एनजिओ र आइएनजिओलाई ओलीको चेतावनी

काठमाडौं, ९ भदौ । एमाले नेता केपी शर्मा ओलीले संविधानसभा पुन:स्थापना र जातीय राज्यका पक्षमा माओवादीको भाषा नबोल्न, दलाली नगर्न एनजिओ र आइएनजिओलाई चेतावनी दिएका छन् । अनुचित नारा दिएर समाज ध्वस्त बनाउने खेललाई जनताले अस्वीकार गर्ने उनको जिकिर छ ।

‘नेपालमा खेल खेल्ने तमासा बन्द गरे हुन्छ,’ नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार गरेको कार्यक्रममा नेता ओलीले भने, ‘अनुचित नारा दिएर समाज ध्वस्त बनाउने खेललाई जनताले अस्वीकार गर्नेछन् ।’ अबको राजनीतिक निकास संसद्को निर्वाचन नै रहेको उनको भनाइ छ । नेता ओलीले डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई छिट्टै विस्थापित गरिने बताए । १४ भदौसम्म सम्झाउँदा पनि नहटे भट्टराई सरकारलाई विस्थापित गरेर राष्ट्रिय सहमतिको सरकार बनाइछाड्ने उनको दाबी छ । ‘तानाशाही यात्रातर्फ हिँडेको एमाओवादी नेतृत्वको लुटेरा सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर विस्थापित गरिनेछ,’ नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार गरेको कार्यक्रममा नेता ओलीले भने, ‘तीन महिनासम्म सम्झाउने प्रयास गर्छौं, यहाँ गर्छु, त्यहाँ गर्छु नभन बाबु हो † चिसैपानीले नुहाउनेछौ, धाकधक्कु नलगाऊ, देश लोकतन्त्रभन्दा पर जान सक्दैन ।’ कांग्रेस र एमालेलगायत दलको पहिलो उद्देश्य नै बाबुराम सरकार ढाल्नु र तानाशाहीतर्फको
यात्राबाट मुलुकलाई रोक्नु रहेको उनको भनाइ छ ।
माओवादीको सत्ता कब्जा गर्ने योजना सफल तुल्याउनकै लागि संविधानसभा विघटन गराएको आरोप लगाउँदै ओलीले राज्य पुन:संरचनालगायत मुद्दामा सहमति हुन नसकेर विघटन भएको भ्रम त्याग्नुपर्ने बताए । ‘सत्तामा रहेर संविधान जारी गर्ला, गर्ला जस्तो गर्दै सत्ता कब्जाका लागि संविधानसभा विघटन गर्ने योजना सफल पार्‍यो,’ ओलीले भने, ‘यसलाई दुई दिनपहिलेको पार्टी कार्यकर्ताको प्रशिक्षणमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले नै प्रस्ट पारिसकेका छन् । त्यसैले यहाँ संघीयतामा कुरा नमिलेर संविधान जारी हुन सकेन भन्ने भ्रम पाल्नुहुन्न ।’ ओलीले संविधानसभाको बनोटमा एकतिहाइ हैसियतसहितको माओवादीको उपस्थिति नै संविधानसभा असफल हुनुको मुख्य कारण रहेको पनि दोहोर्‍याए । कांग्रेस र एमालेलाई दोष दिनुको कुनै अर्थ नरहेको भन्दै
ओलीले माओवादीलाई रूपान्तरण गर्नमा भने पार्टीका तर्फबाट कमी रहेको स्विकारे ।
माओवादी आधुनिक उग्रवादका रूपमा देखा परेकाले रूपान्तरणका लागि केही समय लिने भन्दै उसका सामु एमालेले कहिल्यै पिठ्यँु फर्काएर नहिँडेकाले निरास नहुन आग्रह गरे । ‘खुला भएर आउँदा उनीहरूको हाइहाइ खपिसक्नु थिएन, भट्टराई प्रधानमन्त्री बन्ने बेला हाम्रै साथीले पनि कुटौँला र मारौँला जस्तो गर्थे, अहिलेसम्म आइपुग्दा के भयो ?’ ओलीले भने, ‘अहिले माओवादीका नेतालाई सोझै भ्रष्टाचारी भन्न नमिल्ला कि † आफन्तबाट पैसा समाउँछन्, आफैँचाहिँ बुझ्दैनन् ।’

प्रतिक्रिया