पैसाले मात्र चल्दैन समाज

‘स्वार्थ’ का लागि मानव मस्तिष्क होइन, ‘जिन’ जिम्मेवार हुन्छ । मुम्बईका मनोवैज्ञानिक सञ्जय मुखर्जी भन्छन्– ‘तर, विडम्बना छ कि स्वार्थको प्रभाव हाम्रो सोच र मानसिकतामा पर्छ । हाम्रो संवेदना र व्यवहारमा जोडिएको समस्यामा वृद्धि हुँदै गएको छ र सुखको स्तरमा कमी हुँदै गएको छ । हामीसँग यस्ता परिवार, यस्ता साथी छन्, जसबीच दरार (फाटो) छ र भावना कठोर हुँदै गएको छ । यो यति प्रबल हुन्छ कि एकसाथ एउटै स्थानमा रहनु वा घन्टौँ सँगै रहनुले मात्रै पनि मन जोडिँदैन । यस्तो हुनु संवेदनाको ह्रास हुनु हो, जसले हामी र हाम्रा सम्पर्कमा आउने सबै मान्छेलाई बिरामी बनाइदिन्छ ।’ युनिभर्सिटी अफ ओक्लोहामाका मनोविज्ञान र दर्शनशास्त्रका प्रोफेसर निरा बधबारका अनुसार, यो हाम्रो पुनर्मूल्यांकनको समय हो र हामीले भौतिक सुविधाको पछि लाग्नुभन्दा संवेदनालाई अधिक महत्त्व र प्राथमिकता दिनुपर्छ । अन्यथा यो संक्रमण घातक हुन सक्छ, यो हाम्रो समाज र मूल्यको अस्तित्वका लागि नै खतरा बन्न सक्छ । विभिन्नखाले लोकेसनको निर्माता हो हाम्रो समाज । यसपटक त्यही समाजलाई लोकेसनमा लिइएको छ, जसमा मानिसलाई आर्थिक तुलोले मात्र जोख्न मिल्दैन ।
सन् २०२५ मा उपभोक्तावाद र व्यक्तिवाद प्रमुख शक्ति हुनेछन् र गरिबीलगायत अन्य समस्या नगण्य हुनेछन् । यो कुनै कोरा भविष्यवाणी होइन, बरु समाज र त्यसका सदस्यहरूको बदलिँदै गएको मनोवृत्तिको लक्षण हो । यस्तो संकेतले चारित्रिक पतनको बाटो फराकिलो पार्दै छ । यस्तो बाटोमा मान्छे आफ्नै मात्र हितको चिन्ता गर्छ, अरू कुनै चिज देख्दैन । यसमा अग्रज पुस्ताका मूल्यको कुनै गुञ्जाइस रहने छैन । कुनै मानिससँग कसैको भेटका पछाडि स्वार्थ मात्रै निहित रहेको हुनेछ । त्यतिबेला मान्छे स्वार्थको र स्वार्थ मान्छेको हातको खेलौना भएका हुनेछन् ।
जिन्दगीको दौडमा हामी सबै सफलताका लागि संघर्ष गर्छौं । प्रतिस्पर्धा उद्भवको केन्द्र हो । भौतिकवाद र स्वार्थको व्यापकताले समाज र उसको घरमा आउनेवाला हरेक व्यक्तिलाई घेरेर राखेको छ । हरेक दिन समाजमा यस्तो देखिन्छ, जहाँ मान्छे हरेक दोस्रोको आवश्यकताको ख्याल नराखीकन आफ्नै हितको खातिर काम गरिरहेको हुन्छ । आजको पुस्ता, पुरानो पुस्ताको तुलनामा अधिक पैसामुखी छ । परिवार, जागिरदेखि लिएर सम्बन्धमा अगाडि जाने सोच, प्रतिभाको सफल प्रदर्शन, परिस्थिति निर्माणदेखि समस्या समाधान गर्ने कुशलता कुनै यस्ता बदलाव हुन्, जुन पिँढीको लामो अन्तरालपछि अब देखिन थालेको छ । मान्छेहरू कडा मेहिनेत गर्छन् र एउटा अल्छी जीवनशैली रुचाउँछन्, तर कहीँ न कहीँ सन्तुलन बिग्रिरहेको छ । पैसा भएर पनि असहाय, अपांग र दु:खी–गरिबलाई सहयोग नगर्नु अनि जरुरी नभईकन पनि महँगा गाडी किन्नु, आफ्नो उद्देश्यलाई मात्र प्राथमिकतामा राख्नु केबल स्वार्थी बन्नुको उदाहरण त हो नै, सँगै दूरदर्शिताको संकुचन पनि हो । मान्छे सोच्छ, यी सब कामले उसलाई ‘ठूलो मान्छे’ बनाउँछ । उपभोक्तावाद, एक्लै अगाडि बढ्ने प्रवृत्ति, समाजदेखिको दूरीलाई यही सोचले बढावा दिन्छ र हामी पूर्णतया आँखा चिम्लेर यसको अनुसरण गरिरहेका छौँ ।
ब्रिटेनमा १९९४ मा ‘हेनले सेन्टर हेडलाइट भिजन’द्वारा गरिएको एउटा शोधले ‘सन् २०२५ मा उपभोक्तावाद र व्यक्तिवाद प्रमुख शक्ति हुनेछन्’ भन्ने भनाइलाई पुष्टि गर्छ । त्यस अनुसन्धानले ‘स्वार्थ’को पनि तीन परिदृश्यको उल्लेख गरेको छ । आफ्नो परम्परा र मूल्यलाई माया गर्न र परम्पराप्रति सम्मान भाव राख्नका लागि सदैव प्रयत्नशील रहने ब्रिटेनवासीहरूमा जब शोध गरियो, त्यसबेला पूर्वधारणाको ठीक उल्टो पहिलोपटक मान्छेले निजी जीवनलाई प्राथमिकता दिन थालेको नतिजा निस्कियो । निष्कर्षअनुसार, ब्रिटिसमूलका मान्छेले समुदायको तुलनामा आफ्नो जीवनको गुणवत्तामा ध्यान दिन सुरु गरेका थिए । शोधमा आगामी बीस सालपछाडि ब्रिटेनको समाज कहाँ होला भन्ने कुरा परीक्षण गर्ने कोसिस गरिएको थियो । निष्कर्ष थियो– अग्रज पुस्ताको मूल्य र योगदानको महत्त्व हुनेछ भन्ने कुनै ग्यारेन्टी छैन । पहिलो परिदृश्यअनुसार, आउने समयमा उपभोक्तावादी संस्कृति अत्यधिक मजबुत हुन्छ, नैतिक पतन भएको मुख्य धार प्रबल हुन्छ र मान्छेहरू अन्तर्राष्ट्रिय मुद्दासँग कम जोडिन्छन् । अधिकांश मान्छेसँग अधिकतम नयाँ शैलीका घर हुन्छन् र उनीहरू आफ्नो बरन्डा, भान्साकोठा र बैठक कोठाको मर्मत–सम्भार चारदेखि ६ सातामा मात्रै गर्छन् । दोस्रो परिदृश्यमा, ‘माइ होम माइ क्यासल’मा मान्छे एकअर्कासँग व्यापक शंका गर्छन् र सरकारलाई अन्तर्राष्ट्रिय मुद्दामा ध्यान दिनुको साटो पूरै ध्यान ब्रिटेनमा मात्रै दिन प्रोत्साहन गर्छन् र तेस्रो परिदृश्यका अनुसार, मान्छेहरू स्थानीय मुद्दामा अत्यधिक ध्यान दिन्छन्, सबै निकै घमन्डी बन्दै जान्छन् । गरिबीलाई अमान्य ठानिन्छ ।
नि:सन्देह प्रतिस्पर्धा र अगाडि रहने प्रवृत्तिले हाम्रो डिएनएमा अधिक स्थान पाएको छ । हामी हरेक दिन पहिलेभन्दा धेरै स्वार्थी हुँदै गइरहेका छौँ, तर जीवनका अरू सत्यजस्तै ‘स्वार्थी’ हुनुलाई पनि हामी पूरै गलत हो भनेर साबित गर्न सक्दैनौँ । रजनीश (ओशो) ले ‘स्वार्थ’ को सकारात्मक पक्ष सम्झाएका छन् । उनी भन्छन्– ‘स्वार्थ शब्द बडो प्यारो छ, तर गलत हातमा परेको छ । स्वार्थको अर्थ हो– आत्मार्थ, आफ्नो सुख अर्थात् ‘स्व’ को अर्थ । यसमा नराम्रो भनिहाल्नुपर्ने कुरा छैन । जो आफ्नो हुँदैन, ऊ कसरी अरू कसैको हुन सक्छ ? दोस्रो, कसैलाई प्रेम गर्नुभन्दा अघि आफैँलाई प्रेम गर । सही अर्थमा स्वार्थले सारा सुख दिन सक्छ । तिम्रो जीवन व्यर्थ रहन्छ । जहाँ कहिल्यै वर्षा भएको छैन, जहाँ कहिल्यै कुनै अंकुर फुटेको छैन, जहाँ कुनै हरियाली छैन र फूल फुलेको छैन, त्यस्तो जमिनमा कहाँको अर्थ कहाँको ‘स्व’ । तिमी दुनियाँकै भलो होस् भन्ने चाहन्छौ भने आफैँबाट सुरु गर– तिमी आफ्नै भलो गर । यस कुरालाई तिमी जीवनको गणितको आधारभूत नियम मान ।’
ओशोको भनाइमा, आफ्नो बारेमा राम्रो सोच्नु मान्छेको मूल प्रवृत्ति नै हो । गडबड त्यसबेला मात्र हुन्छ, जब हामी सही मार्गको सन्तुलनबाट हराउन थाल्छौँ, पतितमार्गी हुन थाल्छौँ अनि दोस्रो मान्छेलाई नोक्सान पुर्‍याउछौँ । अन्यथा, अरूको मद्दत गर्ने प्रवृत्ति वा अरूलाई खुसी बनाउने व्यवहार हामीलाई कसैबाट सिक्नु जरुरत छैन ।
चाल्र्स डार्बिन मान्छेबीचको आपसी सहयोगबाट निकै चकित थिए । विलियम हेमिल्टनले विश्वमा मानवतावाद र परोपकारबारे अध्ययन गरे । रोबर्ट ट्रिवर्सले मान्छेको प्रवृत्तिबारे अध्ययन गरे । जब ‘परोपकार’ धर्मको रूपमा स्थापित भयो, यस्तै विश्लेषण मानवजगत्को पनि भयो । कुनै विशिष्ट काम, जस्तै: रक्तदान जस्तो काम, मान्छे अरूको भलाइका लागि गर्छन् । यसका लागि पैसामा कुनै पुरस्कार प्रदान गरियो भने उनीहरूको प्रोत्साहन गायब हुन्छ । पैसा प्रोत्साहनको विषय होइन ।
एउटा रोमन क्याथोलिक चर्चले पनि यही सन्दर्भमा रिपोर्ट जारी गरेको छ । चर्च भन्छ– ‘सही नागरिकता र सही छिमेकीको उपेक्षा भएको छ ।’ मान्छे निजी स्वार्थका कारण एकअर्कासँग टाढा हुँदै छ । नैतिक र चारित्रिक विकासमा जोडिएका संस्थाहरूको पनि दाबी छ, युवा जुन समस्याको सामना गर्दै छ, यसको जड अत्यधिक व्यक्तिवादी संस्कृति हो, जुन पछिल्लो केही दशकमा झाँगिएको हो । मान्छेमा पहिले ‘म’को प्रवृत्ति उठेर अगाडि आइरहेको छ, जहाँ ऊ प्रतिष्ठा र सफलताका लागि संघर्ष गरिरहेको छ । ऊ बढी प्रतिस्पर्धी र दयाहीन बन्दै छ । आफन्तहरूलाई छोडिदिनु, सानो–सानो चिजमा प्रतिस्पर्धा गर्नु र जित हात पार्नका लागि कुनै पनि सीमा नाघ्नु अहिलेका लागि सामान्य कुरा हो । व्यापक सोच छ– कुनै पनि मान्छेको प्राथमिक कर्तव्य दोस्रो मान्छेको जिन्दगीमा योगदान दिनुको सट्टा आफ्नै जीवन धेरैभन्दा धेरै सुधार्नु हो, घुस खाएर होस् कि जागिर खाएर । मान्छे ‘सफलता’लाई आक्रामक रूपले अनुसरण गरिरहेको छ । यो एउटा संक्रमणजस्तै हामीलाई लालची र स्वार्थी बन्न प्रेरित गरिरहेको छ । यदि तपाईं यसको हिस्सा बन्न चाहनुहुन्न भने पनि तपाईंका आसपास बस्ने हरेक मान्छे स्वार्थी ढंगको व्यवहार गर्दै छन् र तपाईंको संस्कृति अनि समाजले नियममा सामेल नहुनु मुस्किल हुन सक्छ भन्छ भनेर धम्की दिन्छ भने, लालसी र स्वार्थी नबन्नु असम्भव प्राय: छ ।
ििि
बेसिक स्ट्यान्डर्ड इकोनोमिक्स थ्योरीले मान्छेको भौतिक फाइदाको विषय प्रस्तुत गर्छ र पछिल्लो ५० वर्षदेखि आर्थिक अवधारणामा मान्छे स्वाभाविक रूपमा स्वार्थी र भौतिकवादी हुँदै गइरहेको पुष्टि गर्छ । यहाँसम्म कि यही कारणले वालस्ट्रिट संस्कृति ग्रिड इज गुडलाई मलजल पुगेको छ । फेरि पनि व्यवहार विज्ञानको यस निष्कर्षलाई नदेखेझैँ गर्नुहुन्न कि परोपकार या अरूको मद्दत हाम्रो प्राथमिक प्रोत्साहन हो । व्यवहार विशेषज्ञका अनेकौँ प्रयोग स्वार्थको अस्तित्वलाई सिद्ध गर्छ । लामो समयपछि नै सही, स्वयं मान्छेहरूको आर्थिकीले नै यस तथ्यको अनुमोदन गर्‍यो । यसभन्दा अघि मान्छे मात्र आफ्नो वित्तीय वा भौतिक फाइदाले मात्रै प्रोत्साहित हुन्छ भन्ने धारणा प्रचलित थियो ।
आधुनिक अर्थशास्त्रका पिता मानिने एडम स्मिथका अनुसार, मान्छे स्वार्थपूर्ण ढंगबाट काम गर्छ र यस्तो काम ऊ अदृश्य रूपबाट गर्छ । स्मिथ जान्दथे, स्वार्थ समाजको हिस्सा हो । तर, उनी भन्थे– ‘उदारता पनि कतै न कतै मानव सभ्यताको गुण हो ।’ अठारौँ शताब्दीका स्कटिस दार्शनिक स्मिथ खासमा एक मानवतावादी थिए, उनले थ्योरी अफ मोरल सेन्टिमेन्टस्मा परोपकार बोधको महिमा गान गरे । उनी लेख्छन्– ‘मान्छे जति नै स्वार्थी किन नहोस्, उसको प्रवृत्तिमा कुनै यस्तो गुण हुन्छ, जो आफ्नो रुचिलाई अरूको भाग्यवृद्धिमा लगाउँछ ।’ एक शताब्दीपछि जोन स्टुअर्ट मिलले होमो इकोनोमिक्स शब्द व्यापक प्रचलनमा ल्याए, जसमा उनले मान्छेलाई अनिवार्य रूपमा कमसे कम श्रम र शारीरिक त्यागले अधिक आवश्यकता, सहुलियत र ऐस–आराम हासिल गर्न सक्ने प्राणीका रूपमा हेरेका थिए । यही मतबारे जर्ज स्टिग्लर, मिल्टन फ्राइडम्यान, एलन ग्रिनस्पानले पनि बोलेका छन् । उनीहरू भन्छन्– ‘मान्छे तार्किक र आफ्नो हितमा सीमित फाइनान्सियल एक्टर हो ।’ यही आधारमा अनेक आर्थिक सिद्धान्तलाई मजबुती मिल्यो ।
१९९० मा बेलायतमा गरिएको एक प्रयोगमा निस्किएको नतिजा अचम्मको थियो । एक गाउँबाहिर न्युक्लियर बेस्ट फेसिलिटी बनाउने योजनालाई प्रयोगको विषय बनाइयो । व्यापक जागरणसाथ, ५१ प्रतिशत गाउँलेले यसमा साथ दिए । अझै धेरै मान्छेलाई यस योजनामा सामेल गराउन इनाम घोषणा गरियो । प्रतिव्यक्ति ८७०० डलरको इनाम राखियो । तर, इनाम राखिएपछिको परिणाम सकारात्मक निस्केन । गाउँलेको सहभागिता २५ प्रतिशतमा झर्‍यो । गाउँलेले आफूहरूलाई यो पैसा घुसजस्तो लागेको बताएका थिए । उनीहरूलाई हीनताको अनुभव भएको थियो । उनीहरूलाई लाग्यो, नैतिकता एउटा वित्तीय लेनदेन बन्यो । शोधकर्ता ब्रुनो फ्रेले गरेको यो शोधमा ‘पैसा’ भन्दा ‘परोपकार’ भावना प्रबल देखियो ।
असंख्य अनुसन्धानका नतिजाले मान्छे आफूभित्रै मात्र सीमित रहने जात होइन भन्ने पुष्टि गरेका छन् । ऊ आफैँ अगाडि बढ्न चाहन्छ र अरू मान्छेको मद्दत पनि गर्न चाहन्छ । सबै चिजलाई विज्ञानको तराजुमा तौलनेहरूले ‘मान्छे मूलभूत रूपमा सामाजिक प्राणी हो’ भन्ने थाहा पाउनु जरुरी छ । एकजना औसत मान्छे क्रियाशील जीवनमा करिब ८० प्रतिशत समय अरूसँग बिताउँछ । वास्तवमा मान्छे एक्लो हुनुभन्दा समूहमा बस्न रुचाउँछ । यो सबै अनुवंशिकी नियम र हर्मोनल प्रक्रियासँग जोडिएका तथ्य हुन् ।
नेपाली समाजमा यस्ता परीक्षण हुन बाँकी छ । नेपालको सहरी समाज पनि व्यक्तिवादी बन्दै छ । तर, यस्तै समाजमा पनि परम्परागत र सामाजिक मूल्यलाई कायम राख्नेहरू हुनुपर्छ जो व्यक्तिवादी मनोवृत्तिबाट केही हदसम्म टाढा रहन्छन् । नेपालमा सामुदायिक विकासका काम जनताले स्वेच्छाले गर्ने गरेका छन् । राज्य बढीजसो जनविकासका काममा उदासीन रहन्छ । अहिले रक्त बैंकमा रक्तसंकलनको कमी आउनुमा यही सहरिया स्वार्थी मनोवृत्तिको संकेत हुन सक्छ । तर, केही मानिसका उदात्त भावनालाई संगठित गर्न सकियो भने नेपाल मानवीय मूल्यबाट च्यूत हुने छैन ।

प्रतिक्रिया