लाइसेन्स होल्ड गर्ने कर्मचारी पत्ता लगाउनुस् : अर्थमन्त्री

काठमाडौं, २ भदौ । अर्थमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूमै झोलामा खोला राख्ने प्रवृत्ति रहेको बताएका छन् ।

राजधानीमा शुक्रबार प्राधिकरणको २७औँ वार्षिकोत्सव उद्घाटन गर्दै मन्त्री पुनले कर्मचारी आफैँले लाइसेन्स लिएको सार्वजनिक भएपछि झोलामा खोला राख्ने प्रवृत्तिबारे चर्चा चलेको बताए । ‘पहिला विद्युत््का कर्मचारीबाटै झोलामा खोला राखेको कुरा आएको हो, अहिले धेरै कर्मचारीले लाइसेन्स ओगटेको कुरा आएको छ,’ उनले भने, ‘कतिपय लाइसेन्स विद्युत् कर्मचारीले होल्ड गरेर राखेको कुरा आएको छ, त्यो पत्ता लगाउनुस् ।’
उनले राजनीति आर्थिक सोचबाट अलग हुननसक्ने उल्लेख गर्दै आयोजनालाई सरकारी–निजी साझेदारी अवधारणाअनुसार अघि बढाउनुपर्ने धारणा राखे । भारतको एक्जिम बैंकले दिएको दुई सय मिलियन डलर प्राधिकरणले खर्च गर्न नसकेकामा असन्तुष्टि व्यक्त गर्दै उनले बूढीगंगा, कावेली, माथिल्लो सेतीजस्ता आयोजनाको काम तत्काल अगाडि बढाउन निर्देशनसमेत दिए ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइरालाले प्राधिकरणद्वारा सञ्चालित आयोजनामा ढिलाइ भएको स्वीकार गरे । आफू अध्यक्ष भएका बेला प्राधिकरणभित्र गलत गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि जेलसम्म पर्न तयार रहेको स्पष्ट पार्दै सचिव कोइरालाले राष्ट्रहितलाई ध्यानमा राखी काम गर्ने अठोट व्यक्त गरे ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै प्राधिकरणले मोबाइल फोनबाट विद्युत् महसुल बुझाउन सक्ने व्यवस्था ‘पाइलट प्रोजेक्ट’का रूपमा गर्ने, ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिने, चुहावटलाई २३ प्रतिशतमा झार्नेलगायत लक्ष्य रहको जानकारी दिए । प्राधिकरण उपकार्यकारी निर्देशक लवबहादुर घिमिरेले भारतबाट र निजी प्रवद्र्धकबाट लिइएको विद्युत्मा २५ प्रतिशत घाटा बेहोर्नुपरेको तथा अवकाश पाएकालाई करिब दुई अर्ब बराबर रुपियाँ व्यवस्थापन गर्न नसक्दा घाटा बेहोर्नुपरेको बताए ।
अधिकांश प्राधिकरण युनियनका प्रतिनिधिले प्राधिकरणमा राजनीतिक हस्तक्षेप बढेको, सञ्चालकले मनोमानी गरेको, प्राधिकरणलाई घाटा हुनेगरी काम गरिएका, सस्ता आयोजना अरूलाई दिएर महँगा मात्र प्राधिकरणलाई दिएलगायत गुनासो गरेका थिए ।
कार्यक्रम ग्रामीण सामुदायिक विद्युतीकरणमा उत्कृष्ट काम गर्ने उदयपुरको सामूहिक बाल विकास एवं महिला जागरण मञ्च, रूपन्देहीको प्रगतिनगर विकास समूह र तनहुँको ग्रामीण सामूहिक समूहलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया