अध्यादेश फिर्ता हुनुमा आ–आफ्नै तर्क

काठमाडौं, ३ साउन । सदभावना पार्टीका सहअध्यक्ष एवं मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले राष्ट्रपति रामवरण यादव पूर्व राजा ज्ञानेन्द्र शाहको पथमा हिड्न चाहेको आरोप लगाएका छन् ।
उनले ज्ञानेन्द्र पथमा हिडे डा.यादव धेरै दिन पदमा नरहने चेतावनी दिए । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले अध्यादेश जारी नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताए । उनले भने, ‘राष्ट्रपतिको कदम विरुद्ध एमाओवादी र मधेसी मोर्चाले संयूक्त रुपमा आन्दोलन गर्छ ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले राष्ट्रपतिले अध्यादेश जारी नगर्नु संविधानसम्मत भएको दाबी गरे । उनले अध्यादेश जारी गर्न राष्ट्रपति सन्तुष्ट हुन अनिवार्य रहेको बताए ।
बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले राष्ट्रपतिले अध्यादेश फिर्ता गर्ने मात्र नभई सरकारनै परिवर्तन गर्न सक्ने अधिकार रहेको दावी गरे । उनले राष्ट्रिय हित विपरितका गतिविधि हुँदा राष्ट्रपति चुप लागेर बस्न नसक्ने स्पष्ट पारे ।
अधिवक्ता टीकाराम भट्टराईले काम चलाउ भईसकेको सरकारले भन्दैमा अध्यादेश जारी गर्नु पर्ने बाध्यता राष्ट्रपतिलाई नभएको बताए ।
बारका पूर्व महासचिव रमणकुमार श्रेष्ठले राष्ट्रपति स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाए । उनले यस्तै अवस्था रहे राष्ट्रपति रहने वा नरहने भन्ने गम्भीर अवस्था सृजना हुने बताए ।

प्रतिक्रिया