पति र ससुरा मिलेर उन्तिमा देवीको हत्या

पर्सा, १० भदौ । पर्सा जिल्लाको जगन्नाथपुर–५ स्थित सुदपुरमा उन्तिमादेवी महतोलाई उनकै पति र ससुराले हत्या गरेर जलाएका छन् ।
२० बर्षीया उन्तिमा देवीलाई भदौ–६ गते राति उनकै पति रामेश्वर महतो लोनिया र ससुरा सीताराम महतोले कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
उनीहरुले उन्तिमादेवीको हत्या पछि घरदेखि झण्डै १ किलो मिटर टाढा उत्तरमा पर्ने भलुवाई नदीको किनारमा सोही राति शव जलाएका थिए ।
ढिलो सूचना पाएको प्रहरीले सो स्थानमा भदौ–८ गते पगेर घटनास्थलबाट शवका जलेका टुक्राहरु बरामद गरेको थियो ।
सो स्थानबाट शव जलाएको जस्तो खरानी तथा कोईला, कानमा लगाउने सुनको जस्तो टप १ थान, घाँटीमा लगाउने मालाको दाना ५ वटा, हातको जलेको टुक्रा तथा जलेको जुटको टुक्रा फेला पारेको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले भदौ–९ गते उनीहरुको घर तलासी गर्दा टिनको ड्रममा लुकाई राखेको अवस्थामा अंदाजी ५५ किलो लागूऔषध गाँजा समेत बरामद गरेको छ ।

प्रतिक्रिया