नक्कली मेडिकल रिपोर्ट बनाउनेलाई कारबाही

काठमाडौं, ११ भदौ । स्वास्थ्य परीक्षण नै नगरी वैदेशिक रोजगारीमा जाने कामदारको नक्कली मेडिकल रिपोर्ट बनाउने करिब तीन दर्जन स्वास्थ्यसंस्थालाई सरकारले कारबाही सुरु गरेको छ । रोजगारीका लागि जाने कामदारको स्वास्थ्य स्थितिको परीक्षणविना नै नक्कली मेडिकल रिपोर्ट बनाउने ३२ स्वास्थ्यसंस्थालाई सरकारले कारबाही सुरु गरेको हो ।
रोजगारीमा जाने कामदारको गलत मेडिकल रिपोर्ट बनिरहेको सूचना पाएपछि वैदेशिक रोजगार विभागले स्वास्थ्यसंस्थामा गरेको अनुगमनपछि गैरकानुनी रूपमा रिपोर्ट बनाउनेलाई कारबाही सुरु गरेको हो । वैदेशिक रोजगार विभागले करिब एक महिनाअघि अनुगमनका क्रममा नक्कली रिपोर्ट बनाउने ३२ संस्थालाई कारबाहीका लागि श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको विषेश समितिमा सिफारिस गरेको र अहिले स्वास्थ्य मन्त्रालयले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
ती स्वास्थ्यसंस्थाले तीन सय एक नेपाली कामदारको नक्कली रिपोर्ट बनाएको विभागले अनुगमनका क्रममा फेला पारेको थियो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको चिकित्सकसहितको विशेषज्ञ समितिले त्यस्ता संस्थाबारे सत्यतथ्य बुझ्न स्थलगत अनुगमन मापदण्ड तयार गरेको र स्वास्थ्य मन्त्रालयले समेत प्रक्रिया अघि बढाएको छ ।
विभागका निर्देशक काशीराज दाहालले स्वस्थ्य परीक्षणमा गलत रिपोर्टिङ गर्ने स्वास्थ्यसंस्थालाई सरकारले आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिएको र मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए । उनले ती संस्था दोषी ठहरिएमा कडा कारबाही हुने जनाए ।
‘गलत रिपोर्ट दिने स्वास्थ्यसंस्थालाई सरकारले कारबाही सुरु गरिसकेको छ,’ उनले भने, ‘तिनले दिएको रिपोर्टिङ फायल अहिले अध्ययनका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।’ ती संस्थालाई अध्ययनपछि प्रचलित ऐनअनुसार हदैसम्मको कारबाही हुने उनले जनाए । दाहालका अनुसार कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारबाट अनुमति लिएका ती संस्थाको अनुमति खारेज हुने र दोषी सञ्चालकलाई दण्ड–जरिबाना सरकारले गर्नेछ ।
स्वास्थ्यसंस्थाले दिएको गलत रिपोर्टका आधारमा विदेश गएका कामदार त्यहाँ पुगेपछि स्वास्थ्य समस्याले फर्कनु पर्ने तथा उनीहरूले त्यही कारण अन्य समस्या झेल्नुपर्ने हुन्छ । यसले कामदारलाई ठगी गर्ने काममा स्वास्थ्यसंस्थासमेत देखिएकाले उनीहरूमाथि कारबाही गरेरै छाड्ने सरकारको तयारी रहेको श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले बताए ।
ती संस्थाले गरेको रिपोर्टमा अधिकांश कामदारको परीक्षण विवरण समान पाइएको विभागले जनाएको छ । ३६ जनाको हेमोग्लोबिन शून्य रहेको, २५ भन्दा बढी कामदारको हेमोग्लोबिन ५ दशमलव ५ प्रतिशत र उचाइ/तौल एउटै पाइएको विभागले जनाएको छ । उनीहरूले कामदारको स्वास्थ्य परीक्षणविना नै गलत रिपोर्टिङ गरेकाले मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सरकारले कडा कारबाही गर्ने जनाएको छ ।
स्वास्थ्यसंस्थाको रिपोर्टिङ सरासर झुट रहेको विभागको दाबी छ । चिकित्सकका अनुसार हमोग्लोबिनको मात्रा ४ प्रतिशत हुँदासमेत मान्छे हिँडडुल गर्न सक्दैन । विभागले प्राविधिक विषय भएकाले कारबाहीका लागि समितिसमक्ष पठाएको जनाएको हो ।
व्यवसायी स्वयंले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकलै नगरी नक्कली रिपोर्ट पेस गरेको स्वीकार गरिसकेका छन् । कतिपय म्यानपावर कम्पनीले कामदारको स्वास्थ्य परीक्षण नगरी मेडिकल रिपोर्ट बनाएर विभागमा बुझाउने गरेका छन् । कामदारले विदेश जान अन्तिम श्रम स्वीकृतिका लागि स्वास्थ्यस्थिति अनिवार्य रूपले राम्रो हुनुपर्छ । यता नेपाल स्वास्थ्य व्यवसायी महासंघले म्यानपावर व्यवसायीले मेडिकल रिपोर्ट चाहियो भनेकै भरमा स्वास्थ्यसंस्थाले धमाधम रिपोर्ट उपलब्ध गराउने गरेको भन्दै त्यस्ता स्वास्थ्यसंस्थालाई कारबाही हुनुपर्ने र संस्था सबै एकैनास नहुने भन्दै सरकारले सत्यतथ्य पत्ता लगाएर मात्र करबाही गर्नुपर्ने महासंघले जनाएको छ ।

नक्कली रिपोर्ट दिने स्वास्थ्यसंस्था
सिरत मेडिकल सेन्टर
अल्का पोलिक्लिनिक
मधुहोम काउन्सिल सेन्टर
सभ्य मेडिकल सेन्टर
वल्र्डवाइड मेडिकल सेन्टर
सुधा हेल्थकेयर सेन्टर
एसियन राय केयर
सिद्धकाली मेडिकल
नेपाल सिद्धार्थ सदन
मधु हेल्थ सेन्टर बूढासुब्बा
पूर्णचन्द्र डाइग्नोस्टिक
नेपाल सिद्धा अल्का
हवान मेडिकल
रिलायन्स मेडिकल सेन्टर
अखण्ड मेडिकल सेन्टर
हेल्दी मेडिकल सेन्टर
एसिया प्यासिफिक मेडिकल
भानु मेमोरियल मेडिकल
बूढासुब्बा मेडिकल सेन्टर
पाथीभरा मेडिकल सेन्टर
पूर्णिमा मेडिकल सेन्टर
मेडिकेयर मेडिकल सेन्टर
एसिया पोलिक्लिनिक मेडिकल
उपत्यका मेडिकल सेन्टर
ओरेक मेडिकल सेन्टर
चेतना मेडिकल सेन्टर
युनिभर्सल मेडिकल सेन्टर
सोसल मेडिकल सेन्टर
ओम पोलिक्लिनिक मेडिकल
हिमालयन समृद्धि मेडिकल
सिलिङ मेडिकल सेन्टर
स्रिस्टा मेडिकल सेन्टर

प्रतिक्रिया