मुख्यसचिवको अनुगमनले कर्मचारीमा त्रास

काठमाडौं, ७ भदौ । मुख्यसचिव पदमा नियुक्त भएलगत्तै लीलामणि पौडेलले कर्मचारीतन्त्रमा ‘आतंक’ नै मच्चाएका छन् । कर्मचारीतन्त्रमा कामचोर प्रवृत्ति मौलाएकाले त्यसको नियन्त्रणका लागि भन्दै मुख्यसचिव पौडेलले माथिल्लो निकायबाटै अभियान थालेपछि कर्मचारी त्रसित बनेका हुन् ।
मुख्यसचिव पौडेलले भदौ महिनाभर मन्त्रालय तथा विभागहरूको अनुगमन गर्ने भन्दै मंगलबार अभियानकै रूपमा अनुगमन कार्य थालेका छन् । स्रोतका अनुसार अधिकांश मन्त्रालयको विवरण संकलन गरी त्यसको अध्ययनपछि मात्र उनी अनुगमनमा लागेका हुन् । अनुगमनका क्रममा उनले सम्बन्धित मन्त्रालयबाट भए/गरेका सम्पूर्ण कामको विवरण तथा अनियमितताका घटनालाई प्रमुख मुद्दा बनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालय तथा विभागबाट भएका आर्थिक अनियमिततासम्बन्धी फाइलको चाङ नै लागेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार फाइलका विषयमा सम्बन्धित विभागका कर्मचारीलाई मन्त्रालयका अन्य कर्मचारीकै सामु सोधपुछ गर्ने भएपछि कर्मचारी आतंकित भएका हुन् । सबैजसो मन्त्रालयमा भए/गरेका गतिविधिबारे अध्ययन गरेकाले अनुगमनका
क्रममा कर्मचारीलाई निर्देशन दिन सजिलोसमेत भएको उनले बताए ।
मुख्यसचिवले समयमा काम नबन्नु, आर्थिक अनियमितता, कर्मचारी कार्यालयमा नभेटिनु, जनताको सेवाभन्दा पनि बढी आफ्नै कार्यमा व्यस्त हुनुलगायतका घटनालाई प्रमुख मुद्दा बनाएका छन् । उनले मन्त्रालयका दैनिक गतिविधि, कर्मचारीको आचरण, सरसफाइलगायतलाई पनि अनुगमनको विषय बनाएका छन् ।
मुख्यसचिवको अनुगमन अभियानपछि सबैजसो मन्त्रालयका सचिवहरूले विभागीय प्रमुखहरूलाई सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालय आउन, बाँकी काम तत्काल सम्पन्न गर्न तथा कार्यालय सफा राख्न निर्देशन दिएका छन् । पौडेलले मंगलबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई कडा निर्देशन दिएको देखेर पनि अन्य मन्त्रालयका कर्मचारी आतंकित बनेको एक सचिवले बताए । ‘मन्त्रालयको सबै विवरण बोकेर यो किन गरिनस् भनेर सबै कर्मचारीका सामु सोध्न थालेपछि उनीहरूमा आतंक पैदा हुनु स्वाभाविकै हो,’ ती सचिवले असन्तुष्टि जनाउँदै भने, ‘प्रधानमन्त्रीले अख्तियार गरेको कार्यशैलीलाई मुख्यसचिवले टपक्कै लागू गर्न खोज्नुभएको छ । यसले कत्तिको निरन्तरता पाउने हो ?’
यसअघिका मुख्यसचिवले पनि मन्त्रालयका गतिविधिबारे जानकारी लिने गरेको उल्लेख गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक उपसचिवले भने, ‘तर, यसरी आफ्नै कार्यालयमा आएर गालीको शैलीमा निर्देशन दिने गर्नुहुन्नथ्यो ।’
‘तैँले किन काम गरिनस् ? किन पैसाको पछि लागिस् ? भन्दा त्यो कर्मचारीले कसरी साथीहरूसँग मुख देखाएर काम गर्न सक्छ ?’ उनले भने, ‘यसले नराम्रो काम गर्ने कर्मचारीका लागि नसिहत त होला तर उसले भोलि फेरि कसरी काम गर्छ भन्ने हो ।’
मुख्यसचिव पौडेलले बुधबार गृह र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अनुगमन गरेका थिए ।
मुख्यसचिव पौडेलले आफूले कर्मचारीलाई आतंकित पार्न नभई मन्त्रालयबाट हुने गरेका कामको अध्ययनका लागि अनुगमन थालेको बताए । ‘मन्त्रालयमा कसरी काम भइरहेको छ, जनताबाट किन गुनासो आउँछलगायत विषयमा जानकारी लिन अनुगमन थालेको हुँ,’ उनले भने, ‘मन्त्रालयका समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन यसले मद्दत पुग्ने विश्वास मैले लिएको छु ।’
निजामती प्रशासनलाई चुस्तदुरुस्त बनाउन धेरै काम गर्न बाँकी रहेको र ती काम कसरी सजिलोसँग गर्न सकिन्छ भन्ने उपायको खोजी गर्न पनि अनुगमनले मद्दत पुने उनले बताए । सबै मन्त्रालयको अनुगमन गर्न एक महिना लाग्ने जानकारी उनले दिए ।
मुख्यसचिव बनेलगत्तै उनले कर्मचारीले कामभन्दा पनि अन्यत्रै ध्यान दिएको भन्दै सिंहदरबारमा कार्यालय समयभन्दा एक घन्टाअघिसम्मका लागि फेसबुक सेवा बन्द गराएका थिए । उनको उक्त कार्यलाई कर्मचारीलगायत सबैले स्वागतयोग्य भनेका थिए । अहिले थालेको अनुमगनले पनि कर्मचारीतन्त्रमा सुधारका कार्यक्रम ल्याउन सक्ने भन्दै केही सचिव यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् । कामचोर कर्मचारीका लागि घाटा भए पनि अन्यका लागि हौसलाको विषय बनेको उनीहरूको टिप्पणी छ ।
सिंचाइसचिव प्रतापकुमार पाठकले मुख्यसचिवको अनुगमनलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘पहिले यसरी अनुगमन गर्ने गरिएको थिएन, गरे पनि सम्बन्धित मन्त्रालयका सचिव तथा त्यसभन्दा मुनिका कर्मचारीलाई आफ्नै कार्यालयमा बोलाएर जानकारी लिने गरिएको थियो,’ सचिव पाठकले भने, ‘मुख्यसचिवको प्रत्यक्ष अनुगमनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीचको दूरी घटाउँछ ।’
विभिन्न मन्त्रालयका जानकारी जति लिन सक्यो त्यति नै निर्णय गर्न सजिलो हुने उनले बताए । उनले भने, ‘यसले कर्मचारीमा नियमित अनुगमनको सिस्टम बसाल्छ र कामचोर कर्मचारीलाई काममा फर्कन मद्दत पुर्‍याउँछ ।’
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले पनि मुख्यसचिवले थालेको मन्त्रालय अनुगमन अभियानलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘कामचोर प्रवृत्ति खत्तम बनाउन र यसलाई नियमित गराउनका लागि पनि अनुगमनको खाँचो थियो । ‘अनुगमनको ‘रिजल्ट’ पछि आउला,’ सचिव घिमिरेले भने, ‘यो धेरै पहिले गर्नुपर्ने थियो, ढिलै भए पनि सुरुआत भएको छ, यसले सकारात्मक नतिजा देला ।’
यसैबीच अनुगमनका क्रममा बुधबार गृहका कर्मचारीलाई निर्देशन दिँदै पौडेलले प्रहरी प्रशासनलाई चुस्त बनाउन नसकेको तथा अनुगमनको काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । गृहबाट हुन सक्ने धेरै काम भए पनि त्यसअनुसार नभएको भन्दै त्यसतर्फ ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका थिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गर्न सक्ने काममा पनि विदेशीको भर पर्ने गरेको, हरेक काममा दाताको चलखेल हुने गरेको, एलडिओ र सिडिओबीच कुरा नमिल्दा स्थानीयस्तरमा विकासको काम पुग्न नसकेको भन्दै विभागीय प्रमुखहरूलाई जिम्मेवार बन्न उनले निर्देशन दिएका थिए ।
स्रोतका अनुसार मन्त्रालयका गतिविधिलाई लिएर मुख्यसचिव आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले कर्मचारीकै मिलेमतोमा विकास निर्माणका काम हुन नसकेको भन्दै त्यस्ता कर्मचारीलाई ‘प्वाइन्ट आउट’ गरेको र नसुध्रिए कडा कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।

प्रतिक्रिया