बिहे गर्दै पैसा लुट्दै

केरला : ठग, धोकेबाज, विश्वासघाती । यस्ता शब्द सुन्नासाथ कुटिल पुरुषको चित्र धेरैको कल्पनामा बन्ने गर्छ । तर, भारतको केरला राज्यकी एक महिलाको कथा भने यस्तो आमधारणा परिवर्तन गराउने खालको छ ।
प्रेममा युवतीले धोका दिएको सुनिने गरे पनि श्रीमतीले घरमै लुटपाट मच्चाएको प्रसंग धेरैका लागि नौलो हुनसक्छ । केरला निवासी ३३ वर्षीया सहनाजले करिब एक दर्जन युवकको मन मात्रै तोडेकी छैनन्, उनीहरूको खल्तीसमेत रित्याएर बेपत्ता भएकी छन् ।
अनेक मान्छेसँग लोलोपोतो गर्दै विवाह गरेर उनीहरूको सम्पत्ति कुम्ल्याई बेपत्ता हुनुलाई उनले आफ्नो पेसा बनाएकी छन् । पछिल्ला केही वर्षयता उनले करिब दर्जन युवकको कोमल मन र सम्पत्ति ध्वस्त गरिसकेकी छन्, जसकारण अहिले प्रहरीले उनलाई धुइँपत्ताल खोजिरहेको छ । उनले ५० भन्दा बढीसँग विवाह गरेको चर्चा चले पनि सरकारी अधिकारीले १५ वटा विवाहको प्रमाण मात्रै जुटाउन सकेका छन् ।
सहनाजले ११ वर्षअघि सिद्दिक नाम गरेका युवकसँग विवाह गरेकी थिइन् । सिद्दिकबाट उनले एउटा बच्चालाई जन्मसमेत दिइन् । उनले दर्जनौँ मानिसलाई धोका दिएको तब मात्रै खुल्यो जब उनीबाट पीडित दुई युवकले प्रहरीमा उजुरी गरे । अहिलेसम्म सातजना पूर्वश्रीमान्ले उनीविरुद्ध उजुरी हालिसकेका छन् ।
मनिकन्दन नाम गरेका २४ वर्षीय पठ्ठो काम गर्ने कार सोरुममा एक दिन अबोध देखिने एउटी युवती आइन् र भनिन्, ‘मेरो साथीलाई विवाहको आश्वासन दिएर बेपत्ता हुने धोकेबाजलाई खोजिरहेकी छु ।’ भारतीय दैनिक पत्रिका इन्डियन एक्स्प्रेसका अनुसार उनीहरूबीच टेलिफोन नम्बर आदानप्रदान भयो र यसले दुवैलाई एकअर्काको घनिष्ट बनायो । ती महिलाले आफूलाई टुहुरी बताइन् र मनिकन्दनको मन जितिन् । दुईबीच गत अप्रिलमा विवाहसमेत भयो । लोकसेवाको परीक्षाको तयारीका लागि ‘गर्ल होस्टेल’मा बसेर अध्ययन गर्ने मनसाय ती महिलाले श्रीमान्समक्ष व्यक्त गरेपछि भएभरका गरगहना बेचेर मनिकन्दनले उनलाई होस्टलमा राखे । तर, पैसा कुम्ल्याएर उनी बेपत्ता भइन् । यसरी बेपत्ता हुने युवती तिनै सहनाज थिइन् ।
प्रहरीले अनुसन्धान अघि बढाएपछि लोकसेवा तयारी गर्ने युवतीको ढोँग रचेर उनले प्रशन्न नाम गरेका जिल्लास्तरीय भलिबल खेलाडीलाई पनि विवाह गरेर झुक्याएको खुलासा भयो । सहनाजलाई पत्नी दाबी गर्ने अर्का युवक त्यतिबेलै प्रशन्नको सम्पर्कमा आएका थिए । तर, प्रहरीलाई केरकार गर्न लगाएर उनले सुरेश नाम गरेका ती युवकलाई धपाए । यसबाहेक राजेश, चन्द्रबाबु, सरभनन नाम गरेका युवकलाई समेत सहनाजले विवाहको ढोँग रची धोका दिएको खुल्यो । सहनाजलाई पूर्वपत्नी दाबी गर्ने पुरुषको संख्या निरन्तर थपिँदै गएको बताइएको छ । (डेलिमेल)

प्रतिक्रिया