भण्डारीले राजीनामा दिने


काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले पदबाट राजीनामा दिने बताएका छन् । उनले आज मंगलबार सूचना तथा सञ्चार मन्त्रीसमक्ष राजीनामापत्र बुझाउने तयारी गरेका छन् । १३ महिनाअगाडि एनेकपा (माओवादी) बाट बोर्ड अध्यक्ष नियुक्त भएका भण्डारीले पार्टीको आन्तरिक कलहका कारण राजीनामा दिन लागेका रहेछन् । भने, ‘पार्टीमा निकै समय दिनुपर्ने भयो, म एनेकपा माओवादीको जनसांस्कृतिक मञ्चको उपाध्यक्ष पनि हुँ, यसको महाधिवेशन नजिकिँदै छ ।’ त्यसो त बोर्डमा सरकारले नियुक्त गरेको टिम राम्रो नभएको र विकास बोर्डलाई स्वायत्त बनाउने योजना भनेजसरी अगाडि नबढ्नाले पनि अब आफूलाई बोर्डमा बसिरहन मन नलागेको उनले प्रस्ट्याए ।
दुईपटक बोर्ड अध्यक्ष बनेका भण्डारीको कार्यकालमा भएका केही राम्रा कामका कारण उनको लोकप्रियता पनि बढेको छ । दोस्रो कार्यकालमा उनले चलचित्र क्षेत्रका विभिन्न महत्त्वपूर्ण मुद्दालाई राष्ट्रियस्तरमा बहसको विषय बनाएका थिए । पदमा नरहे पनि आफूले उठाएका मुद्दा स्थापित गर्न संघर्ष भने जारी राख्ने उनले बताए । भण्डारीले राजीनामाको योजना सार्वजनिक गरेलगत्तै बोर्ड अध्यक्ष बन्न चलचित्रकर्मीबीच कसरत सुरु भइसकेको छ । (सौस)

प्रतिक्रिया