जापानविरुद्ध ताइवानी आरोप

ताइपेई : जापानले पूर्वी चीनियँ जलक्षेत्रमा अवस्थित एवं टोकियो, बेइजिङ र ताइपेईबीच विवादास्पद मानिएका द्वीपहरू गुपचुप रूपमा नियन्त्रण गर्न थालेको आरोप लगाएको छ । जापानले आफ्नो नियन्त्रणमा रहेका द्वीपबाट चीन समर्थक प्रदर्शनकारीको समूहलाई त्यहाँबाट बाहिर जान बाध्य पारेपछि ताइवानको उक्त भनाइ आएको हो । यसबाट ताइपेईले यी द्वीपसम्बन्धमा आफ्नो धारणा दृढतापूर्वक राख्ने त्यहाँका आमसञ्चारले उल्लेख गरेका छन् । गत बुधबार ती कार्यकर्ता त्यहाँ पुग्दा उनीहरू त्यहाँ सन् २००४ पछि पुग्ने प्रथम गैरजापानी भएको देखिएको छ । उनीहरूले त्यहाँ चीन तथा ताइवानका झन्डा गाडेका थिए ।
ताइवानले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफूले पनि दायु द्वीप दाबी गरेकाले आफ्नो झन्डा गाडेको उल्लेख गरेको छ । यो द्वीपलाई चीन तथा ताइवानमा दायु तथा जापानमा सेन्काकु भनिन्छ । अन्य मुलुकलेझैँ जापानले पनि बेइजिङलाई मात्र औपचारिक रूपमा स्वीकार गरेको छ र उसले ताइवानसँग व्यापारिक तथा सांस्कृतिक सम्बन्ध मात्र स्थापना गरेको छ । (एजेन्सी)

प्रतिक्रिया