कक्षा ९ देखि नै “मल्टिट्रयाक” शिक्षा

काठमाडौं, ६ भदौ । सामुदायिक माध्यमिक विद्यालयमा ‘मल्टिट्रयाक’ शिक्षा लागू हुने भएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआपी)ले पुन:संरचना गरेको माध्यमिक तह (कक्षा ९ देखि १२)सम्म यसै वर्षदेखि मल्टिट्रयाक शिक्षा लागू गरिन लागेको हो । यो शिक्षा प्रणाली लागू भएपछि विद्यार्थीले कक्षा ९ देखि नै प्राविधिक तथा व्यावसायिक र साधारण विषय छनोटको अवसर पाउनेछन् ।

शिक्षा विभाग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले मल्टिट्रयाक शिक्षाका लागि तयार पारेको फाइल मंगलबार शिक्षामन्त्री दीनानाथ शर्माले सदर गरेका छन् । मन्त्रीस्तरीय निर्णयपछि यसै वर्षदेखि एक सय विद्यालयमा नमुनाका रूपमा यो शिक्षा प्रणाली लागू गरिने भएको छ । मन्त्री शर्माले प्राविधिक पक्ष सिटिइभिटीले र व्यवस्थापन पक्ष शिक्षा मन्त्रालयले हेर्ने गरी लागू गर्न लागिएको बताए । ‘प्रश्न बनाउने, जाँच लिने यस्ता सबै काम सिटिइभिटीले गर्छ,’ मन्त्री शर्माले भने । सिटिइभिटीले गुणस्तर निर्धारण तथा पाठ्यक्रमसमेत हेर्नेछ ।
नमुनाका लागि एक सय विद्यालय देशभरबाट छनोट गरिनेछ । मन्त्रीका स्वकीय सचिव रमेश मल्लले केही दिनमा यस्तो प्रणाली लागू गर्न चाहने विद्यालयका लागि विज्ञापन गरिने जानकारी दिए । विज्ञापनपछि आउने विद्यालयमध्ये छनोटपछि मात्र यस्तो शिक्षा लागू गरिनेछ ।
विद्यार्थीहरूले अहिलेसम्म टिएसएलसीदेखि मात्र प्राविधिक विषय पढ्ने अवसर पाउने गरेका थिए । मन्त्रीस्तरीय निर्णयपछि कक्षा नौदेखि नै दुई सय पूर्णांकको प्राविधिक तथा व्यावसायिक विषय अध्ययन गर्न सक्नेछन् । अनिवार्य विषय भने अहिलेकै लागू हुनेछन् ।
मल्लका अनुसार पाठ्यक्रम विकास केन्द्र र सिटिइभिटीको पाठ्यक्रम महाशाखाले संयुक्त रूपमा पाठ्यक्रम तयार पारिसकेका छन् । शिक्षालाई बेरोजगार उत्पादनको थलो नबनाउनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको सुरुवात गरिएको उनको भनाइ छ । उनले भने, ‘शिक्षालाई श्रम र श्रमलाई उत्पादनसँग जोड्ने निजअनुसार यो कार्यक्रम ल्याइएको हो ।’
यसका लागि अघिल्लो वर्ष नै बजेट छुट्याइए पनि नीति बनाउन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । शिक्षाविद् प्रा. डा. तीर्थ खनियाँ कक्षा ९ देखि प्राविधिक तथा व्यवसायिक शिक्षा लिने योजना सकारात्मक भएको बताउँछन् । यस्तो योजनालाई २८ सालको जस्तो विद्यार्थीलाई कक्षाकोठाबाहिर नलगी कक्षाकोठामा माछापालन गर्नेजस्तो ‘अलोकप्रिय’ कार्यक्रम बनाउन नहुने उनको सुझाब छ । ‘कार्यक्रम राम्रो हो, कसरी कार्यान्वयन गरिन्छ, त्यसमा सबै कुरा मिलाउनुपर्‍यो,’ उनले भने, ‘नभए दुर्दशा हुन्छ, अर्बौं रकम खेर जान्छ ।’

प्रतिक्रिया