‘सहमतिको सम्भावना कम’

काठमाडौं, १५ भदौ । एमालेले राजनीतिक निकासका विषयमा दलहरूबीच पछिल्लोपटक सुरु संवाद सकारात्मक भए पनि विषयगत मुद्दामा सहमति हुने सम्भावना कम रहेको जनाएको छ । अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवासमा शुक्रबार साँझ बसेको स्थायी समिति बैठकले दलहरूबीच भएको संवादका विषयमा यस्तो विश्लेषण गरेको हो ।
पछिल्लोपटक दलहरूबीच भएको वार्ताका विषयमा अध्यक्ष खनालले बैठकमा ब्रिफिङ गरेका थिए । राजनीतिक संकट चुलिएका बेला दलहरूबीच संवाद सुरु हुनु सकारात्मक भए पनि ‘कन्टेन्ट’मा मिल्ने सम्भावना कम रहेको निष्कर्ष बैठकले निकालेको छ ।
‘पछिल्लोपटक राजनीतिक दलहरूबीच भइरकेको वार्ताबारे ब्रिफिङ भएको छ,’ सचिव शंकर पोखरेलले सौर्यसँग भने, ‘संवाद सुरु हुनु सकारात्मक भए पनि कन्टेन्टमा मिल्ने कम सम्भावना छ भन्ने देखियो ।’
दलहरूबीचको संवादलाई निरन्तरता दिने एमालेले जनाएको छ । ‘वार्ता चलिरहेको छ तर भनिएजस्तो पोजिटिभ छैन,’ सचिव पोखरेलले भने ।
बैठकमा असन्तुष्ट नेताहरूसँग राज्य पुन:संरचनाबारे पार्टीले तय गरेको अवधारणामा पनि छलफल भएको पोखरेलले बताए । उनका अनुसार असन्तुष्ट नेताहरूको नौबुँदे मागका विषयमा पार्टीले तय गरेको धारणा शनिबार उनीहरूसमक्ष राखिने भएको छ ।
‘भोलि (शनिबार) उहाँहरूसँग बसेर छलफल गर्ने कुरा भएको छ, छलफलमा आउनुहुन्छ भन्ने जानकारी पाएका छौँ,’ उनले भने, ‘उहाँहरूका मुद्दाबारे पार्टीले पहिल्यै धारणा बनाइसकेको छ ।’

प्रतिक्रिया