अर्गानिक खेतीका लागि नाटक

ललितपुर : ललितपुरको हरिसिद्धिमा किसानहरू बारीमा काम गरिरहेका थिए । उनीहरूकै साथमा थिए, केही राष्ट्रिय कलाकार पनि । उनीहरू किसानलाई सन्देश बाँड्दै थिए– ‘अर्गानिक खेती गर्नुस् है, रासायनिक मलविनाको अर्गानिक खानाले मात्रै स्वास्थ्य राम्रो बनाउँछ ।’ हास्य कलाकारहरू सुरवीर पण्डीत, पल्पसा डंगोल ‘चम्सुरी’ र निरु खड्कालगायत केही कलाकार शनिबार यसै भनिरहेका थिए । उनीहरूलाई घेरिरहेको भिड उनीहरूका कुरा उत्सुकतापूर्वक सुनिरहेको त थियो नै, मनोरञ्जन पनि लिइरहेको थियो । यी कलाकार नाटकमार्फत सन्देशसँगै मनोरञ्जन पनि दिलाउँदै थिए । तरकारी तथा फलफूलमा रासायनिक मलको प्रयोग बढ्दा आममान्छेको स्वास्थ्यमा विभिन्न रोग देखापर्न थालेको भन्दै यी कलाकारले अर्गानिक खेतीले मानिसलाई दीर्घजीवी बनाउने सन्देश बाँडे । वल्र्ड भिजन इन्टरनेसनलको सहयोगमा इकार्ड्स नेपालले आयोजना गरेको यो नाटक भक्तपुरमा पनि प्रदर्शन भइसकेको बताइएको छ । अस्मीता विष्ट प्रशिक्षार्थी

प्रतिक्रिया