पुरानै पारामा सलमान

मुम्बई : सलमान खानको ‘चार्म’ निकै बढेको छ बलिउडमा । दबंग, वान्टेड, बडीगार्डजस्ता पछिल्ला चलचित्रमार्फत कमाएको रवाफले गर्दा दर्शक उनीतिर एकोहोरिएका छन् । अनि एउटा ट्रेन्ड बसेको छ– उनको चलचित्रले प्रदर्शनमा आउनुअगावै प्रचारप्रसारको क्रमदेखि नै हंगामा मच्चाउन सुरु गर्छ । लाग्छ– दर्शक चलचित्र होइन, सलमानलाई हेर्न जान्छन् । सलमानले खेलेपछि हेर्न जानुअघि सो चलचित्रको इत्तिवृत्ति बुझिरहनुपर्छ जस्तो उनीहरूलाई लाग्दैन ।
यस्तै भयो, हाल प्रदर्शनरत चलचित्र एक था टाइगरको सवालमा पनि । चलचित्रबारे मिश्रित धारणा आइरहेछन् । कसैले अपेक्षाअनुरूप नभएको बताइरहेछन् त कतिले ठीकै मानेका छन् । तर, चलचित्रले गतिलो व्यापार भने गरिरहेकै छ । प्रारम्भिक दिनको व्यापार ‘अमेजिङ’ बन्यो ।
भारत, आयरल्यान्ड, टर्की, क्युबाको सेरोफेरोमा घुमेको एक था टाइगरको कथावस्तु टर्की नै पुगेर टुंगिएको छ । पूरै चलचित्र नायक सलमान र नायिका क्याट्रिना कैफवरिपरि घुमेको छ । सलमानका यसअघिका केही चलचित्रको एक्सन दक्षिण भारतीय शैलीका भए पनि यो चलचित्रलाई भने द्वन्द्वनिर्देशक कनी कोथेले त्यसबाट अछुतो राखेका छन् । तर, हिरोको निसाना नचुक्ने पुरानो शैली कायमै छ । मानौँ– हिरोले कहिल्यै गल्ती गर्दैन ।
कबिर खानको निर्देशनमा तयार भएको चलचित्र एक जासुसको कथा हो । विशेष मिसनमा निस्केको नायकले जब नायिकालाई भेट्छ, मिसनै बिर्सन्छ । प्रेममा चर्लुम्मै डुबेपछि नायक उनकै खातिर दुस्मनसँग मिल्न पुग्छ । यी प्रेमीप्रेमिकाका पछाडि भारतीय तथा पाकिस्तानी जासुसी एजेन्सी लाग्छन् । यद्यपि पक्रन सफल हुँदैनन् । भारतीय जासुसी संस्था र एजेन्ट थोरै पैसामा पनि कति धरै जोखिमपूर्ण काम गर्न सक्छन् भन्ने चलचित्रले देखाउन खोजेको छ । प्रेमकथालाई प्राथमिकता दिएका कारण चलचित्र बढी नै भावनामा बहकिएको छ । पेसा र प्रेमप्रति निर्वाह गर्नुपर्ने दोहोरो दायित्वमा सलमान अल्झिएका छन् । प्राय: प्रेमप्रधान बलिउड चलचित्रले जस्तै यसले पनि मायाप्रेम सबैभन्दा ठूलो धर्म हो र दुई देशबीचको वैमनस्य प्रेमले नै हटाउँछ भन्ने भावनात्मक सन्देश बाँड्न बिर्सिएको छैन । यसले केही वर्षपहिले भारत पाकिस्तानबीचको कथामा बनेको वीरजाराको पनि झल्को दिन्छ ।
निर्देशकले कहानीको प्रस्तुतिलाई पृथक् बनाउने भन्दा पनि सलमान र क्याट्रिनाको जोडीलाई बढी फोकस गरेका छन् । सुरुका केही दृश्य निकै एड्भान्स लाग्छन्, दर्शक आमबलिउड चलचित्रभन्दा पृथक महसुस गर्छन् केहीबेर । सलमान र क्याट्रिनाको उपस्थितिले लेभल हाई देखाए पनि कहानी लम्बिँदै जाँदा मेल हुन्छ पुरानै शैलीमा । दुई फरक समुदायका प्रेमीप्रेमिका, प्रेमजोडीको विरोध अनि अन्त्यमा सुखद मिलन । यसपटक नयाँ छ त केवल यो जोडीलाई भारत र पाकिस्तान दुवैतर्फबाट विरोध गरिएको छ । भारत र पाकिस्तानबीचको दुस्मनी प्रसंगलाई यो चलचित्रले पनि मसला बनाएको छ । निर्देशकले क्याट्रिनाप्रति निकै भरोसा गरेका छन्, तर उनले त्यो भरोसा निर्वाह गर्न सकेजस्तो लाग्दैन । पहिलोदेखि अन्तिमसम्मै सामान्य अभिनय । सलमान खानले चाहिँ अभिनयका हिसाबले प्रशंसायोग्य काम गरेको मान्न सकिने भारतीय विश्लेषकले चर्चा गरेका छन् । भनेका छन्– ‘यसमा उनले अभिनयमार्फत बायो प्रोफाइल थपेका छन्, दृश्यको प्रकृतिअनुसार उनको अभिनय बदलिएको छ ।’
छायाकार ससिम मिश्रले सबै देशमा छायांकन गरिएका दृश्यलाई निकै सुन्दर तरिकाले पर्दामा उतारेका छन् । संगीत सामान्य छ, यद्यपि मासाल्लाह गीतले श्रोताबीच छाप बसाएको छ । पाश्र्वसंगीत मनोरम छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया