काठमाडौंमै हँसाइन् भारतीले

काठमाडौं : भारतीय च्यानल सोनीको कमेडी सर्कसमा देखिँदै आएकी हास्य कलाकार भारती सिंहलाई नेपाली दर्शकले शनिबार काठमाडौंमै देख्न पाए । नेपाली मूलकी यी चर्चित भारतीय हास्य कलाकार मारवाडी युवा समूह तदर्थ समितिले आयोजना गरेको युवा महोत्सवमा भाग लिन काठमाडौं आएकी हुन् । कार्यक्रम अवधिभर मुख्य आकर्षणका रूपमा रहेकी भारतीले बेजोड हास्य प्रस्तुतिमार्फत नेपाली दर्शकलाई पेट मिचीमिची हँसाइन् । अनि भनिन्– ‘नेपालमा आफ्नो प्रतिभा देखाउन पाउँदा खुसी लागेको छ ।’
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालित महोत्सवको बीच भागमा भारतीले नृत्य, क्यारिकेचर र गीतले भरिएको आफ्नो प्रस्तुति देखाएकी थिइन् । जादू, सांगीतिक कार्यक्रम, विभिन्न प्रकारका खेललगायत थुप्रै मनोरञ्जनात्मक सामग्री रहेको कार्यक्रममा फेसन–शो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमबाट संकलित रकम नेपालका विभिन्न अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री जुटाउन खर्च गरिने आयोजकले बताए । (सौस)

प्रतिक्रिया