पुराना गीतकारको पहिलो एल्बम


काडमाडौं : संगीतक्षेत्रमा ३५ वर्ष बिताइसके गीतकार अर्जुन सापकोटाले । तर, एल्बम भने भर्खर निकाल्दै छन् । एल्बम अनावरणसँगै संगीतक्षेत्रमा फरक किसिमले जुर्मुराउने सुर उनको छ । गीत लेखनको साधनामा बिताएका सबै पल यो एल्बममा समेटेको उनले बताए । आफ्नै लगानीमा ल्याएको यो पहिलो एल्बम भए पनि उनका गीत भने बजारमा पहिलोचोटि आउन लागेका होइनन् । दशकौँ अघिदेखि स्थापित गायक–गायिकाले उनका गीत गाउँदै आएका छन् ।
सत्तरीको दशकमा गायक फत्तेमानराज भण्डारीले गाएको रिसविना आउने सपना, प्रेमध्वज प्रधानको कतै यो सहरमा, जगदीश समालको पानीको हुन्छ सिरानीमा मूल, कर्णदासको आमा, गायिका लोचन भट्टराईको हिजोआज किन, शम्भु राईको चन्द्रमाझँै हाँसिदेऊ, सुकमित गुरुङको जिन्दगीका प्रहरलगायत गीत उनकै रचना हुन्, जसले चर्चा पनि कमाइसकेका छन् । करिब ६ सय गीत रेकर्ड भएर बजारमा आइसकेका छन् । तर, पनि किन गुमनाम रहे त उनी ? ‘म आफ्ना गीतमा अझै निखार ल्याउन चाहन्थेँ, त्यसैले प्रचारमा आउन चाहिनँ’, उनी सुनाउँछन्, ‘गीत लेखनमा हरेक बेलुका धेरै समय बिताउने गरेको छु ।’
गीतलाई जीवनजको अमूल्य अंग मान्ने सापकोटा आमाभन्दा पछाडिको सम्मान पनि गीतलाई नै गर्छन् । भन्छन्, ‘गीतले नै मलाई बाँच्न सिकायो । मेरो जीवनको औषधि अर्थात् दु:खका बेलामा खाने पेनकिलर भनेकै गीत हो ।’ करिब १८ वर्षअगाडि गीत लेखन क्षेत्रमा संघर्ष गर्न काठमाडौं आए सापकोटा । तर, महिनौँसम्म दानापानीको अभाव भयो । त्यही दु:ख र पीडाका कारण फेरि गाउँ फर्किएर कृषि पेसामा लाग्नुपरेको उनले बताए । अभाव र दु:खमै जिन्दगी बिताएकाले आफ्नो गीतमा पनि तिनै पीडा झल्कने उनलाई लाग्छ । देशभक्तियुक्त गीत पनि उनको रुचि हो । एक सय ६५ गीत समेटिएको गर्लफ्रेन्ड गीती संग्रह पनि ल्याउने तयारी गरेका रहेछन् उनले ।
अहिलेका पुस्ताले जीवन र भोगाइभन्दा मायाप्रेमका रोमान्टिक गीत–संगीत मनपराउन थालेकाले लोकआधुनिक गीतका एल्बम निकाल्ने योजना पनि छ उनीसँग । नौ वर्षको उमेरबाट गीत लेख्न थालेको बताउँछन् उनी । जीवनका अन्तिम क्षण पनि गीत लेखनमै बितोस् भन्ने चाहन्छन् । इलामको जोहारसिंह गाउँका सापकोटालाई एल्बम अनावरणमा चर्चित गायक–गायिका र संगीतकारले सघाएका छन् । एल्बममा आमा, मलाई माया, वैशाखलाई, नजिक हुँदा, कि लाग्छ, झर्नु चाहिँ पक्कै झरे, नजरको तिम्रो, तिमीले दिएको, मैले देखेको र मालती फूल बोलका १० गीत छन् । किरण रसाइली, सुरेश अधिकारी, अर्जुन सापकोटा, महेश खड्का, सत्यराज आचार्य, ह्यारी आरडी र मणिकमल क्षेत्रीको संगीतमा दीप श्रेष्ठ, उदय–मनिला सोताङ, स्वरूपराज आचार्य, राजेश पायल राई, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार र जगदीश समालको गायन छ । (सौस)

प्रतिक्रिया