कवितामा आफैसंग संवाद गरिरहन्छु

साँझको बेला, सेती नदीमा याम्दीखोला मिसिएको दोभान हेरिरहेको थिएँ । तल–माथि गरेको पानीको छालजस्तै मेरो मन पनि तरंगित हुँदै थियो । साथमा थियो, चराचुरुंगी चिरबिर गरेको मधुर धुन । आठ वर्षको उमेरमा पोखराबाट ह्याङ्जा घुम्न जाँदा मैले यो दृश्य देखेकी थिएँ ।
नदी दोभानको छालसँगै हृदयले आभाष गरेको प्रकृतिको मधुर धुनले मेरो मनको तरंगमा कविताका हरफहरू तैराए । अनि, कवितामा बनेर जन्मियो ‘नदी, चरा अनि मन’ । तर, मैले मेरा बालमस्तिष्कका रचनालाई शीर्षक दिएर पूरा गर्न सकिनँ । न त बाल्यकालको त्यो रचनाले कापीका पानामा कोरिएका शब्दबाहेक पाठकसँग संसर्ग गर्न नै पायो । पहिलो पद्य सन्तानलाई मैले सुरिक्षत गर्न पनि सकिनँ ।
०००
२०१३ सालमा मभित्र कवि हृदय जन्मिएको थियो । म अन्तर्मुखी प्रकृतिकी थिएँ । कविता लेख्ने उत्प्रेरणा आफूभित्रै जन्मिएको थियो । साहित्य लेखनको सुरुआत कविताबाट नै गरेँ । प्रकृतिको सुन्दरताले कविताका बाढी मनभित्र उर्लन्थे । मनका शब्द बाढी कापीमा उतार्ने पनि गर्थें । तर, आफ्ना शब्द कसैलाई देखाइनँ । एघार वर्षसम्म मैले आफैँसँग संवाद गर्दै लेखेका कविताका पाठक कोही भएनन् । न त मलाई कसैलाई आफूभित्रको कवि हृदय देखाउने चाह नै भयो । हुन त पहिलो कविता रचना गरेताका नै बालमन्दिरबाट निस्कने ‘बालक’ पत्रिकामा मेरो नामबाट एउटा कथा छापिएको थियो । कथा बुबाले लेखेर मेरो नामबाट पठाइदिनुभएको थियो । त्यो कथामा आफ्नो नाम देखेर मलाई उत्साहित बनाएन, बरु मनभित्र बुबाले लेखिदिएको संकोच जन्मियो ।
०००
मेरा कवितामा धेरै भावना हुन्थे । मनका उकुसमुकुस अनि छटपटी व्यक्त भएका हुन्थे । मेरा कविता बिहेपछि मात्रै श्रीमान् नरहरिजीले पढ्नुभएको हो । त्यसपछि भने मैले लेखनमा उत्साह पाएँ । उहाँले अझ सिकाउनुभयो । उहाँकै उत्प्रेरणाका कारण बिहे गरेको चार वर्षपछि मैले कविता छपाउन सकेँ । २०३९ साउन ६ गते बिपी कोइरालाको देहवसानपछि छापिएको थियो । त्यसपछि अहिलेसम्म तीनवटा कवितासंग्रह प्रकाशित भए । बीस/पच्चीसवटा फुटकर कविता छापिए होलान् ।
मैले लेखेका कवितामध्ये पहिलोपटक लेखेको र पहिलोपटक छापिएको दुवै विशेष लाग्छन् । पहिलो कविताले मभित्र भएको कवि हृदयलाई जगाएको थियो । भने, दोस्रोले पाठकमाझ उपस्थित गरायो । यद्यपि, दुवैका आफ्नै पृष्ठभूमि र सन्दर्भ छन् । सबै कविताका आ–आफ्नै विशेषता छन् । प्रस्तुतिका हिसाबले मात्रै पहिलेका भन्दा अहिलेको कम परिपक्वता झैँ लाग्छ । त्यसैले लेखनलाई भन्दा परिमार्जनलाई बढी समय दिन थालेकी छु ।
०००
म मनमा भावनाको बाढी आउँदा कविता लेख्छु । उमेर बढ्दै जाँदा कविता लेख्ने अवस्था कमी आएको छ । कहिलेकाँही आफू कम संवेदनशील हुँदै गएको पनि भान हुन्छ । यद्यपी, गद्य विधामा लेख्न नसकिने धेरै कुरा कविताले नै बोल्छ । त्यसका निम्ति म पद्यकै सहायता लिन्छु । जसले हरेकपटक मेरो कवि हृदयमा जीवन भर्छ । हरेकपटक कविता लेखेपछि मनमा फरक सन्तुष्टि जन्मन्छ । कविताको विधा अरू भन्दा फरक भएकाले पनि होला । हृदयसँग जोडिएको विधा कविता हो । कविता लेखिसकेपछि आफूलाई शब्दमा व्यक्त गरेको भान हुन्छ । मनका जटिलता पखालिएको महसुस गर्छु । मेरा कविता यात्राले तीव्र अन्यमनस्कताको स्थितिमा जीवनतिर पाइला फर्काएको अनुभूति गर्छु । सायद, गद्यमा त्यो शक्ति हुँदैन । त्यसैले कवितामा आपैँmसँग बढी संवाद गरिरहेको हुन्छु ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया