युनिक फास्टफुडमा सिलबन्दी

काठमाडौं : अनामनगरस्थित युनिक फास्टफुडले कुहिएको मासु मिसाएर बिक्री गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले शुक्रबार अनुगमनका क्रममा यस्तो फेला पारेपछि फास्टफुडमा सिलबन्दी गरेको छ ।
चाउमिनमा सलाईको काँटी भेटिएको गुनासो आएपछि विभागबाट खटिएको अनुगमन टोलीले फास्टफुडले कुहिएका मासु प्रयोग गर्ने गरेको फेला पारेको हो । विभागका खाद्य निरीक्षक मदन चापागार्इंका अनुसार फास्टफुडले धैरै दिनदेखिको कुहिएको मासु प्रयोग गर्ने गरेको पाएको छ ।
‘फास्टफुडले खाजा बनाउँदा मिसाउने मासु स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालको भेटिएको छ,’ खाद्य निरीक्षक चापागाईंले भने, ‘कुहिएको मासु र स्वास्थ्यलाई असर गर्ने खालका सामग्री फेला परेपछि फास्टफुडलाई सिलबन्दी गरिएको छ ।’
उनका अनुसार फास्टफुड सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटिएको छ । अनुगमनका क्रममा फास्टफुडको भान्छासमेत फोहोर पाइएको छ । भान्छामा कुहिएको मासु मात्र होइन, हेर्दै घीनलाग्ने फोहोरसमेत भेटिएको छ । उनका अनुसार फास्टफुडले प्रयोग गर्ने गरेको मसला तथा ससको उत्पादन मितिसमेत नलेखिएको र पहिल्यै बन्द भइसकेको उद्योगको सस प्रयोग गरिरहेको पाइएको उनले बताए ।          सन्ध्या बोगटी/प्रशिक्षार्थी

प्रतिक्रिया