पूर्वगुप्तचर प्रमुखकी श्रीमती पक्राउ

काठमाडौं, ८ भदौ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै लाखाँै रुपियाँ ठगी गरेको आरोपमा विभागका पूर्वप्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिभासेन भट्टलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको विशेष टोलीले ४० वर्षीया भट्टलाई बिहीबार साँझ ५ बजे शान्तिनगर चोकस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
भट्टले राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक र जवान पदमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ४६ लाख ३५ हजार रुपियाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठगी घटनामा सिरहा भदैया–५ का ६२ वर्षीय वैधप्रसाद कर्ण र उनकी श्रीमती कल्पना कर्ण पनि पक्राउ परेका छन् । सोही घटनाका आरोपी सिरहा भदैया–५ का २२ वर्षीय रवि कर्ण भने फरार छन् ।
प्रहरीका अनुसार उनीहरूले विभागमा जागिर लगाइदिन्छु भन्दै युवराज न्यौपानेबाट २२ लाख, कुमार केसीबाट १२ लाख ५० हजार, मनोजकुमार यादवसँग आठ लाख, अजय चौधरीसँग एक लाख ५० हजार र विष्णुदेव चौधरीसँग तीन लाख ५० हजार रुपियाँ ठगी गरेका थिए । आफूहरूलाई ठगी गरेको भन्दै ३० साउनमा प्रहरी कार्यालयमा पीडितले उजुरी हालेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी अरुण विसीका अनुसार यसअघि पक्राउ परेकाहरूले संकलित सबै रकम भट्टलाई दिएको बयान दिएका छन् । डिएसपी विसीले भने, ‘पक्राउ परेकाहरूसँग बयान लियौँ, उनीहरूले रकम भट्टलाई दिएको बयान दिएलगत्तै हामीले उनलाई पक्राउ गर्‍यौँ ।’
डिएसपी विसीका अनुसार रकम दिनेहरूले आएमईबाट वैधप्रसादलाई पठाइदिएका थिए । विसीले भने, ‘आइएमईबाट वैधप्रसादलाई पैसा पठाएको कागजसमेत उजुरीमा परेको छ ।’ ठगी गरेको
भन्दै उनीहरूविरुद्ध उजुरी पर्ने क्रम थपिँदै गएको विसीले जानकारी दिए । पक्राउ परेका भट्टबारे भने अनुसन्धान गर्न बाँकी नै रहेको उनको भनाइ थियो । पक्राउ परेकी भट्टले भने आफूले कसैबाट रकम नलिएको दाबी गरिन् । उनले भनिन्, ‘प्रहरीले मलाई किन पक्राउ गरेको हो, त्यसको जानकारी त हनुमानढोका आएपछि मात्रै पाएँ ।’ आफूलाई कसैले षड्यन्त्र गरी फसाउन खोजेको दाबी उनको थियो । उनले भनिन्, ‘म दोषी छैन, त्यसैले मलाई केही डर छैन ।’ पक्राउ परेकी भट्टलाई प्रहरी परिसर काठमाडांैको हिरासत कक्षमा राखिएको छ । उनी नेपाल प्रहरीकी अवकाशप्राप्त प्रहरी निरीक्षकसमेत हुन् । बानेश्वरस्थित लागुऔषध कानुन कार्यान्वय इकाइमा उनले लामो अवधि काम गरेकी थिइन् ।

भट्टले यसो भनिन्

बिहीबार म शान्तिनगरस्थित घरमै थिएँ । श्रीमान् पनि घरमै हुनुहुन्थ्यो । घरको भुइँ तलामा रहेको सटर खाली थियो । सटर सधैँ भाडा दिने भएकाले ग्राहकको पर्खाइमा थियौँ । दिउँसो साढे चार बजे फोन आयो । फोनमा भनियो, ‘हामी सटर भाडामा लिन आएको ।’ म तल झरेँ । मैले सटर खोलेँ । उनीहरूलाई देखाएँ । उनीहरूले फेरि सोधे, ‘यो सटर तपाईंकै हो ?’ मैले भनेँ, ‘हो, मेरै हो ।’ पछि उनीहरूले भने, ‘हामी प्रहरी हौँ, हामी तपाईंलाई पक्राउ गर्न आएको ।’ म झसंग भएँ । मैले किन भन्दै प्रश्न गरेँ । उनीहरूले भने, ‘तपार्इं प्रहरीको फरार सूचीमा हुनुहुन्छ त्यसैले ।’
‘तपाईंसँग पक्राउ पुर्जी छ त ?’ मैले प्रश्न गरेँ । उनीहरूले छ भन्दै पुर्जी देखाए । त्यसो भए एकछिन माथि जान्छु भन्दै हामी बस्ने ºलोरमा गएँ । श्रीमान्सँग सल्लाह गरेँ । उहाँले केही भन्न सक्नुभएन । म तल झरेँ । उनीहरूको परिचय पत्र मागेँ । परिचयपत्र देखाउँदै उनीहरूले तपार्इं हामीसँग हिँड्नुस् भने ।
म उनीहरूसँगै महानगरीय प्रहरी वृत्त बानेश्वर पुगेँ । बानेश्वरमा केही घन्टा बसेँ । सोधपुछ केही भएन । त्यतिबेलासम्म किन पक्राउ गरिएको हो मलाई केही थाहा छैन । प्रहरीको भ्यानमा मलाई बेलुका करिब ७ बजे महानगरीय प्रहरी परिसर काठमाडांै ल्याइयो । अहिलेसम्म मसँग सोधपुछ भएको छैन । मैले भर्खर पो तपाईंहरूबाटै सुन्दै छु मैले ५० लाख रुपियाँ हाराहारीमा रकम ठगँे भनेर । मलाई आश्चर्य लागेको छ । मैले कसैसँग रकम लिएकै छैन । मलाई लाग्छ– यसमा मलाई कसैले फसाउने षड्यन्त्र गरेका छन्, हामीलाई फसाउन र बदनाम गराउन विभागबाट रिटायर्ड भएका केही उच्चपदस्थ व्यक्ति लागिपरेका छन् । म आफैँ पनि नेपाल प्रहरीको रिटायर्ड प्रहरी निरीक्षक हुँ । मैले कसरी ठग्न सक्छु ?

प्रतिक्रिया