लडाकु भर्ना छनोट २१ भदौबाट

काठमाडौं, १२ भदौ । समायोजन रोजेका माओवादी लडाकुहरूको छनोट र भर्ना प्रक्रिया २१ भदौबाट सुरु हुने भएको छ । सोमबार बसेको लडाकु समायोजन विशेष समितिको बैठकले लडाकुहरूको उमेरसम्बन्धी विवाद समाधान गर्दै नागरिकताको उमेरलाई मान्यता दिने निर्णय गरेको हो ।
समितिको बैठकले गरेको निर्णयअनुसार २१ भदौमा विशेष समितिको सचिवालयले लडाकु छनोट समितिको समन्वयमा समायोजनमा जाने लडाकुहरूको भर्ना छनोट गर्नेछ । नागरिकताको उमेरलाई आधार मानेर लडाकुको उमेरसम्बन्धी विवादलाई विशेष समितिले टुंग्याएको विशेष समितिका सदस्य तथा कांग्रेस नेता डा. रामशरण महतले बताए । उनले भने, ‘नागरिकतामा उल्लिखित जन्ममितिलाई नै मान्यता दिएर उमेरसम्बन्धी विषयको टुंगो लगाइएको छ,’ नेता महतका अनुसार उमेर नपुगेका लडाकुका हकमा नागरिकताका आधारमा १८ वर्ष उमेर पुगेको दिनलाई नै लडाकुमा भर्ना भएको मिति मानिनेछ । अनमिनमा दर्ता गराइएका बेला उल्लिखित उमेर र लडाकुमा भर्ना मिति तथा नागरिकतामा उल्लेख गरिएको उमेरको फरकबीच विवाद आएपछि गत असारमै समायोजन प्रक्रिया रोकिएको थियो ।
विशेष समितिको सोमबार बसेको बैठकले लडाकुहरूको आत्मसम्मानमा चोट नपुग्ने गरी समायोजन पक्रिया अघि बढाउने पनि निर्णय गरेको छ । यसैगरी, लडाकुहरूको शिक्षामा भने यसअघिको निर्णयअनुरूप एक तह लचकता नअपनाउने निर्णय दोहोर्‍याएको छ । लडाकुहरूको छनोट गरी भर्ना प्रक्रिया सकिएपछि समायोजन रोजेका लडाकुलाई ४५ दिन बिदा दिइने निर्णय विशेष समितिले गरेको छ । सो अवधिमा उनीहरूले पाउँदै आएको तलब र रासन–भत्ता पाउनेछन् भने त्यसपछि नेपाली सेनाको रासन–भत्ता उलब्ध गराइनेछ । विशेष समितिको बैठकले अवकाश रोज्ने लडाकुलाई रकम दिएर घर पठाउन पनि सचिवालयलाई निर्देशन दिइएको छ । भर्ना छनोट प्रक्रिया पूरा गरेपछि लडाकुको संख्यालाई ३५ प्रतिशत मानेर महानिर्देशनालय गठन गरिनेछ । छनोट प्रक्रिया पूरा भएपछि नै दर्जा निर्धारणसम्बन्धी निर्णय हुने बताइएको छ ।
२८ चैतमा बसेको विशेष समितिको बैठकले समायोजनसम्बन्धी निर्णय गरे पनि उमेर शैक्षिक योग्यताका विषयमा विवाद उत्पन्न भएपछि समायोजन प्रक्रिया रोकिएको थियो । करिब तीन हजार माओवादी लडाकुले समायोजन रोजेका थिए । संविधानसभा विघटनपछि समग्र राजनीतिक विषयमा दलहरूबीचको सम्बन्ध चिसो भएपछि समायोजन प्रक्रिया थप अलमलमा परेको थियो । आइतबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले समग्र राजनीतिक विषयमा सोमबारबाटै सार्थक संवाद आरम्भ गर्ने र विशेष समितिको बैठक बसी समायोजन प्रक्रिया अघि बढाउने सहमति गरेपछि सोमबार भर्ना छनोटको मिति तय भएको हो ।

प्रतिक्रिया