४७ हजार शरणार्थी लेबनानमा

बेरुत : सिरियामा सन् २०११ को मार्चदेखि राष्ट्रपति बसार अल असदको राजीनामा माग गर्दै सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिवर्तन भएपछि त्यहाँबाट शरणको खोजीमा लेबनान पुग्ने शरणार्थीको संख्या करिब ४७ हजार पुगेको छ । सो जानकारी संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगले प्रकाशन गर्ने हप्ते प्रतिवेदनमा शनिबार दिइएको हो ।
संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगबाट लेबनानमा रहेका सिरियाली शरणार्थीले प्राप्त गरेको विभिन्न सहयोगका आधारमा सो संख्या प्रतिवेदनमा सार्वजनिक गरिएको पनि खुलासा गरेको छ । तर, लेबनानको समाजकल्याण मन्त्रालयका अनुसार ३७ हजार दुई सय ४० व्यक्ति लेबनानमा शरण लिइरहेका र नौ हजार चार सय ३२ जना शरणार्थीका लागि नाम दर्ता गराउन पर्खाइमा रहेका छन् । तीमध्ये पनि २० हजार तीन सय ६४ जनाले उत्तरी लेबनानमा शरणार्थी दर्ता गराएका र १८ हजार सात सय ६७ जनाले लेबनानको पूर्वी बेकाआ सहरका लागि शरणार्थी दर्ता गराएको समाचारमा जानकारी दिइएको छ ।
गत साता घाइते भएका तीन सिरियाली शरणार्थीलाई उपचारका लागि लेबनानको अस्पतालमा भर्ना गरिएको पनि संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोगले जनाएको छ । सन् २०११ को मार्चदेखि राष्ट्रपति बासर अल–असदको राजीनामा माग गर्दै सुरु भएको जनप्रदर्शनका क्रममा हालसम्म २३ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको मानवअधिकारकर्मीले जनाएका छन् ।
हिंसा रोक्न अन्तर्राष्ट्रिय दबाब जारी रहेको भए पनि राष्ट्रपति असदले आफ्नो अडान छोडेका छैनन् र शान्तिपूर्ण संक्रमणकाल व्यवस्थापनको सम्भावना न्यून हँुदै गएको छ । सो आन्दोलनका कारण सिरियाका लाखौँ जनता विस्थापित भएका छन् । सिरियामा करिब १० लाख जनता विस्थापित भएको र एक लाख ४० हजार जनता
छिमेकी मुलुकमा शरण लिन पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । (एजेन्सी)

प्रतिक्रिया