शिव रेग्मीको नजरमा सबै हिरो अब्बल

नेपाली चलचित्र क्षेत्रमा दुई दशक बिताइसकेका दिग्गज निर्देशक शिव रेग्मीलाई नेपालका नायकहरूको मूल्यांकन गर्ने अभिभारा दिइयो । राजेश हमालदेखि राजवल्लभ कोइरालासम्मको मूल्यांकन उनको मुखबाट सुन्दा यस्तो लाग्थ्यो मानौँ नेपालका नायकहरू सबै गुणैगुणका खानी हुन् । रेग्मीले कुनै पनि नायकका कमजोरी खासै औँल्याएनन्, केवल प्रशंसा मात्रै गर्न चाहे । राजेश हमालदेखि निखिल उप्रेतीसम्मलाई ‘अभिनयमा निपुण’ भनिदिए । त, उनकै शब्दमा पढौँ– नेपाली नायकहरू को कस्ता छन् ?

राजेश हमाल : सबैभन्दा मन पर्ने उहाँको आवाज हो । त्यसैले कराउनुपर्ने रोलमा थुप्रैले उहाँलाई काम गराएका छन् । मैले पहिलोपटक हामी तीनभाइ चलचित्रमा उहाँलाई काम गराएको छु । उहाँको मेहनत देखेर प्रभावित छु । तारिफयोग्य काम गरेका छन् । जतिले चलचित्र हेरे, सबैभन्दा मन मनपराएको उहाँको अभिनय नै हो । उहाँको आवाज मात्र होइन, अभिनयको पनि सदुपयोग गर्न सकेको छु । अभिनयक्षमता अचम्मको छ । अभिनयबाट दर्शकलाई छिट्टै नै हँसाउन अनि रुवाउन सक्नुहुन्छ । डाइलग डेलिभरी राम्रो छ, संवाद स्मरणशक्ति अचम्मको छ । लामो डाइलग पनि सजिलै बोल्नुहुन्छ । गाउँले र सहरीया दुवै भूमिकामा सुहाउँछ । उहाँलाई धेरैले एक्सनमा लिएका छन् तर मैलेचाहिँ भावनात्मक अभिनय गर्ने नायकका रूपमा पाएको छु ।

शिव श्रेष्ठ : उहाँसँग काम गर्ने लामो समयदेखिको इच्छा युद्ध चलचित्रमा आएर पूरा भयो । उहाँ हास्य रसमा डुबेर पनि संवेदनात्मक अभिनय गर्ने पहिलो कलाकार हो । उहाँको अभिनयको तारिफ गरेर भ्याउँदिनँ । स्वभाव पनि निकै मिलनसार । उहाँ आफैँलाई चाहिँ हास्य विधा मन पर्दो रहेछ तर संवेदनशील भूमिकालाई पनि उत्तिकै न्याय गर्न सक्नुहुन्छ । लामो वाक्यांशमा डाइलग बोलाउन अलि कठिनचाहिँ छ । ठूलो हृदय भएका भावुक नायक । मेरो विचारमा उहाँलाई हास्य विधा नै बढी म्याच गर्छ ।

भुवन केसी : हरेक प्रकारको अभिनयमा पोख्त कलाकार हो, उहाँ । जुन भूमिका आइपर्छ, डुबेरै अभिनय गर्न सक्ने व्यक्तिका रूपमा लिएको छु । विशुद्ध कलाकारिताकै लागि जन्मेको मान्छेजस्तो । सुरु गरेपछि मज्जाले डुबेर राम्रो अभिनय गर्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । कलाकारले दृश्यलाई प्रस्ट पार्न संवाद बोल्नुपर्ने हुन्छ । केसीको चाहिँ आँखा नै बोलिरहेको हुन्छ, दृश्य प्रस्ट्याउँछ । मानौँ– उहाँले अभिनय गर्दा कति ठाउँमा संवाद नभए पनि फरक पर्दैन । समग्रमा भन्नुपर्दा, एउटा पूर्ण कलाकार । मैले निर्देशन गरेको दुनियाँबाट सर्वश्रेष्ठ कलाकारको अवार्ड जित्नुभएको छ उहाँले । चलचित्रको विषयमा चिन्तन गर्दा घन्टौँ बिताउन सक्नुहुन्छ । उहाँ र म साथ बसेर चलचित्रका गफ गर्दा समय बितेको पत्तै पाइँदैन ।

श्रीकृष्ण श्रेष्ठ : यी त मलाई आफ्ना अंश दिन नपर्ने भाइजस्ता लाग्छन् । मेरो निर्देशनका थुप्रै चलचित्रमा काम गरेका छन् । मेरो निर्देशनको पहिलो चलचित्र आफन्तका नायक पनि यिनै हुन् । आफन्तदेखि पछिल्लो कहाँ भेटिएलासम्मको यात्रामा थुप्रै सफल चलचित्रमा एकसाथ काम गर्‍यौँ । अभिनयका विषयमा भन्नुपर्दा उनको अभिनय भनेको मेरै अभिनय हो । अभिनयमा ५० प्रतिशत मैलाई फलो गरेका हुन्छन् । हामी दुई भए पनि संगतले एक हाँै । नजिकका आफन्तमध्ये एक मानेको छु । मलाई अभिनय गराउन सजिलो कलाकार हुन् । इसारा गर्दा नै सबै बुझ्ने । स्क्रिप्टमा राम्रो अध्ययन गर्ने, विषयवस्तुमा डुब्ने खुबी राम्रो छ । हाम्रो सहकार्य १५ वर्षजति पुग्यो होला । यो संगतका आधार उनले चुजी बानीलाई सुधार गुर्नपर्ने देख्छु । चलचित्र छान्दा अति नै सोच्ने प्रवृत्ति छ, जसकारण राम्रा चलचित्र पनि हातबाट फुत्किरहेका हुन्छन् । त्यसतर्फ ध्यान दिए राम्रो हुन्छ ।

दिलीप रायमाझी : मलाई मन पर्ने, प्यारो अनि माया लाग्दो कलाकार हुन् । निर्देशनयात्राको दोस्रो चलचित्र आफ्नो मान्छेमा अभिनय गराएको छु । उनका राम्रा पक्ष धेरै भएकाले एक–दुईवटा नराम्रा पक्ष मात्र केलाउँदा हुन्छ । म आफँै उनको फ्यान हो । अभिनय साँच्चै नै राम्रो छ, अभिनयमा यिनको बराबर कोही छैन चलचित्र क्षेत्रमा । अभिनयको हिसाबले जति प्राथमिकता पाउनुपर्ने हो, त्यो भने उनले पाउन सकेका छैनन् । हरेक भूमिकामा पर्फेक्ट अभिनय गर्ने कलाकारमा पर्छन् । अभिनय टिप्न खप्पिस कलाकार । नजानेका केही छैनन् । निर्देशकले उनलाई सदुपयोग गर्न नजानेका मात्र हुन् । डाइलग डेलिभरी र नृत्य अति राम्रो छ ।

निखिल उप्रेती : यी त्यस्ता नायक हुन्, जसको एक्सन देख्दा आश्चर्यमा पर्छु । एक्सनमा उनको जति सायदै कसैले गर्लान् । अभिनय पनि राम्रो छ । अभिनयलाई निर्देशकमा पूरै समर्पित गराइदिन्छन् । उनीबाट चाहेजस्तो काम लिन सकिन्छ । मसँग काम गरेका तीन चलचित्र हामी तीनभाइ, मानिस र युद्धबाट तीनैचोटि उत्कृष्ट अभिनेताको अभिनय जितेका छन् । कतिपय निर्देशकले निखिललाई अभिनय आउँदैन भन्छन् तर मलाई त्यस्तो लाग्दैन । निर्देशकले सिकाएको टिप्न सक्ने कलाकार हुन् । भूमिका सकेसम्म एक्सनै दिनुपर्छ । डाइलगको भाषा ठीकै छ ।

विराज भट्ट : विराजसँग मैले धेरै काम गर्ने मौका पाएको छैन । एउटै चलचित्र अर्जुनदेवमा अभिनय गराएको छु । एक्सन, आवाज र डाइलग उनका सबैभन्दा सशक्त पक्ष हुन् । तर, सबैलाई यो कुरा थाहा छैन, त्यसैले बढीजसोले एक्सनमा प्रयोग गरेका छन् । तर, म त उनको डाइलगको दिवाना छु । निर्देशकहरूले विराजको अभिनय बाहिर निकाल्न नसकेजस्तो लाग्छ मलाई । उनी पर्फेक्ट कलाकार हुन् । आफूलाई केही परिमार्जित गराएर लागिपर्ने हो भने उनको विकल्पको नायक मैले देखेको छैन । केही यस्ता चलचित्र मात्र खेल्न बाँकी छ, जसमा उनको भूमिका गहन र संवेदनशील होस् । मलाई विराजको एक्सन भन्दा पनि अभिनय राम्रो हुन्छ जस्तो लाग्छ ।

सुमन सिंह : यीसँग मनले मनलाई छुन्छमा काम गरेको छु । उनी गम्भीर स्वभावका लाग्छन् । काममा सेन्सेटिभ छन्, भूमिकामा लागिपर्ने प्रवृत्ति छ । अभिनय खोट लगाउनुपर्ने खालको छैन तर पनि किन हो उति जम्न सकिरहेका छैनन् । छानेको भूमिका नै त्यस्तै भएर हो वा छान्न नजानेर, उचाइमा पुग्न सकेनन् । डाइलग डेलिभरी एकदम राम्रो छ । साँच्चिकै भन्नुपर्दा भुवनपछि आँखाले अभिनय क्षमता देखाउने नायक सुमनलाई पाएको छु ।

राजवल्लभ कोइराला : बौद्धिक व्यक्तित्व भएका कलाकार हुन् । अरूलाई सत्कार र आदर गर्न जानेका छन् । राम्रो अध्ययन गरेकाले नजानेको विषय केही छैन । हरेक विषयमा बहस गर्न सकिन्छ उनीसँग । एकदम राम्रो कलाकार हुन्, स्क्रिप्टको नलेज पनि छ । भूमिकालाई अभिनयका दृष्टिले मजबुत बनाउन लागिपर्ने र मेहनत गर्ने बानी छ । सुधार्नुपर्ने पक्ष पनि केही छन् । बलिउड तथा हलिउडमा कुनै कलाकार चल्यो भने त्यसको भाषा नक्कल गर्ने बानी सुधार्नुपर्छ । किनभने अरूका थुप्रै कमन सेन्स हामीसँग मिले पनि कति कुरा हाम्रा आफ्नै खालका छन् । अरूसँग मेल खाँदैनन् ।

रमित ढुंगाना : यिनी चलचित्र क्षेत्रका ‘इनोसेन्ट ब्वाय’ जस्ता लाग्छन् । मुग्लान चलचित्रमा मसँग काम गरेका छन् । राम्रो सम्भावना बोकेका कलाकार लाग्छन् । प्रकृतिले शरीर पनि राम्रै दिएको छ । देख्दै हिरोजस्तो लाग्ने नायकमध्ये एक । अभिनय पनि राम्रो छ । उनैले नगरेका हुन् वा निर्देशकले गराउन सकेनन्, हुनुपर्ने जति हुन सकेका छैनन् । त्यसो त उति संघर्ष नगरेका कारण पनि पछि परेका हुन् कि ? नेपालमा संघर्ष त गर्नैपर्छ । मेरो विचारमा उनले डायलग डेलिभरी र नृत्यमा केही सुधारचाहिँ गर्नुपर्छ । नेपालमै संघर्ष गरे राम्रो स्टार बन्ने सम्भावना देख्छु ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया