राष्ट्रपतिको विरोध गर्नेहरु सर्वसत्तावादी

काठमाडौं, ९ भदौं । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले कामचलाउ सरकारका प्रधानमन्त्री बाबराम भट्टराईलाई पद त्याग्न दिएको दबाब राष्ट्रिय सहमतिका लागि रहेको दाबी गरेका छन् ।
भक्तपुरको कटुञ्जेमा आज गणेशमान सिंह स्मृति बाटीकाको तेस्रो साधारणसभाको उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिका लागि भट्टराईले पद त्याग गर्नै पर्ने बताए ।
‘कांग्रेसले प्रधानमन्त्रीलाई पद त्याग गर्न दबाब दिनुको उदेश्य राष्ट्रिय सहमतिका लागि हो,’ उनले भने, ‘व्यक्ति विशेषलाई अर्को प्रधानमन्त्री बनाउनलाई गरिएको होइन ।’ सिंहले प्रधानमन्त्रीले पद त्याग गरे राजनीतिक सहमति निकाल्न सहज हुने उल्लेख गरे ।
राष्ट्रपति डा.रामवरण यादवले अध्यादेश अस्वीकृत गरेर मुलुकलाई एमाओवादीको सर्वसत्तावादबाट जोगाएको उनले बताए ।
अध्यादेश रोक्ने राष्ट्रपतिको कार्यलाई विरोध गर्नेहरु एमाओवादीको सर्वसत्तावादलाई समर्थन गर्नेहरु मात्रै रहेको आरोप लगाउँदै महामन्त्री सिंहले भने, ‘संविधानको रक्षक र पालकका रुपमा राष्ट्रपतिले लिएको निर्णय ठीक छ ।’
सिंहले मुलुकमा सरकार रहेको अनुभूति जनताबाट हटिसकेको बताए । उनले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले महँगी र कालोवजारी हटाउन सक्दैन ।’
भ्रष्टाचारमा लिप्त सरकारले कालोवजारी गर्ने व्यापारीलाई कारबाही गरेर जनतालाई मूल्य बृद्धिको राहत दिन नसक्ने उनले दाबी गरे । उनले भने, ‘सरकारका मन्त्रीहरुको भ्रष्ट चरित्रका कारण मूल्य बृद्धिको मार खेप्नु परेको छ ।’

प्रतिक्रिया