बूढीगण्डकीमा परामर्शदाता छनोट

काठमाडौ, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि सर्तसहित अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरेको छ ।
बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको सर्तअनुसार काम गर्न राजी हुने परामर्शदातालाई मात्र छनोट गर्ने निर्णय गरेको हो । पहिलो छनोटमा ट्राकबेल इन्जिनियरिङ फ्रान्स र दोस्रो छनोटमा एमडब्लुएच अमेरिका परेको प्राधिकरणका एक सञ्चालक सदस्यले जानकारी दिए । प्राधिकरण सञ्चालक समितिका अनुसार प्राधिकरणको सर्तअनुसार काम गर्न मञ्जुर भएमा पहिलो र पहिलोले गर्न नमानेमा दोस्रोलाई परामर्शदाताका रूपमा
छनोट गरिनेछ ।
छनोट भएका परामर्शदातासँग नेगोसिएसन गर्नका लागि प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यमा उपेन्द्रदेव भट्ट, लीलानाथ भट्टराई, सुनील ढुंगेल र महेश आचार्य छन् । ‘समितिले छनोट भएका परामर्शदातासँग छलफल गरी छिट्टै टुंगो लगाउन भनिएको छ,’ ती सञ्चालकले भने ।
सम्भाव्यताको पूर्वअध्ययन गरेको २८ वर्षपछि आयोजनालाई अघि बढाउन गत फागुनमा ६ परामर्शदाता छनोट गरेको प्राधिकरणले गतअसार अन्तिम साता तीन परामर्शदाता छनोट गरेको थियो । तीमध्येबाट दुईवटालाई सर्तसहित नियुक्त गर्ने गरी प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको हो ।
बूढीगण्डकी परामर्शदाताका लागि २४ वटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाले निवेदन दिएका थिए । आर्थिक र प्राविधिक रूपमा उत्कृष्ट अंक पाउने तीनमध्येबाट छनोट गरिएको प्राधिकरणले जनाएको छ । एक/डेढ अर्बको लागतमा हुने सम्भाव्यता अध्ययन आगामी सन् ०१३ को डिसेम्बरमा सकिने र सन् ०१४ भित्र बूढीगण्डकी विद्युत् आयोजना नै सुरु गर्ने लक्ष्य प्राधिकरणको छ । गोर्खा र धादिङ जिल्लाको दोसाँधको सो आयोजना निर्माण क्रममा ५० वर्ग किलोमिटर डुबानमा पर्ने र करिब तीन हजार घरलाई विस्थापित गर्नुपर्ने अवस्था छ । सन् ०२० भित्रै पूरा गर्ने लक्ष्य प्राधिकरणको छ । बुढीगण्डकी आयोजना काठमाडांैबाट सबैभन्दा नजिकको आयोजना हो ।

प्रतिक्रिया