पशुमा अनौठो रोग किसान चिन्तित

राजविराज, ५ भदौ । उन्नत जातको पशुपालन र दुध उत्पादनमा मुलुकमै नाम कमाएको सप्तरीको महुली क्षेत्रमा अनौठो रोगका कारण गाई मर्न थालेका छन् । अत्यधिक ज्वरो आउने र उपचार गर्न नपाउँदै गाई मर्ने क्रम बढ्दै गएपछि किसान थप अन्योलमा परेका छन् ।

पशु चिकित्सक तथा प्रयोगशाला अभावका कारण रोगको पहिचान हुन नसकी अन्दाजका भरमा औषधि प्रयोग गर्ने क्रम बढ्दै गएकाले गाई मर्न थालेको गाईवंश सुधार आयोजनाका रेकर्डर देवीप्रसाद कोइरालाले बताए । गतवर्ष मात्र तीसवटा गाई उपचार अभावमा मरेको र हाल दुई महिनाभित्र पनि दुई दर्जनभन्दा बढी गाई मरिसकेको उनले बताए ।
अनौठो रोगका कारण स्थानीय सीताराम आचार्य, दुर्गादत्त अधिकारी, होमनाथ पौडेल, मनकुमार राय, शिव तिवारीलगायत दुई दर्जन बढी स्थानीयका गाई मरिसकेका छन् भने बिरामी परेका गाईका कारण अन्य किसानसमेत चिन्तित छन् । लाखाँै रुपियाँ पर्ने गाई उपचार अभावकै कारण मरेपछि गरिखाने बाटोसमेत गुम्दै गएको पीडितको गुनासो छ ।
बिरामी पर्ने र उपचारको प्रयास गर्दागर्दै तीन दिनभित्र भटाभट गाई मर्ने गरेका कारण यस क्षेत्रका दुग्ध उत्पादक किसानले ठूलो क्षति बेहोरिरहेका छन् । अधिक संख्यामा गाई मर्न थालेपछि गाईपालन व्यवसाय गर्दै आएका किसानको व्यवसायसमेत धराशयी बन्दै गएको महुलीस्थित आदर्श दुग्ध उत्पादक सहकारी संस्थाका बोधराज सुवेदीले जानकारी दिए । गाई मर्ने क्रम बढ्दै गएपछि दुग्ध उत्पादनमा समेत ठ्ूलो नोक्सानी भएको छ । गतवर्ष मरेका ३० वटा गाईका कारण दैनिक तीन सय ५० लिटरले दूध संकलनमा कमी आएको संस्थाका निमित्त अध्यक्ष दीपेन्द्र आचार्यले बताए ।
प्राविधिक ज्ञानको कमी र पशु डाक्टर तथा प्रयोगशाला अभावका कारण समयमा उपचार हुन नसक्दा गाई मर्ने गरेको स्थानीय पशु उपकेन्द्रका चिकित्सक राधेश्याम पौडेलले बताए । ‘रोगी पशुको रगत परीक्षण गरेर रोगको पहिचान गर्न सके रोग ठीक पार्न सकिन्छ,’ गाईवंश सुधार आयोजनाका पशु चिकित्सकसमेत रहेका पौडेल भन्छन्, ‘प्रयोगशाला नहुँदा अन्दाजमै औषधि चलाउन बाध्य हुनुपरेको छ ।’ रगत परीक्षणका लागि विराटनगर पुग्नुपर्ने समस्याले बिरामी पशु मरिसकेपछि मात्र रिपोर्ट आइपुग्ने समस्या रहेको उनले बताए । जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवले समस्या समाधानका लागि अधिकतम पहल भइरहेको बताए ।

प्रतिक्रिया