वेस्ट इन्डिजद्वारा पाकिस्तान पराजित

सिड्नी, ७ भदौ । वेस्ट इन्डिजले आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा पाकिस्तानलाई १६ रनले पराजित गरेको छ । वेस्ट इन्डिजले अब पाँचाँै स्थानका लागि इंगल्यान्डसँग खेल्नेछ । वेस्ट इन्डिजले दिएको १८३ रनको लक्ष्य पछयाएको पाकिस्तान ४८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा सीमित भएको थियो । भारतविरुद्धको क्वार्टरफाइनलमा पनि कमजोर ब्याटिङका कारण पराजित पाकिस्तान वेस्ट इन्डिजसँगको खेलमा पनि ब्याटिङमा कमजोर देखियो ।

पाकिस्तानका बबर आजमले सर्वाधिक ३८ रन जोडे । यसका लागि उनले ७६ बलको सामना गरे । यसैगरी, उमर अहिदले ३१ तथा मोहम्मद नवाजले २८ रन जोडे । अन्य पाकिस्तानी ब्याट्सम्यानभन्दा छिटो रन बटुलेका अहिदले ३६ बलको सामना गरे । निरस पाकिस्तानी इनिङमा एक छक्का पनि प्रहार भएन भने आजमले पाँच तथा अहिदले चार चौका प्रहार गरे ।
वेस्ट इन्डिजका बलर जेरेमी जोन्सले सानदार बलिङ गर्दै १० ओभरमा २९ रन मात्र खर्चेर दुई विकेट लिए । उनले इमाम उल हक (२) र मोहम्मद नवाजको विकेट लिए । म्यान अफ द म्याच घोषित डेरोन डेभिसले १० ओभरमा २० रन खर्चिंदै तीन विकेट लिए । वाहिदलाई पहिलो सिकार बनाएका डेभिसले आजमलाई पनि आउट गरे । खराब सुरुआत गरेको पाकिस्तानका लागि आजम र वाहिदले तेस्रो विकेटका लागि ५१ रनको ठोस साझेदारी गरेका थिए । पहिलो यु–१९ खेल खेलिरहेका मर्केल मिन्डली, जस्टिन ग्रेभर्स र किल मेयर्सले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४९ ओभरमा अलआउट हँुदै १८२ रनको योगफल तयार गर्‍यो । वेस्ट इन्डिजका क्रेथ ब्राथह्वायटले सर्वाधिक ३९ रन जोडे । बलर हाबी भएको खेलमा उनले पनि ७७ बलको सामना गरे । यसैगरी, विकेटकिपर ब्याट्सम्यान स्ेटफन कैटुरुले ३५ रन जोडे । नवाँै क्रममा ब्याटिङ गरेका डेभिसले २४ रनको योगदान गरे । अन्य वेस्ट इन्डियन ब्याट्सम्यानभन्दा छिटो रन बटुलेका उनले ३४ बलको सामना गर्दै दुई चौका प्रहार गरे ।
वेस्ट इन्डिजलाई कम योगफलमा सीमित गर्ने क्रममा मम हम्जाले १० ओभरमा ४४ रन खर्चेर सुरुआती तीन विकेट लिए । उनको सानदार स्पेलका कारण एक समय वेस्ट इन्डिज ७.५ ओभरमा २७ रन जोडेर तीन विकेट गुमाएको थियो । उस्मान कादिरले १० ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । जियाउल हक र मोहम्मद नवाजले एक/एक विकेट लिए ।

श्रीलंका प्लेट फाइनलमा
श्रीलंका प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा श्रीलंकाले आयरल्यान्डलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । ४९.३ ओभरमा अलआउट हँुदै २५८ रनको योगफल खडा गरेको श्रीलंकाका विरुद्ध ब्यािटङ गरेको आयरल्यान्डले ३७.५ ओभरमा अलआउट हुँदै १४९ रन जोडयो ।
श्रीलंकालाई जित दिलाउने क्रममा सन्दीप विराकोडीले नटआउट रहँदै शतकीय पारी खेले । १२१ बलको सामना गरेका विराकोडीले ११२ रन जोडे । उनले १० चौका र तीन छक्का प्रहार गरे । श्रीलंकाले ६८ रनमा तेस्रो विकेट गुमाएपछि ब्याटिङ गर्न आएका विराकोडीले एन्जेलो जयसिंघेसँग मिलेर चौथो विकेटका लागि ८७ रनको साझेदारी गरे ।
जयसिंघेले ५५ रन जोडे । ६२ बलको सामना गरेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । निरोस डिकवेलालले ३५ रन बनाए । आयरल्यानडका जर्ज डर्कवेलले १० ओभरमा ३९ रन खर्चिंदै तीन विकेट लिए । ग्रिम म्याककटरले आठ ओभरमा ३४ रन खर्चिंदै दुई विकेट लिए भने बेरी म्याक्यार्थी, एडम कोगलिन, टोनी क्रेन र सेन गेट्काटेले एक/एक विकेट लिए ।
गेट्काटेले ४६ रन जोडे । जेसन भान डन मेरले २४ रन जोडे । श्रीलंकाका लाहिरु माडुसन्काले ७.५ ओभरमा २४ रन खर्चिंदै ६ विकेट लिए । रान्टिया लियानार्चीले र्‍यान हन्टरलाई २२ रनमा आउट गरेपछि आयरल्यान्डको पतन सुरु भएको थियो । यसअघि लियानार्चीले अतिरिक्त रन मात्र १० दिएका थिए । सनिथा डी नेलले एकरन जोडेका ओपनर रोबिन केलीलाई आउट गरेपछि आयरल्यान्डले २४ रनमा दोस्रो विकेट गुमाएको थियो । बिहीबार भारत र न्युजिल्यान्डबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । नेपालले पपुवा नयुगिनीसँग बिहीबार नै अन्तिम खेल खेल्नेछ । विजयी भएमा नेपाल १३औँ हुनेछ भने पराजित भएमा १४आँै हुनेछ । एजेन्सी

प्रतिक्रिया