पहिरो नरोकिएपछि ६ परिवार विस्थापित

जाजरकोट, १० भदौ । आठ वर्षदेखि लगातार पहिरो खसेपछि पुन्मा–५, भेरे गाउँस्थित पौरेना टोलका ६ परिवार विस्थापन भएका छन् । घरमुनि रहेको उत्तिसघारी र खेतबारी पहिरोले बगाएपछि उनीहरू विस्थापन भएका हुन् । पहिरो रोकथामका लागि पहल नभए टोल नै विस्थापन हुने देखिएको छ ।

पहिरो खस्ने क्रम नरोकिएपछि ललित नेपाली, वीरबहादुर नेपाली, मानबहादुर नेपाली, प्रताप नेपाली, कालिभाने खत्री र भरत खत्रीका परिवार विस्थापन भएका हुन् । उनीहरू अहिले घरभन्दा टाढा गाउँमै रहेको जग्गामा गोठ हालेर बस्दै आएको वीरबहादुरले बताए । ‘घरको आँगनमै पहिरो जान थालेपछि घर छोड्न बाध्य भएका हौँ,’ उनले भने । वर्षाको समय गोठ चुहिएर सास्ती खेपेको कालिभाने खत्रीले जानकारी दिए । ‘एकातिर गोठमा बस्दा सर्पको डर छ,’ उनले थपे, ‘अर्कातिर गोठ चुहिएर बस्नै सकिन्न ।’ गोठको वासले सबैभन्दा बढी बालबालिका प्रभावित छन् ।
पहिरोले ललितको तीन रोपनी, वीरबहादुरको चार रोपनी, मानबहादुरको तीन रोपनी, प्रतापको दुई रोपनी, कालिभानेको दुई रोपनी र भरतको चार रोपनी खेतबारी पनि बगाएको छ । घरमुनिको माटो कमजोर भएकोले पहिरो नरोकिएको पीडितको भनाइ छ । यस्तै पहिरोले खानेपानीको मुहान बगाएपछि धनारी टोलमा खानेपानीको अभाव
भएको छ ।
वर्षेनी गइरहेको पहिरो रोक्न पटकपटक आग्रह गरे पनि कतैबाट सहयोग नभएको उनीहरूले बताए । गाउँ विकास समितिका सचिव वीरबहादुर चन्दले तीनवटा गाउँपरिषद्बाट पहिरो रोकथामका लागि लगातार निर्णयहरू पास गरी पठाए पनि सम्बन्धित निकायले ध्यान नदिएको बताए । पहिरो रोकथामका लागि तारजालीको माग गरिए पनि उपलब्ध नभएको उनले बताए ।

प्रतिक्रिया