुड्ने गरेको प्रवक्ता सिंहको भनाइ छ । सरकारले ल्याउने तयारी गरेको इम्बोस्ड नम्बर प्लेटले यसलाई नियन्त्रण गर्ने आशा उनले व्यक्त गरेका छन् ।
ट्राफिक प्रहरी नायब उपरीक्षक पवनकुमार गिरीले साविकको नम्बर प्लेट कुनै पनि बेला परिवर्तन गर्न सकिने भएकाले अपराधीले एउटै सवारीसाधनको धेरै नम्बर प्लेट राखेर हिँड्ने गरेको पाइएको जानकारी दिए । उनले भने, ‘ती नम्बर प्लेटका आधारमा उनीहरूले गाडीका कागजपत्र पनि नक्कली बनाएर बोक्ने गरेको पाइन्छ ।’ गिरीले एउटै नम्बर प्लेटका दुई/तीनवटा सवारीसाधन पनि गुड्ने गरेको बताए । ‘हस्तलिखित नम्बर प्लेट रातको समयमा देखिँदैन, त्यसले पनि निकै समस्या पारेको छ,’ नायब उपरीक्षक गिरीले भने, ‘इम्बोस्ड नम्बर प्लेट राख्दा त्यो समस्याबाट मुक्ति पाइन्छ ।’
सचिव सिटौलाका अनुसार सरकारले यो नम्बर प्लेट कुनै एक निजी कम्पनीलाई बनाउन दिने र ती कम्पनीबाट खरिद गरी सम्बन्धित क्षेत्रको यातायातको कार्यालयबाट सवारीधनीलाई उपलब्ध गराइनेछ । ‘यसरी इम्बोस्ड नम्बर प्लेट दिँदै सवारीसाधनको सबै कागजपत्र हेरिन्छ,’ सचिव सिटौलाले भने, ‘त्यसो गर्दा चोरीका सवारीसाधन नियन्त्रण गर्न पनि सजिलो हुन्छ ।’ यो नम्बर प्लेट राख्न चार सयदेखि आठ सयसम्म लाग्ने प्रारम्भिक अनुमान सरकारले गरेको छ ।

प्रतिक्रिया