फेडेरर, मरे, क्लाइस्टर्स, सारापोभा, स्टसर, अजारेन्का दोस्रो चरणमा

न्युयोर्क, १३ भदौ । पाँचपटकका विजेता रोजर फेडेरर वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनमा सानदार सुरुआत गर्न सफल भएका छन् । १७ वटा ग्रान्डस्लामविजेता फेडेररले पहिलो चरणको खेलमा अमेरिकाका डोनाल्ड योङलाई सोझो सेटमा पराजित गरे । योङविरुद्ध उनी ६–३, ६–२ र ६–४ ले विजयी भएका हुन् ।
गत महिना विम्बल्डन जितेर फेडेररले ग्रान्डस्लाम संख्या १७ पुर्‍याएपछि फेडेररले युएस ओपन पनि जित्न सक्ने धेरैको अड्कल छ । यता जितपछि विश्व नम्बर–१ समेत रहेका फेडेररले सर्वियन नोभाक जोकोभिक युएस ओपनको बलियो दाबेदार भएको बताएका छन् । ‘मलाई अझै पनि लाग्छ जोकोभिकले उपाधि जित्नेछन्,’ १ घन्टा ३७ मिनेट लगाएर पहिलो चरणको खेल जितेका फेडेररले भने, ‘उनी साविक विजेता पनि हुन् । उनले धेरै उपाधि हार्डकोर्टमा जितेका छन् । विगत दुई वर्षदेखि मलाई पनि उनले यहाँ हराइरहेका छन् ।’
लन्डन ओलम्पिकविजेता एन्डी मरेले पनि दोस्रो चरण यात्रा तय गरे । उनले एलेक्स बोगोमोलोभलाई सोझो सेटमा पराजित गरे । २९ वर्षीय रसियन बोगोमोलोभले मरेविरुद्ध ६–२, ६–४ र ६–१ ले पराजय व्यहोरे । मरेलाई २ घन्टा १५ मिनेट समय लागेको थियो– खेल जित्नका लागि । मरे खेलजीवनकै पहिलो ग्रान्डस्लाम जित्न संघर्षरत छन् ।
महिलातर्फको खेलमा तीनपटककी विजेता किम क्लाइस्टर्ससँगै साविक विजेता सामन्था स्टसर र शीर्ष वरीयताकी भिक्टोरिया अजारेन्काले पनि दोस्रो चरणको यात्रा तय गरे । बेल्जियमकी क्लाइस्टर्सले पहिलो चरणमा अमेरिकी किशोरी भिक्टोरिया डुभललाई ६–३ र ६–१ ले हराइन् । यस वर्षको अस्ट्रेलियन ओपन जितेर ग्रान्डस्लाम उपाधिको अनुभव बटुलेकी बेलारुसकी अजारेन्काले रसियन अलेक्जान्द्रा पानोभालाई ६–० र ६–१ ले हराइन् । पहिलो चरण पार गर्न अजारेन्काले ५० मिनेट मात्र समय खर्चिन् । उनीभन्दा एक मिनेट बढी समय खर्चिएकी अस्ट्रेलियन स्टसरले क्रोएसियाकी पेट्रा मार्टिकलाई ६–१ र ६–१ ले हराइन् । प्रेmन्च ओपन च्याम्पियन मारिया सारापोभा पनि दोस्रो चरण पुगिन् । यी रुसी सुन्दरीले हंगेरीकी मेलिन्डा जिंकलाई ६–२ र ६–२ ले पराजित गरिन् ।
यसै प्रतियोगितापछि सन्न्यास लिन लागेकी क्लाइस्टर्स अन्तिम ग्रान्डस्लाम यात्रा स्मरणीय बनाउने प्रयासमा छिन् । ‘मलाई खेल जित्छु भन्नेमा कत्ति पनि डर थिएन,’ २९ वर्षीय क्लाइस्टर्सले भनिन् । आमा बनेपछि पुन: कोर्टमा फर्किने क्रममा क्लाइस्टर्सले सन् २००९ देखि लगातार दुईपटक युएस ओपनविजेता भएर सनसनी मच्चाएकी थिइन् । पछिल्लो संस्करणमा भने उनी चोटका कारण सहभागी हुन सकेकी थिइनन् । युएस ओपनमा उनको अपराजित यात्रा २२ खेलसम्म आइपुगेको छ ।
यता लन्डन ओलम्पिकको फाइनल पुगेयता पहिलोपटक कोर्टमा फर्किएकी सारापोभाले निकै राम्रो प्रदर्शन गरिन् । पेटको दुखाइका कारण उनले लन्डन ओलम्पिकयताका दुई प्रतियोगिता सिनसिनाटी र मन्ट्रियल त्यागेकी थिइन् । यसै वर्षको फ्रेन्च ओपन जितेर सारापोभाले ‘क्यारियर ग्रान्डस्लाम’ पूरा गरेकी हुन् ।

प्रतिक्रिया