इजरायलद्वारा क्षेप्यास्त्रनिरोधी ढाल मर्मत

जेरुसेलम : पश्चिम एसियामा संकट गहिरिँदै गएपछि इजरायलले क्षेप्यास्त्र निरोधी ढाल सुधार कार्य आरम्भ गरको छ । इरान, सिरियालगायत राष्ट्रविरुद्ध लक्षित हुने गरी सुधारकार्य आरम्भ गरिएको इजरायलले जनाएको छ ।
‘इरान, सिरियालगायत यस क्षेत्रका अन्य ‘शत्रु’को विरोधमा आरम्भ भएको अमेरिकी सहयोगप्राप्त अभियानअन्तर्गत ‘एरो–२ ब्यालेस्टिक मिसाइल’ को ढाल सुधार भइरहेको छ,’ इजरायलका एक प्रतिरक्षा अधिकारीले आइतबार रोयटर्ससँग भने । ढाल सुधारपछि इजरायली क्षेप्यास्त्रको मारक क्षमता अचुक बन्ने उनले दाबी गरे । ‘यसबाट मारक बिन्दु पहिल्याउने र लामो दूरीसम्म मार हान्ने क्षमता हासिल हुनेछ । यस क्षेत्रमा जारी प्रविधिगत प्रतिस्पर्धाको कडीका रूपमा क्षेप्यास्त्र सुधार गरिएको हो,’ ती अधिकारीले भने । सन् २००० मा तैनाथ एरो–२ क्षेप्यास्त्र निरोधकले इजरायलमाथि प्रहार हुने परमाणु क्षेप्यास्त्रलाई सुरक्षित तबरले आकाशमै ध्वस्त गर्ने सामथ्र्य राख्छ ।
इरानले परमाणु हतियार उत्पादन गरिरहेको आरोप लगाउँदै इजरायले इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको छ । त्यसमाथि इजरायलसँग शत्रुतापूर्ण सम्बन्ध रहेको सिरियामा राष्ट्रपति बसर अल असदको शासनविरुद्ध जारी विद्रोह गहिरिँदै गएपछि यसले इजरायललाई थप सचेत गराएको छ । सिरियाली सरकारले आफ्ना शास्त्रगारमा रहेका रासायनिक हतियार र क्षेप्यास्त्र बाह्य आक्रमणविरुद्ध प्रयोग गर्ने जनाएपछि इजरायलले क्षेप्यास्त्र निरोधक प्रणालीमा सुधार आरम्भ गरेको हो । शनिबार इरानले मध्य दूरीसम्म मार हान्न सक्ने क्षमताको क्षेप्यास्त्र सार्वजनिक गरेको थियो । नयाँ क्षेप्यास्त्रले जमिन र समुद्र दुवै स्थानमा मार हान्नसक्ने इरानी सेनाले जनाएको थियो ।
लेबनान र गाजामा इरानले हजारौँ इस्लामिक गुरिल्ला तैनाथ गरेको बताइन्छ । क्षेत्रीय युद्ध भड्किए इजरायललाई तत्कालै घेराबन्दीमा पार्ने उद्देश्यले इरानले गुरिल्लालाई अनौपचारिक सहयोग गर्दै आएको आरोप लगाइन्छ ।
सिरियामा सेना पठाएका छैनौँ : इरान
इरानले सिरियामा आफ्ना सैनिक नपठाएको प्रस्ट पारेको छ । सिरियाली सरकारले सैन्य सहयोग नमागेको र कुनै सैन्य टुकडी त्यसतर्फ नपठाइएको इरानी प्रतिरक्षामन्त्री ब्रिगेडियर जनरल अहमद वाहिदीले प्रस्ट पारेका छन् । सिरियाली सैनिकलाई विद्रोहीविरुद्ध जारी युद्धमा सघाउन इरानले कमान्डो पठाएको समाचार इजरायली पत्रपत्रिकामा प्रकाशित भएपछि यसको खण्डन गर्दै वाहिदीले यस्तो बताएका हुन् । गत शनिबार इजरायली वेबसाइट वाइनेटन्युजले केही साताभित्र करिब तीन हजार हतियारधारी इरानी दमास्कस प्रवेश गरेको समाचार प्रकाशित गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया