अपराध महाशाखाको कौसीमा ‘हत्याकाण्ड’

काठमाडौं, ५ भदौ । समय : सोमबार, अपराह्न ठीक तीन बजे । स्थान : काठमाडौंको हनुमान ढोकास्थित महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको छत । एउटा मृत शरीर लडिरहेको छ । करिब ६ फिट लामो मृत शरीरको निधारमा गोली लागेको दाग प्रस्ट देखिन्छ । रगतले लत्पत्तिएको मृत शरीरको टाउकोतर्फ ‘स्प्राइट’को बोतल लडिरहेको छ । एउटा राउन्ड टेबल, टेबलमाथि खाई नसकेका केही खानेकुरा । टेबलको आमुन्ने–सामुन्ने दुईवटा कुर्सी पनि छन्, त्यसमध्ये एउटा उत्तानो परेको छ, अर्को यथास्थानमा छ ।
घटनास्थल पहेँलो रिबनले सिल गरिएको छ । महाशाखाका वरिष्ठदेखि कनिष्ठ प्रहरी अधिकृत, घटनास्थलमा यति व्यस्त देखिन्छन्, मानौँ चाँडै नगरे केही हुनेवाला छ । कोही अधिकृत मृत शरीरको निरीक्षण गर्दै छन्, कोही भने घटनाको मुचुल्का उठाउने तयारीमा । महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवेदी, एसपी श्याम खत्री, डिएसपी हृदय थापा, सोमेन्द्रसिंह राठौर, हिमालय श्रेष्ठ, राजेशनाथ बास्तोला र रवीन्द्र धानुक एउटै कोठामा तर्क/वितर्क गर्दै छन् । लाग्छ, उनीहरू गम्भीर बैठकमा जुटेका छन् । महाशाखा छिर्ने मूलगेटसामुन्ने प्रहरीको एउटा भ्यान ‘स्ट्यानबाई’ छ । सतर्क रहेका भ्यानमा भित्रका प्रहरी ‘फिंगर प्रिन्ट’ परीक्षण गर्ने सामग्री तयारी गर्दै छन् । कोही भने घटनास्थल निरीक्षणका लागि थप सामग्री आपूर्ति गर्ने प्रयासमा जुटेका देखिन्थे । यसैबीच, महाशाखाका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले मातहतका प्रहरीलाई प्रश्न गरे, ‘भ्यानमा स्टेचर ठीक छ ?’
ठीक ३ बजे महाशाखामा देखिएको यो दृश्य वास्तविकता भने होइन । प्रहरी मुख्यालयबाट महाशाखाको निरीक्षण गर्न एआइजी कल्याण तिमिल्सिना आउने भएपछि स्वागतका लागि यी कल्पनिक दृश्य तयारी गरिएको थियो । गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्न महाशाखाले अपनाउने तरिकाको झलक एआइजी तिमिल्सिनालाई सचित्र देखाउनु यसको मुख्य उद्देश्य थियो । तर, एआइजी तिमल्सिना आइपुगे साढे ६ बजे, जब कि उनी आउने समय निर्धारण गरिएको थियो, अपराह्न ३ बजे । त्यसैले महाशाखाले जुन कुशलतासाथ घटनास्थलको काल्पनिक दृश्य तयार गरेको थियो, एआइजी तिमल्सिनासमक्ष त्यही कुशलतासाथ प्रदर्शन गर्न सकेन ।
एआइजी तिमल्सिना महानगरीय ट्राफिक प्रहरी महाशाखाको गतिविधि निरीक्षण गर्नमा व्यस्त थिए । यति मात्रै होइन, सोमबार दिनभर महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगन्जको समेत निरीक्षण गरे । अन्तरक्षेत्रीय प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन प्रतियोगिता ०६९ मूल्यांकन समितिका अध्यक्ष रहेका एआइजी तिम्सिनाले निरीक्षणका क्रममा ट्राफिक प्रहरी महाशाखा, सशस्त्र प्रहरी गणको कार्यालय, ब्यारेक, महिला प्रहरी ब्यारेक, पुस्तकालय, प्रबन्ध, जिन्सी, हातहतियार, कोत, चमेनागृह, भान्साघर आदिको निरीक्षण गरेका थिए । प्रहरी प्रधान कार्यालयले अन्तरक्षेत्रीय प्रहरी कार्यालयका कार्यदक्षता मूल्यांकन गर्न लागेकाले समिति नै गठन गरी कार्यालय निरीक्षणका लागि प्रहरी उच्च अधिकृत खटाइरहेको छ ।

प्रतिक्रिया