चरित्रहीनको आरोपमा घरबाट निकाला

राजविराज, ३ भदौ । सप्तरीको डाढा–६ की एक मुस्लिम महिलालाई परिवारका सदस्यले घरबाट निकालेका छन् । उनका पति वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् ।

डाढा–६ बलिया टोलकी २४ वर्षीया सफुरा खातुनलाई सासू–ससुराले कुटपिट गर्दै घरबाट निकालेका हुन् । तीन दिनअघि घरबाट निकालिएपछि उनी अलपत्र परेकी छन् । सफुराकी पति जिया हुसेन डेढ वर्षअघि मलेसिया गएका हुन् । पतिले घर छाडेको केही दिनपछि नै विभिन्न शारीरिक तथा मानसिक यातना दिँदै आएका ससुरा मोहम्मद तजमुल र सासू हसिना खातुनले अन्तमा घरबाट निकालेको सफुराले बताइन् ।
एक छोरा र एक छोरीकी आमा सफुरा मलेठ–७ विहारपुरस्थित दाजु मोहम्मद आलमका घरमा शरण लिएर बसेकी छन् । आर्थिक अवस्था कमजोर भएका दाजुको घरमा लामो समय बस्नु बोझिलो हुने भएकाले आफ्नै घरमा फर्काइदिन उनले गुहार मागेकी छन् । न्यायका लागि उनी शनिबार जिल्ला प्रहरी कार्यालय राजविराज आइपुगेकी छन् । ‘पति आउने टुंगो छैन, छोराछोरी लिएर कति दिन अरूको बोझ भएर बस्नु,’ उनले भनिन्, ‘घरमा बस्ने वातावरण बने फर्कन्थेँ ।’
चरित्रमा शंका गरेर सासू–ससुराले घरबाट निकालेको पीडितले बताइन् । ‘मोबाइलमा कुरा गरेकै भरमा ममाथि चरित्रहीनको आरोप लाग्यो,’ सफुराले दुखेसो गर्दै भनिन्, ‘मेरो मोबाइलमा पतिको बाहेक कसैको नम्बर छैन ।’ छोरो विदेशबाट फर्किएपछि घरमा आउनू भन्दै आफूलाई गलहत्याएर निकालिएको उनले बताइन् । उनको ०६२ मा विवाह भएको हो ।
उजुरी परेलगत्तै सफुराका ससुरा मोहम्मद तजमुललाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी गणेशबहादुर थापाले बताए ।

प्रतिक्रिया