इजरायललाई ‘क्यान्सर’ भनेकामा इरानको आलोचना

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन इरानी नेताहरूले इजरायलविरुद्ध व्यक्त गरेका टिप्पणीबाट स्तब्ध भएको उनका एक प्रवक्ताले बताएका छन् । इरानी राष्ट्रपति महमद अहमदिनेजादले इजरायललाई ‘क्यान्सर हुनसक्ने गाँठो’ (क्यान्सरस ट्युमर) भन्ने नाम दिएपछि अमेरिका तथा फ्रान्सले त्यस टिप्पणीको
भत्र्सना गरिसकेका छन् । शुक्रबार तेहरानमा एक आमप्रदर्शनअगाडि इरानी सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल ‘लोप हुने’ दाबी गरेका थिए ।
महासचिवका प्रवक्ता मार्टिन नेसिर्कीले एक विज्ञप्ति प्रकाशन गरी गत दुई दिनमा इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता तथा राष्ट्रपतिले इजरायलको अस्तित्वमा चुनौती दिने टिप्पणी गरेकामा महासचिव स्तब्ध भएको उल्लेख गरेका छन् । उनले यी टिप्पणी आक्रमणकारी तथा भड्काउने खालको भएको भनी भत्र्सना गरेको पनि जानकारी दिएका छन् । राष्ट्रपति अहमदिनेजाद तथा इरानका अन्य नेताले पटकपटक यस प्रकारको टिप्पणी गर्ने गरेका छन् ।
प्रवक्ताले महासचिवले यस क्षेत्रका सबै नेताले वर्तमान समयमा तनाव बढाउनुभन्दा आफ्नो स्वर सानो बनाउनुपर्ने धारणा राखेको पनि उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघको घोषणापत्रअनुसार सबै सदस्यले कुनै पनि मुलुकको क्षेत्रीय अक्षुण्णता तथा राजनीतिक स्वतन्त्रताविरुद्ध शक्ति प्रयोग गर्ने चुनौती दिनु हुँदैन । इरान हाल अमेरिका तथा उसका युरोपेली सहयोगीसँग पारमाणविक क्षमताको द्वन्द्वमा परेको छ । इजरायली आमसञ्चारले उसको सेनाले
इरानी पारमाणविक केन्द्रमा आक्रमण गर्नसक्ने आशंका व्यक्त गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया