‘चेतना फैलाउने भूमिका पाए अभिनय गर्छु’

नेपाली चलचित्र उति धेरै हेरेको छैन । नाम चलेका र प्रोपागान्डा सुनिएका केही चलचित्र मात्र हेरेको छु । पछिल्लोचोटि पनि केही चलचित्र हेरेँ । तिनको नाम त याद छैन तर ती निकै राम्रा लागे । व्यावसायिक हिसाबले पछिल्ला चलचित्रले केही आश जगाएको महसुस मैले गरेँ । ती चलचित्रले दर्शकमा कत्तिको प्रभाव पारे, त्यो भन्न सक्दिनँ । तर, चलचित्रकर्मीले क्वालिटीमा ध्यान दिन थालेको मैले पाएँ ।

म राजनीतिको मान्छे, चलचित्र मेरो विषय होइन । बुझेका आधारमा भन्दा प्राविधिक पक्ष मजबुत भए पनि निर्माणका हिसाबले दर्शकलाई हलसम्म तान्ने खालका चलचित्रको संख्या वृद्धिमा तीव्रता आएको छैन । केही चलचित्रलाई बिर्सने हो भने प्राय: नेपाली चलचित्र आर्थिक रूपले कमजोर वर्गलाई हेरेर निर्माण गरिए । मध्यम वा त्योभन्दा उपल्लो वर्गलाई तान्न सकेजस्तो लाग्दैन । हुन त हाम्रो चलचित्रमा प्रयोग भएको भाषा जम्माजम्मी चार करोडले बुझ्ने न हुन् ।
विश्वमा अधिकांशले बुझ्ने भाषासमेत प्रयोग गरेर अन्तर्राष्ट्रिय मार्केट खोज्ने बेला भएको छ । त्यो पहल कहीँकतैबाट भएको पाइँदैन । चलचित्रको गुणात्मकतालाई बढी ध्यान दिनुपर्छ । हाम्रोमा राजनीति र चलचित्रमा सजिलै प्रवेश पाउने अवस्था छ । त्यसैले राजनीति होस् या चलचित्र, झ्न–झन् बिग्रँदो अवस्थामा छन् । चलचित्र हेर्दा र मिडियाबाट थाहा पाउँदा यो क्षेत्रमा बौद्धिक वर्गको कमी भएझैँ लाग्छ । यहाँ चलचित्रसम्बन्धी पढाइ हुने विश्वविद्यायल छैन, मेहनतपूर्वक अध्ययन गराउने परिपाटी पनि छैन । त्यसैले सर्वप्रथम त चलचित्रसम्बन्धी सम्पूर्ण ज्ञान दिलाउने विश्वविद्यालयको विकास गर्नुपर्‍यो ।
चलचित्र समाजको ऐना हो, जसले समाजलाई बाटो देखाउँछ । समाजमा जागरण पैदा गर्ने सशक्त माध्यम पनि हो । यो माध्यम अहिले झन् धराशयी हुँदै जानुमा यसमा संलग्न व्यक्तिहरूको पनि कमजोरी हो कि जस्तो लाग्छ । किनभने दर्शक रुचि पढेर चलचित्र बनाउने ट्रेन्ड चलेकै छैन । निर्माताले पैसा खर्च गर्ने र निर्देशकले अँध्यारोमा ढुंगा हान्ने काम भएको छ । कहिले निसाना लाग्छ त कहिले लाग्दैन । त्यसैले पनि चलचित्रबाट कमाउनेभन्दा गुमाउने धेरै बनेका । चलचित्र उद्योगलाई उँभो लगाउने भन्दा पनि सोख र मोजमस्तीका लागि लगानी गर्नेको संख्या बढेको छ ।
मेहनत नगरी अभिनेता/अभिनेत्री बन्ने, चर्चित हुन खोज्ने धेरै छन् । ग्ल्यामरको साटो भल्ग्यारिटी प्रस्तुत गर्ने धेरै छन् । मैले अभिनय त गरेको छैन तर कसैले अफर गर्‍यो भने सामाजिक चेतना फैलाउने खालका भूमिकामा खेल्न सक्छु । बलिदान, वसन्ती, प्रेमपिण्ड मलाई मन परेका चलचित्र हुन् । यी चलचित्रले हाम्रो परम्परा र रीतिरिवाजको उठान गरेका छन् । पछिल्लो समय चलचित्र लुट र चपली हाइटले दर्शक बढाए भन्ने सुनेको छु । नयाँ विषयमा चलचित्र निर्माण हुनुपर्छ तर छाडा हैन, सभ्य तरिकाले ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया