‘उत्तरपूर्वी भारतमा अस्थिरता कायम गर्न चीन उद्यत’

नयाँदिल्ली : चीनसँग सीमा जोडिएको उत्तरपूर्वी भारतमा अस्थिरता कायम गर्न चीन क्रियाशील रहेको आरोप पश्चिमका एक वरिष्ठ लेखकले लगाएका छन् । स्विडेनका विख्यात लेखक तथा पत्रकार बेर्टिल लिन्टरले भूराजनीतिसम्बन्धी आफ्नो नवप्रकाशित पुस्तक ‘ग्रेट ग्याम इन इस्ट’ मा उत्तरपूर्वी भारतमा अस्थिरता सिर्जना गर्न नभई अस्थिरता काम गर्न चीनले भूमिमा खेलिरहेका आरोप लगाएका हुन् ।
पुस्तकमा उनले हिन्द महासागरमा चीनले सबैभन्दा बढी छद्म हस्तक्षेप गरेको उल्लेख
गरेका छन् । हिन्द महासागरमा रणनीतिक लाभ हासिल गर्ने
दिशामा चीन अग्रसर भएको उनको कथन छ । सुदूरपूर्वी राष्ट्रको अर्थतन्त्रबारे वर्षौदेखि कलम चलाउँदै आएका उनले यसलाई ‘पूर्वमा जारी विस्मयकारी खेल’को संज्ञा दिएका छन् । उनी म्यानमारका विज्ञसमेत मानिन्छन् ।
‘औपनिवेशकालमा पूर्वको विस्मयकारी खेलका खेलाडी रुस, अफगानिस्तान र भारतमा रहेको बेलायती साम्राज्य थिए । खेलको मुख्य भाग रुसले निर्वाह गरेको थियो, जो हिन्द महासागरसम्म
पुग्न चाहन्थ्यो र ऊ बेलायतलाई बाटोबाट हटाउन चाहन्थ्यो,’ उनले भनेका छन् । औपनिवेशकालको समाप्तिपछि चीन, म्यानमार र भारतबीच ‘पूर्वको विस्मयकारी खेल’ केन्द्रित भएको उनको
जिकिर छ ।
पुस्तक प्रकाशित भएपछि प्रकाशित एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकीले तिब्बतको स्वतन्त्रताको पक्ष लिन थालेपछि चीनले सन् १९५० मा तिब्बतमाथि हमला गर्‍यो । सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर भारतमा आश्रय लिन पुगे जसले चीनलाई रुष्ट बनायो । लगत्तै सन् १९६२ मा चीनले भारतमाथि आक्रमण गर्‍यो । सन् ६० को बीचतिर चीनले उत्तरपूर्वी भारतका विद्रोहीलाई सहयोग गर्ने निश्चय गर्‍यो । उत्तरपूर्वी भारतप्रति पाकिस्तान पनि आकर्षित छ ।’
म्यानमार र बंगलादेशसँग सीमा जोडिएको भारतको उत्तरपूर्वी क्षेत्रमा उल्फा, बोडोलगायत विभिन्न आदिवासी समुदायले अलग राष्ट्रको माग राख्दै सशस्त्र विद्रोह चलाउँदै आएका छन् । यदाकदा भारतीय मिडियामा यस क्षेत्रको विद्रोहमा चीनको संलग्नता रहेको आरोप लगाइए पनि यसको पुष्टि हुनसकेको छैन । (एजेन्सी)

प्रतिक्रिया