कांग्रेसको विवाद व्यक्तिगत टकरावः महत

काठमाडौं, ४ भदौ । कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले पार्टीमा देखिएको विवाद व्यक्तिगत टकराव मात्रै रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पार्टी विवाद र सरकारको नेतृत्वका विषयमा सभापति सुशील कोइराल, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलवीच सहमति गरेर निकास दिन सुझाव दिए ।
‘पार्टीमा नेताहरुका वीच देखिएको टकराव सैद्धान्तिक नभई ब्यक्तिगत स्वार्थ मात्रै हो,’ उनले भने, ‘नेताहरुको व्यक्तिगत टकराव भएकाले यसको समाधान जटिल छैन ।’
कांग्रेस कार्यकर्ताको भरमा चलेको भन्दै उनले शीर्ष तीन नेताले पार्टीका लागि खासै केही गर्न नसकेको आरोप लगाए ।
वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति कोइरालाप्रति आक्षेप लगाएकोमा असन्तुष्ट नेता महतले भने, ‘जस्को जुन स्तर हुन्छ त्यसले सोही अनुसार ब्यवहार गर्छ ।’
दीर्घकालिन सत्ताकब्जाको योजनामा एमाओवादी
यसैवीच, कांग्रेस नेता महतले एमाओवादी सत्ता कब्जाको दीर्घकालिन रणनीतिमा लागेको आरोप लगाएका छन् ।
उनले एमाओवादीले संविधानसभा विघठन गरेर त्यसको पुष्टि गरेको बताए । उनले भने, ‘लोकतन्त्र र संविधानलाई सक्रिय बनाउन राष्ट्रपतिले कदम चाल्नै पर्छ ।’
संविधान संशोधन नभई निर्वाचन हुन नसक्ने अवस्था हुँदा/हुँदै सरकारले ल्याएको अध्यादेश फिर्ता गर्नु राष्ट्रपतिको सकारात्मक कदम भएको उनको धारणा थियो । उनले भने, ‘राष्ट्रपतिले जे गर्नु भयो ठीक गर्नु भयो ।’
एमाओवादीले मुलुकमा ब्रम्हलुट मच्चाएको दावी गर्दै उनले भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारिताले सीमा नाघेको आरोप लगाए ।
मान्छे र नामै नभएका ६ हजार फर्जी लडाकुको हस्ताक्षर गरेर २ अर्ब रुपियाँ एमाओवादीले राज्यको ढुकुटीबाट लुट गरेको उनले बताए । उनले सो रकम फिर्ता गर्ने तर्फ राज्य लाग्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया