बैंकिङ क्षेत्रमा युवावर्गको आकर्षण बढ्दै

पछिल्लो समय बैंकिङ क्षेत्रप्रति युवावर्गको आकर्षण बढ्दै गएको छ । अन्य क्षेत्रभन्दा अवसर र सेवासुविधा बढी नै हुने भएकाले पनि युवावर्ग बैंकिङ क्षेत्रको रोजगारीतर्फ आकर्षित हँुदै गएको हो ।
योसँगै पछिल्ला केही वर्षयता बैंक तथा वित्तीय क्षेत्रको विस्तारले पनि छिट्टै रोजगारीको अवसर पाउने र अनुभव नभए पनि योग्यताले जागिर पाइहाल्ने भएकाले युवावर्गको झुकाव बढेको देखिन्छ । यसैले अहिले अधिकांश वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा युवा जनशक्ति नै बढी छन् ।
तर, यसको असर पनि बैंकिङ क्षेत्रमा देखिँदै आएको छ । रोजगारीका लागि शैक्षिक योग्यता भए पनि सम्बन्धित काममा अनुभव नहुने भएकाले कतिपय अवस्थामा यस्तो समस्या देखिने गरेको छ । तर, यस्तो अवस्था आउनुमा सरकार र स्वयं बैंकर्सहरू समेत जिम्मेवार रहेको विज्ञहरू बताउँछन् ।
प्रतिस्पर्धाका रूपमा बैंक तथा वित्तीय क्षेत्र खुल्ने र सरकारले समेत भटाभट स्वीकृति दिने गरेकै कारण सिकाइ क्रममा रहेका युवा वर्गसमेत रोजगारीमा आएको उनीहरूको बुझाइ छ । बैंक तथा वित्तीय क्षेत्रको संख्यात्मक वृद्धि भएपछि सोहीअनुरूप जनशक्ति आवश्यक पर्ने भएकाले स्नातक वा स्नातकोत्तर उत्तीर्ण गर्नेबित्तिकै युवावर्ग बंैकको जागिरे हुने तर अनुभव नहुने गरेकाले गुणस्तर कमजोर भएको विज्ञहरूको दाबी छ ।
नेपाल बैंकर्स ट्रेनिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा सरकारको दिर्घकालीन योजना नहुँदा बैंक तथा वित्तीय क्षेत्रको संख्यात्क वृद्धि भएको तर गुणस्तर नभएको बताउँछन् । यसले वित्तीय क्षेत्रमा दीर्घकालीन असर पर्ने उनको बुझाइ छ । ‘सरकारले दीर्घकालीन योजना नबनाई भटाभट वित्तीय संस्थालाई लाइसेन्स दियो,’ उनले भने, ‘यही कारण सिकाइ क्रममा रहेका युवावर्गले जागिर त पाए तर उनीहरूले दिने सेवा गुणस्तरीय छैनन् ।’ बैंक तथा वित्तीय क्षेत्रका रोजगारी आफँैमा सम्मानित र चुनौतीपूर्ण भएकाले योग्यताभन्दा पनि अनुभव जरुरी हुने सुब्बा बताउँछन् । गुणस्तरीय सेवा दिन युवावर्ग सक्षम भए पनि उनीहरूलाई कम्तीमा ६ महिनाको बैंकिङ डिप्लोमा कोर्ष अनिवार्य भएको उनको बुझाइ छ । अनुभव कम भएकै कारण अहिले अधिकांश वित्तीय क्षेत्रमा ग्राहक सेवा राम्रो नभएको उनले बताए ।
त्यसो त ०४७ को राजनीतिक परिवर्तनपछि राज्यले लिएको खुला अर्थनीतिकै कारण बैंकिङ क्षेत्र विस्तार हुन थालेको हो । निजी क्षेत्रलाई समेत बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्न पाउने व्यवस्थाले गर्दा अहिले यो क्षेत्र निकै फस्टाएको छ । वित्तीय संस्थाको स्थापना हुने क्रम बढ्दै गएपछि शैक्षिक संस्थाहरू पनि दक्ष जनशक्ति उत्पादनमा लागेका छन् ।
बंैकिङ क्षेत्रको रोजगारी आफैँमा सम्मानित छ । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै अहिले बैंकिङ क्षेत्रको विस्तारले रोजगारीको अवसरसमेत बढ्दै गएको छ । यस क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन हुन थालेकाले पनि सेवा क्षेत्र विस्तार गर्न बैंक तथा वित्तीय क्षेत्रलाई थप सहजता भएको जानकारहरूको भनाइ छ । अहिले १६ देखि २० हजार जनशक्तिले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेको अनुमान बैंकिङ क्षेत्रको छ ।
बैंक तथा वित्तीय क्षेत्र स्थापनाको क्रम बढेकाले प्रतिवर्ष यस क्षेत्रमा रोजगारीको अवसर पनि थपिँदै गएको हो । प्रतिवर्ष करिब पाँच हजार जनशक्ति बैंकिङ क्षेत्रका लागि उत्पादन हुने गर्छ ।
शैक्षिक केन्द्रहरूले उत्पादन गरेका जनशक्ति दक्ष भए पनि समयअनुसार अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको भने अझै कमी रहेको विकास बैंक संघका पूर्वअध्यक्ष झपड बोहराको भनाइ छ । एक दशकयता बैंक तथा वित्तीय संस्था खुल्ने क्रम ह्वात्तै बढेकाले व्यावसायिक सीप भएकालाई भने बेरोजगार हुनु नपर्ने उनी बताउँछन् ।
अन्य क्षेत्रभन्दा बढी संवेदनशील भएकोले व्यावसायिक सीप भएको जनशक्ति बैंकिङ क्षेत्रमा आवश्यक पर्ने उनको भनाइ छ । प्रतिस्पर्धाका आधारमा शैक्षिक केन्द्रहरू खुल्ने क्रम बढे पनि उनीहरूले उत्पादन गरेको जनशक्ति भने बैंकिङ सेवाका लागि उपयुक्त नदेखिएको बोहरा बताउँछन् । ‘युवावर्गले शैक्षिक डिग्री हासिल गरेको छ,’ उनले भने, ‘तर, यो क्षेत्रका लागि चाहिने व्यावसायिक दक्षता भने उनीहरूसँग छैन ।’ यसले रोजगारीभन्दा पनि प्रतिस्पर्धाको समयमा बेरोजगार थप्ने काम भइरहेको उनको बुझाइ छ । पढेर मात्र दक्ष नहुने भएकाले उत्पादित जनशक्तिलाई व्यावसायिक सीपको जरुरी रहेको बोहराले जनाए । यद्यपि बैंकिङ क्षेत्रको सेवा लचिलो र विगतभन्दा राम्रो रहेको बोहरा बताउँछन् । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा निगरानी गरिरहेकाले पनि सेवाको गुणस्तर बढ्दै गएको बोहराको भनाइ छ ।
बैंक तथा वित्तीय क्षेत्र सहरमुखी मात्र भएमा उनीहरूको सेवामा समेत विश्वास कम हुने जानकारहरूको भनाइ छ । सेवास्तर बढाउँदै ग्रामीण क्षेत्रमा जानसमेत बैंक तथा वित्तीय क्षेत्रले प्रयास गरिरहेका छन् । यसले उनीहरूप्रति विश्वासको वातावरण सिर्जना हँुदै जाने बोहराको भनाइ छ । ०६२/६३ को दोस्रो जनआन्दोनपछि खासगरी बैंक तथा वित्तीय संस्था सेवा क्षेत्र विस्तारमा लागेका हुन् । मुलुकमा देखिएको राजनीतिक परिवर्तनबाटै आर्थिक विकासको सुरुआत हुने भएकाले बैंक तथा वित्तीय क्षेत्रले समेत दोस्रो जनआन्दोलनपछि आफ्नो सेवा केन्द्र विस्तारमा जोड दिएको अर्थविद्हरूको भनाइ छ ।
अहिले मुलुकमा वाणिज्य बैंकहरूको संख्या मात्र ३२ पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीको संख्या पनि ८०/८० को हाराहारीमा छ । यस्तै, मुलुकभर बचत तथा ऋणको कारोबार गर्ने १२ हजारभन्दा बढी सहकारी संस्था छन् भने कुल सहकारी संस्थाको संख्या २५ हजारमाथि पुगिसकेको छ । ती संस्थामा समेत युवा जनशक्ति कार्यरत छन । बढ्दो वित्तीय संस्थाले गर्दा युवा वर्गलाई रोजगारीको अवसरसमेत बढ्दै गएको छ । विभिन्न क्षेत्रमा तिनका सेवा केन्द्र विस्तार हुँदै गएकाले थप रोजगारीसमेत सिर्जना हुँदै गएको छ । मुलुमका चलेको १० वर्षे द्वन्द्वका कारण असुरक्षाको कारणले सहरकेन्द्रित बैंक तथा वित्तीय क्षेत्र अहिले ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारमा लागेकाले त्यहाँ पनि रोजगारी बढ्दै गएको छ ।

प्रतिक्रिया